१८ असार, काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले हालै प्लस २ उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै ‘एमआईटी इग्नाइट २०२६’ नामक तीनदिने व्यक्तित्व विकास तथा नेतृत्व अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
शुक्रबार, शनिबार र आइतबार (जुलाइ ३, ४ र ५) सञ्चालन हुने यस कार्यक्रमको उद्देश्य विद्यार्थीलाई कलेज जीवन सुरु हुनुअघि आत्मविश्वासी, प्रभावकारी सञ्चारकर्ता तथा नेतृत्व क्षमतायुक्त व्यक्तित्वका रूपमा तयार गर्नु रहेको कलेजले जनाएको छ।
एमआईटी इग्नाइट २०२६ केवल एउटा कार्यशाला मात्र नभई सहभागीलाई आत्मविश्वास बढाउने, सार्वजनिक रूपमा प्रभावकारी ढंगले बोल्ने कला सिक्ने, नयाँ साथी बनाउने, सहरलाई नयाँ दृष्टिकोणबाट अनुभव गर्ने तथा आफ्नो व्यक्तित्वलाई अझ नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विशेष कार्यक्रम रहेको कलेजकी डिजिटल मिडिया, मार्केटिङ तथा सञ्चार प्रबन्धक प्रतिक्षा कोइरालाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ।
यस वर्षको कार्यक्रममा मिस नेपाल २०१० तथा शिक्षाविद् सदिक्षा श्रेष्ठ मोक्तान विशेष प्रशिक्षकका रूपमा सहभागी हुनेछिन् । उनले सार्वजनिक वक्तृत्वकला, प्रभावकारी सञ्चार, आत्मविश्वास निर्माण तथा व्यक्तिगत विकासका विषयमा आफ्ना अनुभव र ज्ञान सहभागीसँग साझा गर्नेछिन्।
कार्यक्रमलाई तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो दिन ‘कन्फिडेन्स डे ः वन बर्गर एन्ड वन स्पिच एट अ टाइम’ अवधारणाअन्तर्गत रमाइला तथा अन्तरक्रियात्मक गतिविधिमार्फत सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास विकास गराइनेछ।
दोस्रो दिन ‘नेटवर्किङ डे– एक्सप्लोर द सिटी, डिस्कभर योरसेल्फ’ शीर्षकअन्तर्गत सहभागीले बसन्तपुर भ्रमण, टोलीगत गतिविधि तथा नयाँ सम्बन्ध निर्माणमार्फत सामाजिक तथा नेतृत्व क्षमता विकास गर्ने अवसर पाउनेछन्।
तेस्रो दिन ‘फिनाले– योर स्टेज, योर स्टोरी’ मा सहभागीले तीन दिनको सिकाइ र अनुभव प्रस्तुत गर्दै आफ्नो व्यक्तित्वमा आएको परिवर्तनको उत्सव मनाउनेछन्।
एमआईटी इग्नाइट २०२६ मा सहभागिता निःशुल्क भए पनि सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीलाई समयमै दर्ता गर्न कलेजले आग्रह गरेको छ । कार्यक्रम मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा सञ्चालन हुनेछ।
प्रतिक्रिया 4