Comments Add Comment

लकडाउनमा खाली छ प्रहरी हिरासत

२३ वैशाख, काठमाडौं । लकडाउनका कारण काठमाडौं प्रहरीको हिरासत खाली भएको छ । ०१२ मा स्थापना भएको काठमाडौं प्रहरीको हिरासत सम्भवतः पहिलो पटक खाली भएको अधिकृतहरु बताउँछन् ।

महानगरीय प्रहरी परिसर, टेकुको मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्दका अनुसार, सरकारले ११ फागुनमा लकडाउनको घोषणा गर्दा ७७ जना अभियुक्त हिरासतमा थिए ।

‘अहिले कतिपय पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने कति धरौटी वा तारेखमा छुटेका छन्,’ चन्दले अनलाइनखबरसँग भने, ‘लकडाउनमा अपराध पनि नगन्य हुँदा हिरासत खाली भएको छ ।’
चन्दका अनुसार, टेकुको हिरासतमा १ सय ५० जना अभियुक्तलाई राख्न सक्ने क्षमता छ । चिनियाँ नागरिकविरुद्ध पुस पहिलो साता अपरेसन चलाएका बेला १ सय २२ जना अभियुक्तलाई पनि काठमाडौं प्रहरीले व्यवस्थापन गरेको थियो ।

सामान्य अवस्थामा हुने अभियुक्तसहित चिनियाँ अभियुक्तलाई राख्न काठमाडौं प्रहरीले मातहतका इकाइका हिरासतको पनि सहयोग लिएको थियो । डीएसपी चन्दका अनुसार, अपराध नगन्य हुनुले हिरासत खाली भएको हो ।

फेरि महामारीका बेला जघन्यबाहेकका कसुरमा पक्राउलाई निरुत्साहित गर्ने नीति प्रहरीले अख्तियार गरेको छ ।

‘प्रतिवादीलाई कानुनसम्मत व्यवस्थापन गर्ने सन्दर्भमा अनुसन्धान अधिकृतलाई हाजिरी जमानीमा छाड्न सक्ने अधिकार पनि छ,’ चन्दले भने, ‘काठमाडौंका ४० लाख बढी जनसंख्याको मुभमेन्ट पनि बन्द छ, प्रहरी पनि अहोरात्र खटिइरहेको छ, त्यसैले हिरासत खाली भएको हो ।’

लकडाउनका सुरुवाती दिनमा भिडियो कन्फरेन्सबाटै म्याद थपलगायतका अदालती प्रक्रिया पूरा गरिएको उनले अनलाइनखबरलाई बताए ।
तस्वीर/भिडियोः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment