
News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तर प्रदेशको हमीरपुर जिल्लामा एक जोडी कुकुरबीच भव्य विवाह हुने तयारी भइरहेको छ।
- बिहेको आयोजना बाल योगी जूना अखाडाका साधु श्री श्री १००८ सन्तोषानन्द महाराजले गरेका हुन्।
- यस अनौठो विवाहको समाचारले मानिसहरूमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ।
हामीले मान्छेका बिहे त अनेक खालका देखेकै छौं । कहिलेकाहीँ विभिन्न धार्मिक विश्वासमा जनावरहरुका बिहे पनि गरिदिने चलन छ । पानी पार्नका लागि भ्यागुताको बिहे गरिदिने चलन हाम्रै देशमा छ ।
यद्यपि यस्ता रुढीवादी संस्कारहरु प्रायः स साना र अनौपचारिक तवरमा हुन्छन् । तर, छिमेकी मुलुक भारतमा चाहिं एक जोडी कुकुरबीच यस्तो भव्य बिहेको तयारी भइरहेको छ, जुन कुनै धनाढ्य परिवारको बिहेभन्दा कम हुनेछैन ।
उत्तर प्रदेशको हमीरपुर जिल्लामा एक जोडी भाले र पोथी कुकुरबीच धुमधामपूर्वक हिन्दू परम्पराअनुसार विवाह हुँदैन ।
हमीरपुरको मुस्कुरा क्षेत्रमा पर्ने छानी बाँध गाउँमा आगामी जुन ११ का दिन सेवानन्द नामक भाले कुकुर र विचित्र कुमारी नामक पोथी कुकुरका बीचमा हुने बहुप्रतिक्षित बिहेको अहिले जोडतोडसँग तयारी चलिरहेको छ ।
बिहेको लागि मण्डप तयार पारिएको छ भने बिहेअघिका संस्कार पनि सम्पन्न गरिँदैछ । बिहेको दिन बाजागाजा सहित भव्य रुपमा जन्ति निस्कने र १२ तारेखमा बेहुली विचित्र कुमारीलाई अन्माउने कार्यक्रम छ ।
उक्त अनौठो विवाहको आयोजना चाहिँ बाल योगी जूना अखाडाका साधु श्री श्री १००८ सन्तोषानन्द महाराजले गरेका हुन्।
सेवानन्द नामक कुकुर उनले नै पालेको कुकुर हो भने बेहुली कुकुर विचित्र कुमारी चाहिँ मुसाही मौजा गाउँका सन्त लक्ष्मण नन्दले पालेका छन्।
सेवानन्द र विचित्र कुमारीको बिहेमा सयौं मानिसलाई निम्तो दिइएको छ । बेहुली लिनका लागि मुसाही मौजामा गाउँमा जन्ति जानेछ र त्यहाँ नै विवाह समारोह हुनेछ ।
यस्तो खालको कुकर विवाहको समाचारप्रति मानिसहरुले विभिन्न खालका प्रतिक्रिया जनाएका छन् । कतिपयले यसलाई हास्यास्पद भनेका छन् भने कतिले उक्त कार्य पशु प्रेम, पर्यावरण र जीवनप्रतिको संवेदनशीलता अभिव्यक्त गर्ने उदाहरणका रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया 4