Comments Add Comment
ओली –प्रचण्ड समझदारी :

सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र विष्णु पौडेललाई

पौडेल भन्छन्–पार्टी एकता बलियो हुन लाग्दा भ्रामक प्रचारबाजी हुँदैछ

२२ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।

सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् । अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।

बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो ।

मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।

सो निर्णयमा पार्टीका बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गर्ने तर आमरुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने भनिएको थियो । सो निर्णयपछि एउटा स्थायी कमिटी बैठक प्रचण्डले सञ्चालन गरे पनि केन्द्रीय कमिटी र सचिवालय बैठकहरु संयुक्त अध्यक्षतामै सञ्चालन भएका छन् ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । स्थायी कमिटीअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने नेकपा स्रोतले जनाएको छ ।

पछिल्ला सचिवालय बैठकहरुमा त प्रचण्डको कुर्सीसमेत अन्य सदस्यहरुसँग राखिएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । पार्टी बैठक बोलाउने र सन्चालन गर्ने काममा आफूलाई ओलीले असहयोग गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । वैशाख २० गतेको बैठकमा पुनः प्रचण्डको कुर्सी ओलीसँगै राखिएको थियो ।

नेकपा स्रोतका अनुसार अब पार्टी सन्चालनको मुख्य जिम्मेवारी व्यहावरिक रुपमै प्रचण्डले पाउनेछन् । त्यस्तै ओली मूल रुपमा सरकार सन्चालनमा केन्द्रित हुने गरी प्रस्ताव तयार हुन लागेको छ । यसका साथै पार्टीलाई सहमतिमा सञ्चालन गर्ने सन्दर्भमा अन्य केही प्रस्ताव पनि छलफलमा रहेको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो–दुई अध्यक्षबीच शनिबारको बैठकअघि के गोप्य सहमति भयो भन्ने धेरैलाई चासो छ । तर, उहाँहरुबीच अरु केही होइन, मंसिर ४ गतेको सहमति दुवैले अक्षरशः पालना गर्ने भन्नेमै समझदारी भएको छ । त्यसो हुँदा प्रचण्ड पार्टी सञ्चालनमा र ओली सरकार सञ्चालनमा एक अर्कासँग सहमतिका साथ केन्द्रित हुनुहुन्छ ।

अन्य नेताहरुको व्यवस्थापन र कतिपय कार्यविभाजनमा नमिलेका भए सहमतिका साथ प्रस्ताव लगेर मिलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । दुवै अध्यक्षले सोही निर्णयको अक्षर र भावनाका साथ अघि बढ्ने समझदारीपछि पार्टीमा उत्पन्न संकट समाधानको दिशामा गएको नेताहरुले बताएका छन् ।

ओली र प्रचण्डबीचको भित्री सहमतिबारे अझै नेकपामा आशंका छ । आइतवार आफू निकट नेताहरुसँगको छलफलमा माधव नेपालले प्रचण्ड र आफू एकै ठाउँमा रहेको बताएका थिए । नेपाल पक्षले एक व्यक्ति एक पदको मर्म अनुसार चल्नुपर्ने अडान राखिरहेको छ ।

यसबीचमा ओलीले सरकार सञ्चालनमा पार्टीको निर्देशन अनुसार अघि बढ्ने,मन्त्रिपरिषद उपयुक्त समयमा पुनर्गठन गर्ने र कतिपय नेताहरुको कार्यविभाजनमा समेत सहमतिका साथ हेरफेर गर्ने सहमतिमा भएको चर्चा चलिरहेका छ ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बुधवार बिहानसम्म सहमतिको प्रस्ताव तयार पारेपछि पुनः दुई अध्यक्षबीच छलफल भएर सचिवालयमा जानेछ ।

पौडेल भन्छन्–भ्रम फैलाउन खोजिँदैछ

यसैबीच उपाध्यक्ष बामदेव गौतम र आफूले माधव नेपाललाई प्रधानमन्त्री बन्ने प्रस्ताव लगेको हल्ला नियोजित रुपमा चलाइएको भन्दै महाचिव बिष्णु पौडेलले आपत्ति जनाएका छन् । नेकपाभित्र देखापरेका समस्या समाधान भएर पार्टी एकताबद्ध रुपमा अघि बढेको देख्न नचाहनेहरुले बिभिन्न माध्यमबाट नियोजित हल्ला चलाएको उनले बताए ।

महासचिव पौडेलले भने, पहिलो कुरा त माधव कमरेडसँग त्यस्तो कुनै प्रस्ताव लगेको होइन र उहाँले त्यस्तो त्यस्तो कुरा गर्नुभयो भन्ने म सोच्न पनि सक्दिनँ । केही व्यक्तिले हामीलाई मात्र होइन, उहाँलाई समेत विवादमा पार्न उडन्ते प्रस्तावका कुरा प्रचारमा ल्याएका हुन सक्छन्, त्यसमा सत्यता नरहेको र भ्रममा नपर्न म सबैमा आग्रह गर्छु ।

महासचिव पौडेलका पहलमा नेताहरुबीच आपसी समझदारी कायम गर्दै सरकार र पार्टीलाई बलियो रुपमा अघि बढाउने प्रयत्न सफल भइरहेका बेला भ्रमको खेति चलाउन खोजिएको राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतकसमेत रहेका नेकपा नेता खिमलाल भट्टराईले बताए ।

उनले उपाध्यक्ष गौतम र महासचिव पौडेललाई विवादमा तान्ने र पार्टीमा एकता नचाहनेहरु पहिचान लुकाएर मिडियाबाजीमा उत्रिएको आरोप लगाए । पार्टीमा बलियो एकता र नेताहरुबीच समझदारी हुन लाग्दा यस्ता भ्रामक प्रचारबाजी हुने गरेको उनको दावी छ ।

पार्टी एकता प्रक्रियामा महासचिव पौडेलको भूमिका नरुचाएकाहरुले अन्तरविरोध सिर्जना गर्न खोजिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment