Comments Add Comment

प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि खटपट !

२३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।

अध्यक्ष ओली शनिबार दुई नेताबीच भएको सहमतिबाट पछि हटेको प्रचण्ड पक्षको आरोप छ । सचिवालय बैठक अघि भएको भेटमा ४ मंसिर २०७६ मा भएको निर्णय कार्यान्वयन गर्ने सहमति भएको नेकपाका नेताहरूले बताएका छन् ।

तर, अहिले प्रधानमन्त्री ओली एक व्यक्ति एक पदको अवधारणामा जान तयार नभएको प्रचण्ड पक्षको आरोप छ । त्यही कारण स्थायी कमिटीमा पेश गर्ने प्रस्ताव पनि तयार भएको छैन । ‘अध्यक्ष ओलीले व्यक्तव्य जारी गरौं भन्नुभएको छ । तर, अर्का अध्यक्षले बैठकको बोलाएर कसरी वक्तव्य जारी गर्ने ? सहमति जुटे सहमतिको प्रस्ताव, नभए एजेण्डा मात्र पेश गरौं भन्नु भएको छ’ स्रोतले भन्यो ।

दुई नेताबीच असमझदारीको संकेत देखिएको सचिवालयका एक सदस्यले पनि पुष्टि गरे । यसबारे भोलि बोलाइएको सचिवालय बैठकमा थप प्रष्ट हुने नेताहरूको दाबी छ ।

२० नेताको छुट्टै तयारी

नेकपाले पर्सि स्थायी कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षले साझा प्रस्ताव तयार पार्न नसकिरहेका बेला स्थायी कमिटी माग गर्दै हस्ताक्षर गरेका २० नेताहरूको भने अर्कै तयारी छ । उनीहरूले कोरोनासम्बन्धी सरकारको काम र विवादास्पद अध्यादेश बैठकको एजेण्डा बन्छ कि बन्दैन भन्ने चासो राखेका छन् ।

एक नेता भन्छन्, ‘यदि यो एजेण्डामा आएन भने हामी आफ्नोतर्फबाट राख्न लगाउँछौं ।’

सरकारले अध्यादेश फिर्ता लिएपनि यसबारे छलफल गर्नुपर्ने उनीहरूको तर्क छ । ‘अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्रीले हाम्रा नेताहरूले कुरा बुझेनन् भन्नु भएको छ । त्यसो हो भने औचित्य पुष्टि गर्नुपर्छ’ हस्ताक्षरकर्तामध्येका एक नेताले भने, ‘होइन भने गलत प्रस्ताव ल्याएकोमा नेतृत्वले गल्ती स्वीकार गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment