Comments Add Comment

सिंगापुरमा किट छ, सरकार रित्तै !

देशभरि किटको अभाव, कोरोना परीक्षण रोकिने खतरा

नेपालगञ्जको भेरी अस्पताल ल्याबमा कोरोना परीक्षण गर्दै ।

२३ वैशाख, काठमाडौं । आरएनए एक्ट्रयाक्सन किट नहुँदा भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकियो । कोशी अस्पतालमा अटोमेटिक मेसिन बन्द भयो । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जडान भएको पीसीआर मेसिन सञ्चालन हुन सकेन

कोरोनाको बढ्दो जोखिमका कारण मध्यपश्चिममा निषेधाज्ञा लगाउनुपर्ने अवस्था आइसक्यो । पश्चिमका सीमा सिल गर्नुपर्ने स्थिति आइसक्यो । सरकारले २५ वैशाखपछि पनि देशैभरि लकडाउन थप गर्ने सम्भावना छ । परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।

जतिखेर परीक्षणको दायरा बढाउनुपर्ने बेला भएको छ, त्यहीबेला किटको अभावले मेसिनहरू बन्द हुन थालेका खबर आइरहेका छन् । अब सरकारले तत्कालै किटको जोहो गर्न नसक्ने हो भने देशभरका ल्याबमा पीसीआर विधिबाट कोरोना परीक्षण रोकिन सक्छ ।

तर, सरकार भने निरीह बनेको छ । न आफैँ किन्न सक्छ, न अरूले दिएको किट ल्याउन सक्छ । स्वास्थ्य मन्त्रालय किंकर्तव्यविमूढ छ । क्याबिनेटले सेनालाई जिम्मेवारी दिए पनि परिणाम निस्कन सकेको छैन । देशैभरि किटको हाहाकार हुन थालिसकेको छ ।

सिंगापुरमा छ नेपालको नाममा ३० हजार किट

स्वीस सरकारले कोरोनाविरुद्धको महामारीमा नेपाल सरकारलाई सहयोग गर्न चाह्यो । नेपालले तत्काल आरएनए एक्ट्रयाक्सन किट अभाव रहेको बतायो । त्यसपछि स्वीस सरकारले रोस कम्पनीमार्फत ३०/३० हजार पीसीआर किट र आरएनए एक्ट्रयाक्सन किट उपलब्ध गराएको छ ।

हेर्नुहोस् अप्रिल १७ मा जारी गरिएको स्वीस दूतावासको विज्ञप्ति

स्वीस सरकारले गत अप्रिल १७, अर्थात् वैशाख ५ गते नै ३० हजार किट पाँच हजार थान पीपीई र दुई सय थान इन्फ्रारेड थर्मोमिटरलगायतको स्वास्थ्य सामग्री दिने घोषणा गरिसकेको थियो । अहिले १७ दिन बितिसक्दा पनि सरकारले सामग्री ल्याउन सकेको छैन ।

स्वीस सरकारले दिएको समान सिंगापुर पनि आइपुगेको छ । तर, नेपाल सरकारले नेपाल ल्याउन सकेको छैन ।

बुधबार अस्ट्रेलिया जान लागेको नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत ल्याउने प्रयास पनि असफल भएको छ । यो अस्ट्रेलियन दूतावासको पहलमा नेपालमा रहेका अस्ट्रेलियन नागरिकहरू लिएर यो विमान सिड्नी जान लागेको हो । यो विमान मलेसियामा तेल भरेर सिड्नी पुग्नेछ र सिधै नेपाल फर्किनेछ ।

त्यसको साटो नेपालबाट सिड्नी जाने र फर्किने बेलामा सिंगापुरमा तेल भर्ने र स्वीस सरकारमार्फत सहयोगमा आएको किट ल्याउन सोमबार दिनभर दौडधुप भएको थियो । टेमासेक फाउन्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री सिंगापुरबाट ल्याउन भूमिका खेलेका रञ्जित आचार्य पनि दौडधुपमा थिए ।

स्वास्थ्य मन्त्रालयले पर्यटन मन्त्रालय र नेपाल एयरलाइन्सलाई पत्र समेत पठाएको थियो । तर, चार्टर फ्लाइटका लागि भारतसहितका देशबाट अनुमति लिइसकेकाले अन्तिम समयमा विमानको रुट परिवर्तन गर्न सम्भव भएन ।

चार्टर्ड फ्लाइट एक दिन ढिला गर्न अस्ट्रेलियन दूतावासलाई आग्रह गरे पनि सहमत भएन। अब नेपालबाटै विमान पठाएर सिंगापुरमा रहेको किट ल्याउनुबाहेक अर्को विकल्प छैन । स्रोतका अनुसार एक दातृ निकायले नेपाललाई सहयोग गर्न लागेको केही टन स्वास्थ्य सामग्री दिन श्री एयरको विमान सिंगापुर जाने योजनामा छ ।

त्यसैले यही विमानलाई पठाएर भए पनि किट ल्याउने प्रयास भइरहेको छ, तर टुंगिएको छैन ।

नेपाली एयरलाइन्स सञ्चालकहरू सिंगापुर गएर सामान ल्याउनुपर्‍यो भने ५५/६० हजार डलर अर्थात् करिब ७० लाख रुपैयाँसम्म खर्च हुने बताउँछन्। सरकारले किटको अभाव भइसक्दा पनि आफैँ यो रकम तिरेर किट ल्याउने आँट गरेको छैन ।

यसबारे सोध्दा आचार्यले भने किट ल्याउन पहल भइरहेका बताए पनि यसबारे थप कुरा खुलाउन चाहेनन् ।

यस्तै, स्वीस सरकारले समेत आफ्नै पहलमा सिंगापुरबाट नेपालमा सामान ल्याएर हस्तान्तरण गर्ने प्रयास गरिरहेको स्रोतले बतायो ।

सम्झौताअनुसार सामान आएन

यता स्वास्थ्य सेवा विभागसँग स्वास्थ्य सामग्री ल्याउन सम्झौता गरेका तीनमध्ये दुई कम्पनीको अन्तिम म्याद शुक्रबार नै सकिएको छ । तर, आरएनए एक्ट्रयाक्सन किट लगायतका सामान अझै आएको छैन । विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले भन्छन्, ‘ढुवानीको समस्या देखाउँदै म्याद थप्न पत्र पठाएका छन्, निर्णय भएको छैन ।’

ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता भंग गरेको विभागले वैशाख ५ गते तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको थियो । कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सामग्री दुई साता भित्र ल्याउने गरी ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सम्झौता भएको थियो ।

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौताअनुसारको सबै सामग्री ल्याउने उल्लेख थियो ।

सम्झौता गरेकामध्ये लुम्बिनी हेल्थ केयरले आइतबार अबेर सामान बुझायो भने अरू दुई कम्पनीले केही सामान बुझाएर दुई साता समय मागेका हुन् । चीनको भन्सार नियममा संशोधन भएपछि चार्टर्ड फ्लाइट रद्द भएकाले ढुवानीमा समस्या भएको भन्दै दुवै कम्पनीले समयमै सामान ल्याउन नसकेको पत्रमा उल्लेख गरेका छन् ।

मजदुर दिवसको बिदाका कारण पनि ढुवानीमा समस्या भएको उनीहरूको तर्क छ ।

उनीहरूले पहिलो लटमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउने बताएका थिए भने आरडीटी तथा पीसीआर टेस्ट किटलगायतका प्रयोगशालासम्बन्धी सामान खरिदका दोस्रो साता ल्याउने सम्झौता गरेका थिए ।

यस्तै, स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले पनि तत्काल स्वास्थ्य सामग्री ल्याउने अवस्था नरहेको उच्चस्तरीय समन्वय समितिका एक सदस्यले बताए ।

सरकारसँग कति छ किट ?

मन्त्रालयका एक विज्ञका अनुसार केही समयअघि सिंगापुरबाट २० हजार र चीनबाट र १० हजार पीसीआर किट सहयोगमा आएको थियो । तर, किट दिनेहरूले आरएनए एक्सट्याक्सन किट पठाएनन । त्यही कारण अहिले अभाव भएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका एक कर्मचारी भन्छन्, ‘ल्याबहरूमा एक दुई दिनलाई पुग्ने किट छ, बेलैमा नल्याए अपुग हुने देखिएको छ ।’

स्वास्थ्य सेवा विभागका अनुसार अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही सय आरएनए एक्सट्याक्सन किट छ भने केही किट अहिले कोरोना भाइरसको संक्रमण देखिएको नेपालगञ्ज पठाइएको छ । अब अरू ल्याबमा पठाउन थप किट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment