
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायल र हमासबीच युद्ध रोक्ने सहमतिपछि विस्थापित प्यालेस्टिनी परिवारहरू गाजासिटी फर्किन थालेका छन्।
- युद्धविरामपछि इजरायली सेनाले केही क्षेत्रबाट फौज फिर्ता गर्न थालेको छ र ७२ घण्टे बन्धक मुक्तिको अवधि सुरु भएको छ।
- गाजामा दुई वर्षे युद्धमा ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको र २० लाखभन्दा बढी विस्थापित भएका छन्।
२४ असोज, काठमाडौं । इजरायल र हमास युद्ध रोक्न सहमत भएसँगै विस्थापित भएका प्यालेस्टिनी परिवारहरू गाजासिटी फर्किन थालेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्वीर तथा भिडियो फुटेजमा हजारौं मानिस गाजातर्फ फर्किरहेको देखिन्छ ।
इजरायली आक्रमणका कारण भग्नावशेषमा परिणत भएको गाजासिटीबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका बीबीसीले जनाएको छ ।
विस्थापितहरू आफ्ना सरसामान काँधमा बोकेर २० किलोमिटरभन्दा बढी पैदल यात्रा गरेर उत्तरी गाजातर्फ फर्किरहेका छन् ।
क्षमता हुनेले चर्को मूल्य चुकाउँदै गाढा, गाडी वा ट्रक भाडामा आफ्ना सामान लिएर फर्किरहेका छन् ।
इजरायली आक्रमण क्षतिग्रस्त र साँघुरा तटीय सडकमा कतिपयले विजयभावमा प्यालेस्टिनी झण्डा फहराइरहेका देखिन्थे ।
समग्रमा यसरी फर्किरहेका मानिसका अनुहारमा थकित र पीडाभाव झल्किल्छ । महिनौंदेखिको विस्थापन, भोकमरी र त्रासले थिलिएका मानिसहरू कमजोर र कुपोषित देखिन्छन् ।
‘यो बाटो लामो र कठिन छ, पानी र खानका लागि केही छैन,’ गाजासिटीबाट भागेर खान युनिस पुगेका शिक्षक आला सालेहले बीबीसीसँग भने ।
‘मैले परिवारलाई पछाडि छोडें र उत्तरतर्फ हिँड्न थाले, वरिपरि हजारौं मानिस संघर्ष गर्दैछन्, कार भाडामा लिन झण्डै ४ हजार शेकेल (करिब १२२७ अमेरिकी डलर) पर्छ, जुन अधिकांशका लागि असम्भव मूल्य हो,’ उनले भने ।
गाजाको उत्तर भागस्थित जबालियामा आफ्नो घर फर्किंदै गरेका वाएल अल–नज्जारले युद्ध सुरु भएपछि तीनपटक विस्थापित हुनुपरेको बताए ।
युद्धविरामको समाचार सार्वजनिक हुनेबित्तिकै आफू घर फर्कने तयारीमा जुटेको उनले बताए ।
‘हामी अहिले पनि सीमास्थलमा पर्खिरहेका छौँ,’ उनले बीबीसीसँग भने, ‘म र मेरो छोराले हिजो रातभर यही सडकमा, चिसोमा, सुत्यौं—घर फर्कन पर्खँदै ।’
अल–नज्जारका अनुसार घर जलेर वा भत्किएर खरानीजस्तै भए पनि उनी आफ्नो थलो फर्कन चाहन्छन् । ‘घर भत्किए पनि फर्किन्छौं, टेन्ट हाल्छौं र आफ्ना मानिसहरूसँग फर्किन्छौं,’ उनले भने।
फर्किरहेकाहरूको भनाइ अनुसार उनीहरू सुरक्षाभन्दा पनि निराशा र बाध्यताले घर फर्किरहेका हुन् । विस्थापित धेरैलाई थाहा छ– फर्किरहेको थलोमा आफ्नो घर सग्लो छैन ।
इन्टरनेटमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा गाजासिटीका मुख्य बस्तीहरू उत्तरको शेख रदवान, दक्षिण र पूर्वको साब्रा र जैतुन पूर्णरूपमा ध्वस्त भएको देखिन्छ । इजरायली आक्रमणका कारण त्यस क्षेत्रका ठूला आवासीयक भवन भग्नावशेष बनेको छ ।
गाजाका नागरिक सुरक्षा टोलीले भग्नावशेषमुनिबाट शव निकाल्ने काम जारी राखेको छ । राहत वितरण गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा खाद्यान्न, इन्धन, स्वच्छ खानेपानी जस्ता अत्यावश्यक सामग्रीको कमी भएको भन्दै चेतावनी दिएका छन् ।
युद्धविराम लागू भएसँगै इजरायली सेनाले केही क्षेत्रबाट फौज फिर्ता गर्न थालेको तस्वीरहरूका आएका छन् । यद्यपि गाजासिटीका धेरै भागमा अझै पनि प्रवेशमा रोक लगाइएको छ । स्थानीयहरूमा यो अस्थायी शान्ति फेरि हिंसामा बद्लिने भय कायम देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले एक्स (पहिलेको ट्विटर) मा लेख्दै भनेका छन्, ‘इजरायली सेनाले गाजामा पहिलो चरणको फिर्ती सम्पन्न गरेको छ र ७२ घण्टे बन्धक मुक्तिको अवधि सुरु भएको छ ।’
अल जजिरा अरबीकका अनुसार, दक्षिण गाजाबाट विस्थापित परिवारहरू उत्तरतर्फ सरेका बेला शुक्रबार इजरायलले गाजासिटीको पूर्वी क्षेत्रमा हेलिकप्टरबाट हमला गरेको र दक्षिणी खान युनिसमा हवाई आक्रमण गरेको छ ।
शुक्रबार बिहानदेखि गाजासिटीका विभिन्न ठाउँबाट सात जनाको शव भेटिएको त्यहाँको अल–अहली अस्पतालका स्रोतहरूलाई उद्धृत गर्दै अल–जजिराले लेखेको छ ।
प्रारम्भिक विवरण अनुसार खान युनिसमा भएका आक्रमणमा हताहती भएको पुष्टि भएको छैन । तर सो क्षेत्रमा मिसाइल प्रहार र ट्यांकबाट गोलीबारी पनि भएको अल–जजिरा अरबीकको दाबी छ ।
बिहीबार राति इजरायली सरकारले हमाससँग युद्धविरामको पहिलो चरणको सम्झौता गरेपछिका पनि आक्रमण भएका अल जजिराले लेखेको छ ।
गाजाको नागरिक सुरक्षा निकायले गाजासिटीका सीमाक्षेत्रबाट टाढा रहन चेतावनी दिँदै इजरायली सेनाको आधिकारिक फिर्ती घोषणा नहुँदासम्म त्यहाँ नजान आग्रह गरेको छ ।
गाजाको प्रहरी प्रशासनले नागरिकलाई सहयोग, सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने बताउँदै घर फर्किने क्रममा ‘अत्यन्त सावधान’ रहन, ‘सन्दिग्ध वस्तु, विषालु फोहोर र नफुटेका बमहरू’ प्रति सतर्क रहन आग्रह गरेको छ ।
प्यालेस्टिनी एनजिओ नेटवर्कका प्रमुख अमजद शावाले अल–जजिरालाई भने, ‘प्यालेस्टिनीहरू आफ्नो भूमि फर्कने अधिकार प्रयोग गर्दैछन्, जसले इजरायलको विस्थापनको प्रयास असफल भएको देखाउँछ ।’
उनले संयुक्त राष्ट्रसंघका निकाय र अन्तर्राष्ट्रिय एनजिओहरूसँग फर्किएका जनतालाई तत्काल सेवा उपलब्ध गराउन’ छलफल गरेको बताएका छन् ।
सम्झौताअनुसार अबदेखि दैनिक झन्डै ६ सय राहत ट्रक गाजामा प्रवेश गर्न पाउनेछन्, जसले दक्षिणदेखि उत्तरसम्मका सालाह अल–दिन र राशिद सडकमार्गहरूमा स्वतन्त्र आवागमन सम्भव बनाउनेछ ।
इजरायली सरकारले स्वीकृत गरेको ‘पहिलो चरण’ अनुसार बन्धक साटासाट र गाजाका केही भागबाट इजरायली फौजको फिर्ती हुनेछ । तर दीर्घकालीन शान्तिको रूपरेखा कस्तो हुनेछ भन्ने स्पष्ट छैन ।
हमासका वार्ता प्रमुख खालिल अल–हैयाले भनेका छन्, ‘हामीले अमेरिका र मध्यस्थकर्ताहरूबाट प्राप्त गरेको ग्यारेन्टी अनुसार, युद्धविरामको पहिलो चरणको सम्झौता नै गाजाको युद्ध पूर्णरूपमा अन्त्य भएको संकेत हो ।’
शुक्रबार बिहान इजरायली सरकारले शान्ति योजना अनुमोदन गरेसँगै २४ घण्टाभित्र गाजामा लडाइँ रोकिने बाटो खुलेको छ । हमासलाई ७२ घण्टाभित्र इजरायली बन्धकहरू मुक्त गर्न समय दिइएको छ ।
यसैबीच, कुद्स न्यूज नेटवर्कका अनुसार गाजाबाट विस्थापित भएका इजिप्टमा रहेका प्यालेस्टिनीहरूलाई अक्टोबर ७, २०२३ पछि पहिलो पटक राफाह नाकाबाट घर फिर्तिको अनुमति दिइएको छ । सम्झौतासँगै गाजाका बासिन्दालाई इजिप्ट जाने बाटो पनि खुलेको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । हमासको आक्रमणमा त्यतिबेला कम्तीमा १२०० इजरायली नागरिकको मृत्यु भएको थियो । त्यतिबेलै हमासले सयौंलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसपछि इजरायली प्रधामन्त्री बेन्जामिन नेतन्याहूले गाजासँग युद्ध घोषणा गरेका थिए ।
यसबीच दुई वर्षसम्म चलेको युद्धमा ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने डेढ लाख भन्दा बढी मानिस घाइते भएका छन् । मृतकमध्ये ठूलो संख्यामा बालबालिका र वृद्ध रहेका छन् । युद्धको चपेटमा परेर २० लाखभन्दा बढी मानिस गाजाबाट विस्थापित भएका थिए ।
तस्वीरहरू : रासससहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू एपी, एएफपी, इपीए, बीबीसी, रोयटर्स र स्टक इमेज प्लाटफर्म गेट्टी इमेज ।
प्रतिक्रिया 4