Comments Add Comment

कोरोनाको हटस्पट भुल्के : त्रास कम तर जोखिम उस्तै

२३ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के सामान्य अवस्थामा फर्किन थालेको छ ।

कोरोनाका कारण त्रसित बनेका स्थानीयवासी बिस्तारै पुरानै दैनिकीमा फर्किने प्रयासमा छन् । ‘हिजो संक्रमित देखिँदा ठूलो त्रास थियो’ त्रियुगा नगरपालिका– ३ वडा अध्यक्ष अवधेशप्रसाद चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले त्रास कम भएको छ, खाद्यान्नका लागि पसल खोल्न दिएका छौँ ।’

भुल्केको नुरी मस्जिदमा बसेका १२ जना जमातीमा ५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप १६ जनामा कोभिड–१९ को पुष्टि भएपछि कोरोना त्रास जिल्ला हुँदै प्रदेशभर फैलिएको थियो ।

तर, पछिल्लो दुईसातामा थप संक्रमित भेटिएका छैनन् । जसका कारण स्थानीयमा त्रास कम हुँदै गएको छ ।

संक्रमण देखिएको बस्तीमा चार पटक राहत वितरण गरिएको छ । वडा कार्यालयले दुई पटक र नगर र प्रदेश सरकारले एकएक पटक राहत वितरण गरेकाले खाद्यान्नको अभाव छैन । साथै कोरोनाका कारण सिल गरिएको टोलमा निश्चित समय एउटा खाद्यान्न पसल सञ्चालन गर्न दिइएको छ ।

अझै जोखिम कायम छ भुल्केमा

जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा त्रास कम भएपनि जोखिम उस्तै छ ।

उनका अनुसार अहिलेसम्म जिल्लाभर ६६९ जनाको कोरोना परीक्षण गरिएको छ । जोखिम भए नभएको थाहा पाउन परीक्षणको दायरा बढाउन लागिएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘भुल्केको मुस्लिम बस्तीमा पुनः परीक्षण गर्दैछौँ ।’

यसअघि नमुना संकलन गरेको दुई दिनपछि मात्र परीक्षण गर्दा ‘भाइरस लोड’ कम देखिएको हुनसक्ने भएकाले अब दिनमा कति परीक्षण गर्न सकिन्छ सोधेर मात्र नमुना संकलन गर्ने तयारी छ । उनले भने, ‘हिजो संकलन गरेको नमुना २ दिनपछि पनि परीक्षण भएकाले हामीलाई शंका छ ।’

वडा नम्बर ३ का वडाध्यक्ष चौधरीले पनि जोखिम कायमै रहेकाले पुनः कोरोना परीक्षण गर्न चाहेको बताए । ‘अब एकपटक सबैको परीक्षण गरेपछि ढुक्क हुन्छ’ उनी भन्छन्, ‘वडाभरमा दुई हजार जनाको परीक्षण गर्न पाए हुन्थ्यो ।’

भुल्के र आसपासको क्षेत्रमा पाँचसय तथा संक्रमितको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्पर्कमा आएका एक हजार पाँच सय गरी दुई हजारको परीक्षण गर्ने योजना बनाएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक अवधेशनारायण चौधरी बताउँछन् ।

तर, शंकास्पद व्यक्तिहरूको नमुना संकलनका लागि ‘भीटीएम’ पर्याप्त मात्रामा आएको छैन । परीक्षणका लागि किट माग गर्दा थोरै मात्र आउने गरेको उनले सुनाए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहता सामग्री पर्याप्त नभएका कारण अतिआवश्यक भीटीएम मात्र उपलब्ध गराइएको बताउँछन् । ‘हामी पनि केन्द्रबाट आएका सामग्री वितरण गरिरहेका छौं’ उनले भने ।

यो पनि पढ्नुहोस भुल्केमा भेटियो प्रदेश सरकार, कोरोना संक्रमणको स्रोत यूपीबाट आएका युवक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment