Comments Add Comment

कोरोना निको भएर घर फर्किएका बिरामीको रिपोर्ट फेरि पोजेटिभ किन आउँछ ?

२५ वैशाख, काठमाडौं । कोभिड–१९ को संक्रमण निको भएर फर्किएका काठमाडौं, वीरगञ्ज र रौतहटका एकएक जनामा पुनः पोजेटिभ देखिएपछि मानिसहरूमा एक किसिमको डर बढेको छ ।

धेरैको चासो छ, ‘निको भएर घर फर्किसकेका उनीहरूबाट फेरि भाइरस सर्छ कि सर्दैन ? यो प्रश्नको कुनै यकिन जवाफ जनस्वास्थ्य विज्ञहरूसँग छैन । तर, अधिकांशको धारणा छ, ‘पीसीआर विधिबाट टेस्ट गर्दा पोजेटिभ देखिएको भाइरस जीवित हो या मृत थाहा नपाई सर्छ कि सर्दैन भन्न सकिन्न ।’

एक जनस्वास्थ्य विज्ञका अनुसार निष्कृय हुने क्रममा रहेको भाइरस पनि पीसीआर टेस्टमा पोजेटिभ देखाउँछ । तर, यसबाट अरूमा संक्रमण सार्दैन । जीवित भाइरसले भने संक्रमण सार्छ । साथै पीसीआर टेस्टमा पोजेटिभ देखिएको भाइरस निष्कृय हो कि जीवित भन्ने थाहा पाउन भाइरसको कल्चर गर्नुपर्छ ।

त्यसैले पुनः पोजेटिभ देखिएको मानिसलाई फेरि आइसोलेसमा राखिएको उनी बताउँछन् ।

एनका अनुसार यस्ता केसलाई पुनः संक्रमणको साटो पुनः पोजेटिभ भन्नु उपयुक्त हुन्छ । किनकि अरू कसैले भाइरस सारेको नभई आफ्नै शरीरमा भएको भाइरस देखिएको हो ।

अन्यत्र पनि देखिएका छन् पुनः पोजेटिभ

निको भएर घर गएकाहरूमा फेरि पोजेटिभ देखिएको नेपालमा पहिलोपटक हो, विश्वमा होइन ।

कोरोना नियन्त्रणमा सफल मानिएको दक्षिण कोरियाको ठूलो संख्यामा पुनः पोजेटिभ देखिएको थियो । चीनमा पनि १४ प्रतिशत बिरामीमा घर गइसकेको अवस्थामा पुनः पोजेटिभ देखिएको छ । जापानमा एक पटक नेगेटिभ आएपछि घर फर्किएका १० प्रतिशत मानिसमा कोभिड–१९ पुन पोजेटिभ देखिएको छ ।

अब स्वभाविक प्रश्न उठ्न सक्छ, एक पटक नेगेटिभ आएको मानिसमा किन पुनः पोजेटिभ देखिन्छ ?

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षितका अनुसार कुनै पनि कोभिड–१९ संक्रमित व्यक्ति निको हुने क्रममा वा निको भएको केही समयमा निष्कृय भाइरसका कण र मृत कोषहरू खोक्दा फोक्सोबाट घाँटीमा निस्किन्छ । यदि त्यस्तो समय फलोअपमा गइयो र स्याम्पल लिइयो भने पुनः पोजेटिभ देखिन्छ । ‘पीसीआरले निष्कृय भाइरसलाई पनि पोजेटिभ देखाउँछ’ उनी भन्छन्, ‘निष्कृय कण पोजेटिभ देखाएको हो भने सर्दैन । तर, कुनै अवस्थामा भाइरसपछि सक्रिय हुनपनि सक्छ, त्यस्तो बेलामा भने सार्न सक्छ ।’

विभिन्न अध्ययनअनुसार कतिपय अवस्थामा स्वाब संकलन गर्दा परीक्षणका लागि लिएको स्वाबमा भाइरस नपुगेको पनि हुन सक्छ । तर, अर्को पटक स्वाब कलेक्सन गर्दा भाइरसको कुनै टुक्रा या अंश स्वाबमा पुग्छ र पुनः पोजेटिभ देखिन्छ ।

‘यो सामान्य प्रकिया हो,’ एक जेनेटिक वैज्ञानिक भन्छन्, ‘पीसीआरको सेन्सिटिभिटी संसारभर ७० प्रतिशत हो, यस्तो केस अरू ठाउँमा पनि भइरहेको हुन्छ ।’

क्वार्ज अनलाइनका अनुसार जब कोभिड–१९ का संक्रमित निको हुँदै जान्छन्, त्यस्तो बेला भाइरस निष्कृय हुँदै जान्छन् । विभिन्न कोशिकाबाट भाइरस बाहिरिने क्रममा कहिलेकाहीँ नमुना संकलन गर्दा पर्याप्त मात्रामा भाइरस स्वाबमा आउन सक्दैन । त्यस्तो स्वाबबाट गरिएको परीक्षण नेगेटिभ आउँछ । कहिलेकाँही कोशिकाहरूबाट भाइरस बाहिरिने क्रममा भाइरसको टुक्रा पर्याप्त मात्रामा स्वाबमा जम्मा हुन्छ र यस्तो परीक्षण पोजेटिभ आउँछ ।

बिरामीहरूले निको हुन पर्याप्त समय नपाएको अवस्थामा पनि भाइरस पुनः पोजेटिभ देखिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । तर, भाइरस सक्रिय छ कि छैन भन्ने थाहा पाउन पीसीआर टेस्ट गर्दा भाइरस लोड पनि हेर्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्लिनिकल व्यवस्थापनसम्बन्धी गाइडलाइन अनुसार लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ । यस्तै, क्लिनिकल्ली रिकभर भएका बिरामीलाई २४ घण्टापछि डिस्चार्ज गर्न सकिन्छ । हालसम्म कोभिड–१९ का बिरामीहरू दुई सातामा निको हुन्छ भनिएको छ । तर, नेपालमा पुनः पोजेटिभ देखिएका तीनै जनाको लगातार तीन पटक नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज गरिएको थियो । साथै, तीनमध्ये दुईजना दुई हप्ताभन्दा बढी अस्पताल बसेका थिए ।

जीवाणु वैज्ञानिक सुदीप खड्का पुनः पोजेटिभ देखिनुको मुख्य कारण, मानवीय त्रुटि र प्राविधिक त्रुटिलाई मान्छन् । कहिलेकाँही अर्को मानिसबाट सरेर (पुनः संक्रमण) भएर पनि पोजेटिभ देखिएको हुन सक्छ । उनी भन्छन्, ‘कहिलेकाहीँ नाकमा भाइरस क्लियर हुन्छ । तर, श्वास नलीमा भने भाइरस बसेको हुन्छ । त्यसैले स्याम्पल कलेक्सन कुन विधिबाट गरियो भन्नु पनि महत्वपूर्ण हुन्छ ।’

उनका अनुसार स्वास्थ्यकर्मीहरूले बिरामीबाट पर्याप्त स्याम्पल नलिएको अवस्थामा पनि यस्तो रिपोर्ट आउँछ । स्याम्पल कलेक्सन गर्दा वा प्रशोधन गर्दा उचित नियम पालना गरेन भने कतिपय अवस्थामा भाइरस नेगेटिभ आउँछ र पछिल्लो पटक जाँच गर्दा सबै नियम पालना भयो भने पोजेटिभ रिपोर्ट आउँछ ।

‘आरएनए निकै जतनसाथ ह्याण्डल गर्नुपर्छ, उचित सावधानी नअपनाउने हो भने आरएनए डिस्ट्रोय भएर नेगेटिभ आउँछ’ उनी भन्छन्, ‘अर्को स्वाब निकाल्दा सबै प्रकिया सही भयो भने अर्को रिपोर्ट पोजेटिभ आउन सक्छ ।’

डब्ल्यूएचओ भने यस्ता विषयमा वास्तवमै के भइरहेको छ भनेर भन्न गाह्रो भएको बताउँछ । धेरै निको भएर अस्पतालबाट डिस्चार्ज भएकाहरूमा पुनः पोजेटिभ देखिएको विषय अध्ययनको क्रममा रहेको उसले बताएको छ ।

‘हामी यस्ता रिपोर्ट आएका व्यक्तिहरूको नेगेटिभ र पोजेटिभ दुवै रिपोर्ट र त्यसको स्याम्पल लिएर अध्ययन गरिरहेका छौँ’ डब्ल्यूएचओले भनेको छ, ‘सुरुमा ती बिरामीहरूको स्वाब राम्रोसँग लिइयो या लिइएन त्यो निश्चित गर्नुपर्छ । कोभिड–१९ एउटा रोग हो, यसको अध्ययन गर्न हामीलाई धेरैभन्दा धेरै डाटा चाहिएको छ ।’

अनुसन्धानकर्ताहरूले पनि भाइरस प्रतिरोधी एन्टिबडी बनेपनि पुनः पोजेटिभ देखिनसक्ने बताएका छन् । भाइरस पुनः सक्रिय हुनुको धेरै अर्थमा व्याख्या गर्न सकिने अनुसन्धानको निष्कर्ष छ । तर, विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘कोभिड पुनः पोजेटिभबारे अहिले नै केही भन्नु हतार हुनेछ । हामी महिनौंदेखि यो भाइरसविरुद्ध लडिरहेका छौं । यो भाइरसले धेरै रुप परिवर्तन गरेको छ । अब के हुन्छ भनेर जान्न अहिले गाह्रो छ, त्यसैले खोप निर्माणमा ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment