
२२ वैशाख, काठमाडौं । संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।
त्यसअघि सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।
कास्की लामाचौर घर भएका गौतम हाल संघीय संसदमा सचिवालय सचिव थिए ।
मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
नेकपाको अन्तरसंघर्ष यता पनि
गत चैत २ गतेबाट मनोहर भट्टराईले अवकाश पाएपछि संसदको महासचिव पद खाली थियो । चैत २ गते नै कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले पाएका थिए ।
योगीको महासचिव हुने उमेर भने पुगिसकेको थिएन । संघीय संसदको महासचिव हुन ४५ वर्ष पैरा भएको हुनुपर्छ । उमेर नै नपुगेको व्यक्तिलाई सभामुख सापकोटाले कार्यवाहक तोकेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले असन्तुष्टि जनाएका थिए ।
योगी ४५ वर्ष पुग्न करिब १० महिना मात्र बाँकी छ । १० महिनासम्म कार्यवाहक बनाउने र त्यसपछि महासचिव बनाउने सभामुख सापकोटाको चाहना थियो ।
तर, यसमा भित्री कुरो अर्कै थियो, सभामुख सापकोटा पूर्वमाओवादी हुन् भने अध्यक्ष तिमल्सिना पूर्वएमाले । नेकपाभित्रको पूर्वएमाले र पूर्वमाओवादीको अन्तरसंघर्ष सभामुख चयनमा देखिएको हो । जसका कारण एक महिना खेर गयो ।
महासचिव चयनमा पनि सभामुखले योगीलाई चाहेका थिए भने, तिमल्सिनाले गौतमलाई । पूर्वमाओवादीले योगीलाई नै निरन्तरता दिन चाहेको थियो । तर, पूर्वएमालेले निरन्तर दबाव दिएपछि सापकोटा पछि हटेको बताइन्छ ।
कतिपयले सहमतिमा नगए केही गर्न नसक्ने बुझेपछि सभामुख सापकोटा पछि हटेको बताएका छन् । पूर्वएमालेका नेताहरुको पनि त्यस्तै तर्क छ ।
संसद सचिवालयभन्दा बाहिरबाट महासचिव नआएपछि कर्मचारीहरु भने खुसी भएका छन् । बाहिरबाट महासचिव ल्याउने चर्चाका बीच गौतम महासचिव भएपछि संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले आफूहरुमा उत्साह थपिएको बताएका छन् ।
प्रतिक्रिया 4