Comments Add Comment

निजी अस्पतालले भने–लकडाउनले नोक्सान भो, सहुलियत चाहियो

'व्यापार खस्किएकाले सेवा प्रवाह गर्न धौ–धौ भो'

२४ वैशाख, काठमाडौं । लकडाउनका कारण व्यवसाय जर्जर बनेको भन्दै निजी अस्पतालहरूले कर छुटलगायतका विभिन्न सहुलियत माग गरेका छन् । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले विभिन्न शीर्षकमा सरकारसँग सहुलियत मागेको हो ।

अफिनका अध्यक्ष वसन्तकुमार चौधरीद्वारा बुधबार जारी विज्ञप्तिमा स्वास्थ्य सामग्री खरिदमा छुट दिन माग गरिएको छ । पीपीईलगायतका स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर तथा मूल्य अभिवृद्धि कर छुट गरिदिन उसले सरकारसँग आग्रह गरेको हो ।

नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना देखिएको उल्लेख गर्दै अफिनले स्वास्थ्य उपकरण खरिदमा छुट दिन पनि आग्रह गरेको छ । आगामी बजेटमा २ वर्षसम्म त्यस्तो सहुलियत उपलब्ध गराउनुपर्ने उसको माग छ ।

अस्पतालहरूलाई विशेष उद्योगका रूपमा वर्गीकरण गरी आय करको २० प्रतिशत कामय गर्न पनि उसले सरकारलाई सुझाएको छ ।

निजी अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई राहत उपलब्ध गराइदिन पनि अफिनले सरकारसमक्ष माग गरेको छ । कर्मचारीको तलब र सामाजिक सुरक्षा रकममा लाग्दै आएको कर सहुलियत दिन उसले आग्रह गरेको हो ।

अस्पताल नवीकरण ५/५ वर्ष गर्ने प्रावधान राख्न पनि अफिनले आग्रह गरेको छ । नवीकरणको विद्यमान व्यवस्था झन्झटिलो भएको भन्दै उसले सुधार्न माग गरेको हो ।

विद्युत् प्राधिकरणले निजी अस्पतालले उपभोग गर्ने विद्युतमा सहुलियत दिनुपर्ने अर्को माग पनि अफिनले राखेको । डिमान्ड चार्ज हटाइ घरेलु प्रयोगकर्ताले तिर्ने दर लागू गर्न उसले माग गरेको हो ।

उसले लकडाउनको मौका छोपेर सम्पत्ति र होर्डिङ बोर्ड कर छुट हुनुपर्ने माग पनि अघि सारेको छ । व्याजमा सहुलियत दिने अर्को माग पनि उसले समेटेको छ ।

विभिन्न क्षेत्रका व्यवसायीलाई राहत दिनेबारे चर्चा भइरहेका बेला निजी मेडिकलबारे चर्चासमेत नभएको भन्दै अफिनले गम्भीर बनिदिन सरकारलाई आग्रह गरेको छ ।

‘निजी क्षेत्रका व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका संस्थाहरुले पनि आ(आफ्नो ढंगबाट सरकारसँग राहतका आर्थिक प्याकेज माग गरिरहेका छन्,’ अफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यता , नेपालको कुल जनसंख्याको ७० प्रतिशत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका निजी अस्पतालहरुको विषयमा भने कुनै किसिमको चर्चासमेत नभएको अवस्था छ ।’

लकडाउनका कारण निजी अस्पतालको व्यापार १० प्रतिशतमा झरे पनि नियमित सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेको अफिनले जनाएको छ ।

अफिन देशभर सञ्चालित निजी अस्पतालहरूको छाता संगठन हो । यसमा विभिन्न निजी अस्पताल संगठित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment