Comments Add Comment

वन्यजन्तुलाई खान दिएर संकटमा नपारौँ : प्राणीशास्त्री मुकेश चालिसे

२३ वैशाख, काठमाडौं । लकडाउनका कारण भोकै रहेका कुकुर, बाँदर, परेवा लगायतका पशुपन्छीलाई आहारा बाँड्न थाले । आममानिस घरभित्रै रहँदा पशुपन्छी भोकै रहने भएपछि स्वयंसेवकहरू सडक, चोक र मठमन्दिरमा गएर आहारा छरिरहेका छन् ।

प्राणीशास्त्रीहरू भने पशुपन्छी भोकाएको देखेर खाना खुवाउनुलाई सही मान्दैनन् । उनीहरू अहिले स्वयंसेवीहरूले खुवाइरहेका खानाको गुणस्तरमा समेत प्रश्न उठाउँछन् । उनीहरूका अनुसार यस्तो समयमा जनावरलाई आफनो प्राकृतिक गुणअनुसार नै आहारा खोजेर खाने वातावरण बनाउनुपर्छ । त्यसका लागि लकडाउनको समय उत्तम हुने उनीहरू बताउँछन् ।

यसै सन्दर्भमा अनलाइनखबरका लागि शर्मिला पण्डितले प्राणीशास्त्री डा. मुकेश चालिसेसँग गरिएको कुराकानीको सम्पादित अंशः

लकडाउनमा भोकै परेको परेवा, बाँदर, कुकुरलगायतलाई खाना खुवाउने गरिएको छ । यो ठीक, बेठीक के हो ?

लकडाउनको बेला भोकै भएका पशुपन्छीलाई खाना बाँडेको कुरा मैले पनि सुनिरहेको छु । यस्तो पहिलो प्राथमिकता त मान्छे हुनुपर्ने हो । अनुमानित ५० लाख जनसंख्या भएको काठमाडौं जस्तो ठाउँमा धेरै मान्छे श्रमिक छन्, जसको गुजारा दैनिक काममा निर्भर छ ।

यो ४१–४२ दिन लकडाउन हुँदा उनीहरूका सबै बचत सकिएर छाक टार्न ज्यादै अप्ठ्यारो परेको छ । कति वडाले निःशुल्क खाना बाँडेर मानवीय हिसाबले निकै राम्रो काम गरिरहेका छन् ।

जहाँसम्म पशुपन्छीको कुरा छ, तिनलाई पनि माया गरेर छरिएका आहारा कति स्वस्थकर छ ? भनेर कुनै जाँचपड्ताल भएजस्तो लाग्दैन । फलानो भेटेरिनरी, फलाना डाक्टरको सिफारिसमा यति किलो गहुँ, चामल, केरा खुवाइयो भन्ने समाचार आउने गरेको छैन ।

जनावरहरूप्रति माया राख्नु आफैँमा ठिक कुरा हो । तर, तिनीहरूलाई यसरी मानिसमा निर्भर गराउनु बेठिक हो । कोरोना महामारीका बेला हामीले के पनि बिर्सनुहुँदैन भने बर्ड फ्लु, स्वाइन फ्लुजस्ता महामारी जनावर र चरासँग सम्बन्धित छ । अर्को कुरा, पशुपन्छी भनेका प्रकृतिमा रमाउने प्राणी हुन् । तिनलाई प्राकृतिक आहारामा बानी पार्नु, प्राकृतिक बासस्थानमै फर्काउन जोड गर्नु’पो राम्रो त ।

यसरी खाना खुवाउनु के–के कारणले नराम्रो ?

अहिले काठमाडौं उपत्यकाका ठाउँ–ठाउँमा मौसमअनुसार बकुल्ला, मलेवाहरू मजाले यताउता उडिरहेका देखिन्छन् । बकुल्लाहरू मनोहरामा माछा खोजेर खान्छन् । अब माछा किनेर एकठाउँमा खुवाउन थाल्ने हो भने तिनीहरू खोला धाउन छाड्छन् ।

स्याल, फ्याउरो, न्याउरी आदिलाई खाना दिन थाल्ने हो भने तिनीहरुको प्राकृतिक बानी बिग्रन्छ । त्यो भनेको उनीहरूको प्राकृतिक गुण बिस्तारै हराउँदै जानु, रोगसँग लड्ने क्षमता गुम्दै जानु हो । प्राकृतिक खाना खोजेर खाए भने तिनीहरूलाई रोग नै कम लाग्छ ।

