Comments Add Comment

‘पुनः पोजेटिभ देखिएका दुवैमा लक्षण छैन’

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा २ वैशाखदेखि कोभिड–१९ संक्रमितको उपचार भइरहेको छ । आइसोलेसनमा हाल पर्सा, बारा, रौतहट र सर्लाहीका २८ जना संक्रमित उपचाररत छन् । उनीहरूमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेर पनि पुनः पोजेटिभ देखिएका छन् ।

वैशाख २० र २१ गते भर्ना भएका उनीहरूमा अहिले कोभिड–१९ को कुनै लक्षण भने देखिएको छैन । यसबारे वीरगञ्जबाट अनलाइनखबरकर्मी सुरेश विडारीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश :

लगातार तीन वटा रिपोर्ट (वैशाख ८, १० र १२ गते) नेगेटिभ रिपोर्ट आएपछि हामीले १४ गते डिस्चार्ज गरेर पठायौँ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार दुईवटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालमा राखिरहनु पर्दैन । तर, नेपालमा भने तीनवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिएको छ ।

डिस्चार्जपछि फलोअप गर्ने उद्देश्यले टेलिफोन सम्पर्कमा थियौं । डिस्चार्ज गरेको तीन दिनपछि आफ्नै जिज्ञासालाई शान्त पार्न रगतको जाँच र थ्रोट स्वाबको नमुना संकलन गरेका थियौँ । संकलित नमुना परीक्षणका लागि टेकु पठाएका थियौँ । उनीहरूमध्ये दुईजनाको रिपोर्ट पोजेटिभ आएपछि अहिले आइसोलेसनमा भर्ना गरेका हौँ ।

नेपालमा मात्रै यस्तो समस्या देखिएको होइन । यस्ता केसहरू विश्वको धेरै ठाउँमा देखिएको छ । चीनको वुहानमा पनि यस्तो केस देखियो । दक्षिण कोरियालगायत थुप्रै देशमा पुनः लक्षण रि–एक्टिभेसन भएको रिपोटिङ भएको छ ।

कोरोना भाइरसको महामारी नौलो रोग हो । थुप्रै कुराहरू बाहिर आइसकेका छैनन् । अनुसन्धानहरू भइरहेका छन् । त्यसैले निको भइसकेकाहरूमा कसरी पुनः पोजेटिभ देखियो यकिन भइसकेको छैन । डिस्चार्ज भएर घर गएपछि संक्रमितको सम्पर्कमा आएकाले पनि पोजेटिभ भएको हुन सक्छ । पहिले नै शरीरमा रहेको आरएनएबाट पनि पोजेटिभ देखिएको हुन सक्छ । यसमा अनुसन्धान आवश्यक छ ।

डिस्चार्ज गर्नेे क्रममै हामीले उहाँहरूलाई एकदुई हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्छ भनेका थियौं । उहाँहरू क्वारेन्टाइनमै हुनुहुन्थ्यो । धेरै जनासँग सम्पर्कमा नआएको पाइएको छ । तर, परिवारका सदस्यहरूलाई संक्रमण भयो कि भन्ने त्रास हुन्छ । यसैले क्लोज कन्ट्याक्टमा आएकाहरूको परीक्षण गर्नुपर्ने हुन्छ ।

रौतहटका युवकको परिवारका सबै सदस्यको थ्रोट स्वाब संकलन गरेर परीक्षण गरेका थियौँ । अरूमा संक्रमण देखिएको छैन । डिस्चार्ज भएका तीन जना भारतीय जमाती र उनीहरूसँग क्वारेन्टाइनमा बस्नु भएका सबैको थ्रोट स्वाबको नमुना संकलन गरेका थियौँ । एक जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

हामीकहाँ भएका बिरामीमा खासै लक्षण नदेखिएकाले धेरै ठूलो जोखिम छ भन्न सकिँदैन । लक्षण भएको भए उहाँहरूले धेरै जनालाई सार्न सक्ने सम्भावना हुन्थ्यो । पुनः पोजेटिभ देखिएकाहरू मात्र होइन, अस्पतालमा जति पनि कोभिड–१९ का बिरामी हुनुहुन्छ, उहाँहरूमा कुनैपनि लक्षण देखिएको छैन ।

त्यसैले आइसोलेट गर्दा पनि औषधि चलाएनौँ । आइसोलेट गरेर समय समयमा जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका हौँ । घर पठाउँदा आरडीटी पनि गरेका थियौं । उहाँहरूमा एन्डिबडीको विकास राम्रो भएको देखिएको थियो । यो भनेको भाइरससँग लड्न शरीरले प्रतिरोध क्षमता विकास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment