Comments Add Comment

स्थायी कमिटीको समीकरण : कसको पक्षमा कति ?

२३ वैशाख, काठमाडौंं । केन्द्रीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्नेछ । स्थायी कमिटीमा करिब दुई तिहाइ सदस्यहरू ओलीको विपक्षमा हुनेछन् ।

यदि ओली र प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार अघि बढ्ने मोडालिटीमा सहमति भएको हो भने पूर्वमाओवादी पक्ष उनीविरुद्ध आक्रामक हुने छैन । त्यो अवस्थामा माधव नेपाल पक्ष मात्र उनको विपक्षमा उभिँदा विरोधीको संख्या कम हुने आशा ओली पक्षको छ ।

यद्यपि प्रचण्डले माधव नेपाल र झलनाथ खनाललाई आफ्नो साथमै राख्न खोजिरहेका छन् । पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरूमध्ये हाल ओली सरकारमा मन्त्री रहेकाहरूले प्रधानमन्त्रीको राजीनामा माग्ने वा चर्को विरोध गर्ने सम्भावना भने छैन । माधव नेपाल निकट नेताहरू भने प्रधानमन्त्रीको राजीनामा माग्ने तयारीमै देखिन्छन् ।

स्थायी कमिटीमा राजीनामा मागेर अप्ठ्यारो पार्नुअघि नै शीर्ष तहमा समझदारी कायम गर्न प्रधानमन्त्रीले परामर्श थालेका छन् । मंगलबार मात्रै उनले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग बेग्लाबेग्लै छलफल गरेका छन् । तर, माधव नेपाल ‘एक व्यक्ति एक पदको एजेण्डा’सहित स्थायी कमिटी बैठकमा प्रस्तुत हुने संकेत देखिएको छ ।

यद्यपि मन्त्री रहेका माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र योगेश भट्टराई भने प्रधानमन्त्रीको राजीनामा माग्ने लहरमा प्रत्यक्षरुपमा उभिने छैनन् । तर, ‘एक व्यक्ति एक पद’को प्रस्तावमा उनीहरूको विमति छैन । ओली र नेपालबीच कुनै सहमति भएमा त्यो आफूहरूलाई मान्य हुने यी दुई नेताको भनाइ छ ।

पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरू प्रधानमन्त्रीको राजीनामा माग्ने सन्दर्भमा विभाजित छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, गणेश साह, शक्ति बस्नेत लगायतका नेताहरु ओलीको विकल्प प्रचण्डमात्र हुन सक्ने भन्दै ओली हटाएर पूर्वएमालेकै अर्को नेतालाई प्रधानमन्त्री बनाउने कुराको विपक्षमा रहेको केपी ओली पक्षको दाबी छ ।

पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरूमध्ये रामबहादुर थापा बादल, वर्षमान पुन, शक्ति बस्नेत, लेखराज भट्ट र गिरिराजमणि पोखरेल मन्त्री छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग्नुअघि मन्त्री पद छाड्नुपर्ने नैतिक बन्धन छ ।

यो पनि पढ्नुहोस संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

४५ सदस्यीय स्थायी कमिटीमा पूर्वएमालेका २६ जना र पूर्वमाओवादीका १९ जना सदस्य रहेकोमा अग्नि सापकोटा सभामुख भएपछि राजीनामा दिएकाले अहिले नेकपाको स्थायी कमिटीमा ४४ सदस्य छन् । यसअघि बादल पक्षमा रहने गरेका देव गुरुङ र पम्फा भुसाल अहिले प्रचण्ड निकट देखिन्छन् ।

४४ सदस्यीय कमिटीमा सबैभन्दा धेरै सदस्य प्रचण्डको पक्षमा छन् । बादललाई ओली पक्षमा राख्दा पनि प्रचण्डको पक्षमा १७ सदस्य छन् । प्रधानमन्त्रीको पक्षमा उभिए पनि लेखराज भट्टले प्रचण्डलाई छाडिहाल्ने अवस्था देखिन्न । उनी मन्त्री भएका कारण प्रधानमन्त्रीको राजीनामाको मात्र विपक्षमा हुन् ।

प्रचण्ड पक्षका ५ जना र माधव नेपाल पक्षका २ जना स्थायी कमिटी सदस्य प्रधानमन्त्रीको राजीनामाको विपक्षमा नबोल्दा ओलीलाई राहत हुनेछ । तैपनि उनको पक्षमा बहुमत जुट्दैन । ४४ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड र माधव नेपाल पक्षमा ३० सदस्य छन् । २० जनाले त यसअघि नै हस्ताक्षर नै संकलन गरिसकेका छन् । त्यसमा ३ जना मात्रै थपिँदा स्थायी कमिटीमा ओलीको विपक्षमा बहुमत पुग्छ ।

तर, बैठकअघि नै प्रचण्ड र माधव नेपालसँग समझदारी बनाउँदा आफूलाई स्थायी कमिटी बैठक सामना गर्न सहज हुने भएकाले ओलीले नेताहरूसँग परामर्श थालेका हुन् ।

महासचिव विष्णु पौडेल भने केन्द्रीय सचिवालयको २० गतेको बैठकको भावनाअनुसार नै स्थायी कमिटीमा सहमतिको प्रस्ताव जाने भएकाले नेकपामा कुनै समस्या नहुने दाबी गर्छन् । बैठकको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्ड र महासचिव पौडेलले पाएका छन् ।

२४ गते बस्ने सचिवालय बैठकले सहमतिका साथ प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रस्ताव तयार पार्ने पौडेलले बताए ।

स्थायी कमिटीको कुन पक्षमा कोको ?

ओली समूह (१४ जना)

केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा र विष्णु रिमाल ।

प्रचण्ड समूह (१७ जना)

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, हरिबोल गजुरेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, पम्फा भुसाल, मातृका यादव, गणेश शाह, देव गुरुङ, लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल ।

माधव नेपाल समूह (१३ जना)

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment