Comments Add Comment

थला पर्‍यो रेस्टुरेन्ट व्यवसाय, ६६ हजार मजदुर कामविहीन

२४ वैशाख, काठमाडौं । लकडाउन भएपछि रेस्टुरेन्टहरू डेढ महिनादेखि बन्द छन् । यसैपनि लकडाउनको एक महिना अघिबाटै नेपालमा यो व्यवसायमा मन्दी छाएको थियो ।

अहिले आम्दानी शून्य हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्च लगायतले पिरोलेको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान)का अनुसार देशभर ३३ सय वटा ठूला लगानीका रेस्टुरेन्ट छन् । ती रेस्टुरेन्टमा काम गर्ने करिब ६६ हजार कर्मचारी अहिले कामविहीन भएका छन् ।

तलब र घरभाडाको समस्या

सामान्य अवस्थामा देशभर रेस्टुरेन्टहरूमा दैनिक ८ करोडभन्दा बढी कारोबार हुन्थ्यो । जुन अहिले शून्यमा झरेको छ । कतिपय रेस्टुरेन्टले पछि बोलाउने भन्दै कर्मचारीलाई बेतलबी बिदा दिएका छन् ।

ठूला रेस्टुरेन्टहरूलाई भने कर्मचारी हटाइहाल्न समस्या परेको छ । ‘सरकारले कर्मचारीको ५० प्रतिशत तलब तुरुन्त दिनू भनेको छ,’ रेबान अध्यक्ष अरनिको राजभण्डारी भन्छन्, ‘आम्दानी शून्य भएका बेला कसरी दिने भन्ने तनाव छ ।’

उनले घरभाडा तिर्न नगद प्रवाहको समस्या पनि हुन थालेको बताए । उनका अनुसार बन्द अवस्थामा पनि गर्नुपर्ने खर्चको जोहो गर्न सकस भएको छ । सहरमा ठूलो खाली क्षेत्र र भवनहरू भाडामा लिएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने गरिएकाले भाडाबापतको रकम धेरै हुन्छ ।

सरकारले समयमै उचित सम्बोधन नगरे धेरै रेष्टुरेन्ट व्यवसायी पलायन हुने अवस्था आएको अध्यक्ष राजभण्डारी बताउँछन् ।

लगानी जोखिममा

पछिल्लो तीन वर्षमा रेस्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको थियो । यो व्यवसायमा १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

पछिल्लो समय रेस्टुरेन्ट जाने, खाने, रमाइलो गर्ने संस्कृति मौलाइरहेको थियो । रेस्टुरेन्ट व्यवसायको लगानीलाई अरूभन्दा सुरक्षित र प्रतिफलमुखी मानिएको थियो । तर, एकाएक आएको कोरोना संकटले यो व्यवसायलाई थला पारिदिएको छ ।

रेबान अध्यक्ष राजभण्डारीका अनुसार, पुराना र स्थापित चेन रेस्टुरेन्टहरू अहिले नै धेरै समस्यामा परिसकेका छैनन् । भर्खरै स्थापित भएर लगानी उठाउन नपाएका व्यवसायीहरू भने ठूलो सकसमा छन् । सरकारले राहतको उचित प्याकेज नल्याए यस्ता व्यावसायीहरू टाट पल्टने अवस्था आएको राजभण्डारी बताउँछन् ।

अहिले प्रायः विदेशबाट फर्केका युवाले रेस्टुरेन्ट व्यवसायमा हात हाल्ने गरेका छन् । विदेशमा कमाएको पुँजी लगाएकाले यो व्यवसायमा बैङ्क ऋणको भार भने ठूलो नभएको अध्यक्ष राजभण्डारी बताउँछन् ।

कोरियाबाट फर्किएर काठमाडौंमा रेस्टुरेन्ट चलाएका योगेश बन्जाडे आम्दानी नभएकोभन्दा पनि बन्द अवस्थामा ब्यहोर्नुपरिरहेको खर्चका कारण सास्ती हुन थालेको बताउँछन् । विदेशमा दुःख गरेर कमाएको रकम लगानी फिर्ता नहुँदै घरभाडा र कर्मचारीको तलबका लागि ऋण लिनुपर्ने अवस्था आएको उनले बताए ।

लकडाउन लम्बिँदै जाँदा समस्या बढ्दै गएर मालिक–मजदुर श्रमसम्बन्ध पनि बिग्रने डर पैदा भएको रेबानको पनि भनाइ छ । यो अवस्थामा सरकारले बजेटमार्फत संरक्षणको कार्यक्रम ल्याउनुपर्ने उसको माग छ ।

‘अब सामाजिक दुरी, स्वास्थ्य सतर्कताको कुरा हुन्छ, त्यसैले पहिले जसरी रेस्टुरेन्ट गएर खाने क्रम बढ्न समय लाग्छ,’ रेबान अध्यक्ष राजभण्डारी भन्छन्, ‘पुरानो अवस्थामा फर्कन समय लाग्ने हुनाले सरकारबाट उचित संरक्षण नीतिको अपेक्षा गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment