Comments Add Comment

काठमाडौंमै अल्मलियो सरकार ! लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

नाकामा आवत-जावत खुकुलो, सहरभित्र कसिलो

२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो ।

विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि नै बन्द छ। जेठ ३ गतेसम्म उडान खुल्ने सम्भावना पनि छैन ।

त्यसो हो भने काठमाडौं उपत्यकामा लकडाउन किन खुकुलो नबनाउने ? सर्वसाधारण मात्र होइन, जनस्वास्थ्य विज्ञहरू पनि यही प्रश्न गर्न थालेका छन् ।

उनीहरूमध्ये एक हुन् डा. समीरमणि दीक्षित । उनी भन्छन्, ‘अरू केही नगर्ने हो भने अर्को ६ हप्ता लकडाउन गरे पनि अवस्था त्यही रहन्छ । अनि कहिलेसम्म लकडाउन गर्ने ?’

४२ दिन लामो लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको छ । दीर्घरोगीहरूको नियमित उपचार रोकिएको छ । खोपलगायतका स्वास्थ्य कार्यक्रमहरू प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेहरू समस्यामा परेका छन् ।

‘यो सबैले मानिसहरूको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ र कोभिड-१९ लेभन्दा अरू रोगका कारण धेरै मानिसहरू मर्ने अवस्था आउन सक्छ’ उनी भन्छन् ।

त्यसैले, अब काठमाडौं उपत्यकाको लकडाउन मोडल परिर्वतन गर्नुपर्ने उनको राय छ । अहिले नै सार्वजनिक यातायात, स्कुल, सिनेमा हलजस्ता भिडभाड हुने क्षेत्र खुला गर्न सकिँदैन’ डा. दीक्षित भन्छन्, ‘तर, कृषि उत्पादन, ढुवानी, साना पसल, निर्माण क्षेत्रहरूलाई क्रमशः खुला गर्न सकिन्छ ।’

सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका छन् ।

नेता र मन्त्रीहरूले मानिसलाई काठमाडौं बाहिर पठाउने र बाहिर रहेकालाई ल्याउने गरेर लकडाउनको सिद्धान्त तोडेको उनीहरूको गुनासो थियो । अहिले पनि लुकिछिपी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको पनि उनीहरूले बताए ।

‘अहिलेसम्म हामी सुरक्षित छौं,’ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, ‘अब यहाँबाट बाहिर जाने र बाहिरबाट यहाँ ल्याउने गल्ती नगरौं । एक चरण लकडाउन खुकुलो बनाऔं ।’

सरकारको तयारी : लकडाउन कायमै

विज्ञहरूले उपत्यकामा लकडाउन खुकुलो पार्न सुझाव दिइरहँदा सरकारले भने न कोरोना भाइरसको परीक्षणको दर बढाएर उपत्यकालाई सुरक्षित क्षेत्र घोषणा गर्न सक्छ, न लकडाउनलाई कडाइपूर्वक लागू नै गर्न सकेको छैन ।

अनलाइनखबरलाई प्राप्त तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ७३५ र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) विधिबाट ३३७९ मात्र परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको तुलनामा यो निकै कम हो ।

साथै, उपत्यका बाहिरबाट मानिसहरू आउने क्रम पनि पूर्णरुपमा रोकिएको छैन । झन् सरकारले २६ वैशाखबाट संसदको अधिवेशन बोलाएको छ भने निजी स्कुलहरूले २६ गतेबाट कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गरेर भर्ना खुला गर्न लागेकाले राजधानी छाडेर गएकाहरू पनि फर्किन थालेका छन् । कोरोनामा काठमाडौं उपत्यका सुरक्षित देखिर आउनेहरू पनि छन् । यसरी दैनिक एक-दुई हजार मानिस लुकिछिपी उपत्यका प्रवेश गर्ने गरेको अनुमान छ ।

यो कायम रहँदासम्म उपत्यकालाई ग्रिन (सेफ) जोन भन्न नसकिने जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षित बताउँछन् । उनले भने, ‘पहिले यहाँबाट गएका मानिसहरू फेरि फर्किन थालेका छन् । यो कायम रहँदासम्म ग्रिन जोन भन्न सकिन्न ।’

सरकारले कोरोनाको टेस्ट बढाएर नाकामा कडाइ गर्नुको साटो उपत्यकामा लकडाउनलाई लम्ब्याउने सम्भावना छ । उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले पनि २५ वैशाखपछि उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना नरहेको बताए ।

सोमबार बसेको समन्वय समितिको बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरी त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने प्रस्ताव पेश भएको छ । ‘तत्काल काठमाडौं उपत्यका ग्रिन जोनमै परेपनि लकडाउन खुकुलो बन्दैन’ एक मन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment