१३ असोज, काठमाडौं । अनुसन्धान संस्कृतिको विकास तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)मा अनुसन्धानसम्बन्धी दुई वटा कार्यशाला सम्पन्न भएका छन्।
सक्षम रिसर्च इन्स्टिच्युटको सहकार्यमा आयोजित दुवै कार्यशाला अमेरिकास्थित बोस्टन युनिभर्सिटीको मेट्रोपोलिटन कलेजका वित्त कार्यक्रम निर्देशक प्राध्यापक डा. इरेना भोदेन्स्काको नेतृत्वमा सञ्चालन भएको हो।
पहिलो कार्यशाला ‘कारणात्मक निष्कर्ष विश्लेषण’ विषयमा १४ देखि १८ सेप्टेम्बर २०२६ सम्म मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीको कमलादीस्थित परिसरमा सञ्चालन भएको थियो। बिहान ७ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन भएको कार्यशाला गम्भीर अनुसन्धानमा संलग्न हुन चाहने तथा आधारभूत परिमाणात्मक अनुसन्धानसम्बन्धी ज्ञान भएका अनुसन्धानकर्तालाई लक्षित गरिएको थियो।
कार्यशालामा अनुसन्धानबाट कारण र परिणामबीचको सम्बन्धबारे विश्वसनीय निष्कर्ष निकाल्न आवश्यक अनुसन्धान विधिबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ। सहभागीलाई पक्षपात, मिलान विधि, अन्तर–अन्तर विश्लेषण, साधन चर, प्रतिगमन विचलन तथा अनियमितीकृत र प्राकृतिक प्रयोगलगायतका विषयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराइएको थियो।
उक्त कार्यशाला फुलब्राइटको सहयोग तथा सक्षम रिसर्च इन्स्टिच्युट र मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीको सहकार्यमा आयोजना गरिएको थियो।
त्यसैगरी, ‘पूँजी बजारमा अनुसन्धान’ शीर्षकको दोस्रो पाँचदिने कार्यशाला २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीको परिसरमा सञ्चालन भएको थियो।
सक्षम रिसर्च इन्स्टिच्युटले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको सहकार्यमा तथा युनाइटेड स्टेट्स एजुकेसन फाउन्डेसनको सहयोगमा आयोजना गरेको उक्त कार्यशाला पूँजी बजारसम्बन्धी अनुसन्धानका व्यावहारिक पक्षमा केन्द्रित थियो।
कार्यशालामा आधुनिक लगानी पोर्टफोलियो सिद्धान्त, जोखिममा मूल्य तथा तनाव परीक्षण, चरम जोखिम, वित्तीय सञ्जाल तथा प्रणालीगत जोखिम र समाचार विश्लेषण तथा घटनामा आधारित लगानीलगायतका समसामयिक विषयमा व्यावहारिक तथा अनुसन्धानमुखी छलफल र अभ्यास गराइएको थियो।
दुवै कार्यशालामा अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी, प्राज्ञ तथा बैंकिङ र वित्तीय क्षेत्रका अधिकारीको सहभागिता रहेको थियो। आयोजकका अनुसार करिब ८० जना सहभागी रहेको कार्यक्रममा अनुसन्धानप्रति रुची राख्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यक्तिबीच ज्ञान, सीप र अनुसन्धान अभ्यास आदानप्रदान गर्ने अवसर प्रदान भएको थियो।
मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका सहसंस्थापक आर. के. दाहालले नेपालमा अनुसन्धानमा आधारित शैक्षिक वातावरण तथा सुदृढ अनुसन्धान प्रणाली निर्माण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धान संस्था तथा शैक्षिक साझेदारसँगको सहकार्यबाट नेपालमा उच्चस्तरीय अनुसन्धान क्षमता विकास गर्ने अवसर प्राप्त भएको भन्दै प्रशिक्षक प्राध्यापक डा। इरेना भोदेन्स्का, युनाइटेड स्टेट्स एजुकेसन फाउन्डेसन, फुलब्राइट, सक्षम रिसर्च इन्स्टिच्युट तथा सहभागीप्रति आभार व्यक्त गरे।
संस्थाले यस्ता अनुसन्धानमुखी कार्यक्रमले नेपालको उच्च शिक्षा क्षेत्रमा प्रमाणमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै विश्वस्तरीय अनुसन्धान विधि तथा अभ्यासलाई नेपाली अनुसन्धानकर्तामाझ पुर्याउन थप आधार तयार गर्ने जनाएको छ।
दुई हप्तासम्म सञ्चालन भएको उक्त कार्यक्रम २५ सेप्टेम्बर २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा प्यानल छलफल तथा प्रमाणपत्र वितरण कार्यक्रमसहित सम्पन्न भएको थियो।
प्रतिक्रिया 4