अर्कोकुरा, अहिलेको कोरोना भाइरस चमेरोबाट सरेको भनिएको छ । बर्डफ्लु चराबाट र एचआइभी/एड्स बाँदरबाट सरेको भनिएको छ । पशुबाट मानिसमा रोग सर्छ भने मान्छेबाट पनि पशुपन्छीमा सर्छ । पशुपति र स्वयम्भुका बाँदरहरू मान्छेको रोग खोकी, झाडापखालाबाट ग्रसित छन् । रोग बोकेको मान्छेले दिएको खानेकुरा त्यसको कारण हो ।

पशुपन्छीलाई खाना बाँड्दा माया गरेको भनेर प्रचार त हुन्छ । तर, अर्कोतिर त्यसको घातक असर परिरहेको हुन्छ ।

लकडाउनमा खानै नपाएर सिंहदरबारमा कुकुरहरू मर्न थाले । यो अवस्था कायम राख्नु उचित नहोला नि ?

कसले गरेर तिनीहरू त्यहाँ भए ? पहिले यो बुझौँ । चामल फालिरहने, माछा फाल्न थाल्ने हो भने बकुलाहरू पनि सिंहदरबार आउन थाल्छन । अर्को उदाहरण हेर्नुस्— पथलैयाबाट पूर्व बर्दिवासबाट पश्चिमको जंगलका जनावरलाई पल्काउन केही मानिसले फलफूल, सागपात फाले । हिजोआज त्यहाँको राजमार्गमा विभिन्न जनावरहरू लाइन लागेर माग्ने बसेजस्तो बसिरहेका हुन्छन् । मानिसले जनावरको बानी बिगार्ने हो कि सपार्ने हो, विचार गरौँ ।

हामीले सौराहामा गैँडालाई पनि मगन्ते बनाइसक्यौँ । कोशीटपुमा अर्ना पनि मान्छेसँग झ्यामिन्ने भइसके । तर, उनीहरूको आफैँ खोजेर खाने प्राकृतिक गुण बिगारेर मान्छेमा आश्रित गराउने कुरा कसैगरी पनि बुद्धिमतापूर्ण होइन ।

वन्यजन्तुको बानी बिग्रिनुमा मान्छे मात्र दोषी हुन् त ?

पशुपति वा स्वयम्भुको बाँदरहरूमा त्यहीँका रुख–पात र फलफूलहरु खाने बानी कायम भएको भए कति राम्रो हुन्थ्यो । त्यहाँ जाने मान्छेलाई दुःख दिँदैन थिए । तर, अहिले सानो पोको बोकेर जाँदा तिनै बाँदरहरू लुछ्न आउँछन् ।

तिनीहरूको बानी हामी मानिसले नै बिगारेका हौँ । हामीले तिनलाई अल्छी र लोभी बनायौँ । मान्छेले पोकोमा खानेकुरा लुकाएर बोक्छ भन्ने कुरा उसलाई थाहा भयो । तिनीहरूलाई मान्छेले बोक्ने रोगहरूको बारे चाहिँ थाहै छैन । तिनीहरूबाट पनि रोग सर्छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छैन ।

पशुपन्छीलाई प्रकृतिमै फर्काउन के गर्नुपर्ला ?

तिनीहरूको प्राकृतिक बासस्थान सुरक्षित राखेर आश्रित हुनबाटै जोगाउनुपर्छ । आश्रित भइसकेकालाई भरसक प्राकृतिक रुपमा सुरक्षित राख्नुपर्छ । जस्तो— स्वयम्भु, पशुपतिमा बाँदरले खाने जातका फलफूलका बोटहरू हुर्काउनुपर्‍यो ।

आहारा दिनै परे सुरक्षित मान्छेबाट, सुरक्षित ठाउँमा राखेर खान दिऔं । जहाँसुकै, जेसुकै फालेर दिनुहुँदैन ।

प्राकृतिक रुपमा उनीहरूको संख्या बढ्यो भने आफ्नै किसिमले नियन्त्रणमा आउँछ । प्राकृतिक गुणबाट विमुख गराउने, रोग ओसार–पसार गर्ने÷गराउने काम गर्नुहँुदैन । वन्यजन्तुलाई पराश्रित पारे, कुनै रोगको महामारी भएर तिनीहरूको विनाश पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment