Comments Add Comment

एनआईसी एसिया बैङ्कद्वारा वैशाख मसान्तसम्म चुक्ता हुने ब्याज रकममा १० प्रतिशत छुट

२३ वैशाख, काठमाडौं । एनआइसी एसिया बैङ्कले नेपाल राष्ट्र बैङ्कले व्यवस्था गरेको दुई प्रतिशत ब्याज छुटका अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ।

बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। यस्तो योजनाले वित्तीय भार कम हुन गई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैङ्कको छ।

बैङ्कले नेपाल राष्ट्र बैङ्कको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको ग्राहकवर्गहरूको खातामा जम्मा गरिसकेको समेत जानकारी दिएको छ।

यस्तै बैङ्कले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरूमा लागु हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जना तथा पेनल ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकहरूमा लागु गरेको हो ।

तर, खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्यास उत्पादन तथा बिक्री वितरण, सोप एण्ड केमिकल्स, औषधि बिक्री वितरण, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सुर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत् परियोजनाहरूमा उक्त छुट लागु नहुने बैङ्कले जनाएको छ।

वैशाख महिनाको हकमा नेपाल राष्ट्र बैङ्कबाट जारी ऋणीहरूको चैत्र मसान्तसम्म कायम रहेको ब्याजदरमा दुई प्रतिशत ब्याज छुट प्रदान गरेपश्चात् हुन आउने साधारण ब्याजमा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था बैङ्कले गरेको हो ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैङ्कबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागु हुने बैङ्कले जनाएको छ।

बैङ्कले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकवर्गको बैङ्क खातामा जम्मा गरिने छ ।

तर, बैङ्कले प्रदान गर्ने १० प्रतिशत छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरूको हकमा लागु हुने छैन तथा बैङ्कले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरूको ब्याजदर बैङ्कको चैत्र मसान्तको आधार दरभन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment