Comments Add Comment

लकडाउन जेठ ५ सम्म लम्ब्याइयो, विकास निर्माण र उद्योग सशर्त खुला

२४ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ । तर यो अवधिमा विकास निर्माण र उद्योगहरु खुला गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव राखेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै यो मोडलमा जान नसकिने बताए । भारतमा संक्रमणको बढ्दो अवस्थामा रहेकाले त्यसको असर नेपालमा पनि पर्ने र परीक्षणको संख्या पनि कम भएको प्रधानमन्त्री ओलीको तर्क थियो ।

विकास निर्माण र उद्योग सशर्त खुला

बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सशर्त खुला गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । साथै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्नेछ । श्रमिकलाई कार्यस्थलमा खाना र खाजाको व्यवस्था गर्नुपर्नेछ । स्थान अभाव भएमा सम्बन्धित वडामा भएका निजी वा सामुदायिक विद्यालय वा सरकारी खाली भवन प्रयोग गर्न स्थानीय व्यक्तिसँग सम्पर्क नहुने गरी आवासको व्यवस्था गर्न सकिनेछ ।

र, यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित निर्माण व्यवसायीले नै व्यहोर्नुपर्ने सरकारको निर्णय छ ।

यस्तै ढुंगा गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिइने भएको छ । सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्कर लगायतको उत्पादन र ढुवानी गर्न दिइनेछ भने नदी नियन्त्रणका कामहरु पनि गर्न पाइनेछ ।

यस्तै जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसल पनि खोल्न पाइनेछ ।

यस्तै ढुवानीमा पनि केही खुकुलो गरिएको छ । अब कृषि उत्पादनसँग सम्बन्धी सामग्री, विद्यालयका पाठ्यपुस्तक, विकास आयोजनाका निर्माण सामग्री सञ्चालन गर्न दिइनेछ । तर उपत्यका प्रवेश गर्ने मालबाहक सवारीले यात्रु बोक्न पाउने छैनन् । हरेक मालबाहक गाडीमा भएका चालक र सहचालकको विवरण उपत्यका प्रवेश गर्दा र फर्किँदा चेकजाँच गरिनेछ । झुटा विवरण दिएको भए कारबाही गरिने सरकारका प्रवक्ता खतिवडाले बताए ।

ढुवानीका सवारी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र विक्री गर्ने गरी राजमार्गमा ५० किलोमिटरको दुरीमा होटल खोल्न दिने निर्णय भएको छ ।

बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ भने अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनुपर्नेछ ।

तर अहिले पनि शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment