Comments Add Comment

वीरगञ्जका एकै परिवारका १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

बुधबार थपिएका संक्रमितहरुलाई लिन गएका स्वास्थ्य र सुरक्षाकर्मीहरुको टोली

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । अर्का संक्रमित ६ महिनाकी बालिका छन् । यस्तै ३, ९, १४, १३ र १४ वर्षीय बालिक र १३ वर्षीया दुई बालिका पनि छन् ।

यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको २१ वैशाखमा पुष्टि भएको थियो ।

नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो ।

त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परिवारको प्रश्न : कसरी संक्रमण देखियो ?

संक्रमित परिवारका जेष्ठ सदस्य ६६ बर्षीय पुरुषकाअनुसार ६ भाइ छोरामध्ये ३ जना अलग भएर बस्दै आएका छन् । तीन छोरासँगै बस्दै आएपनि कान्छो छोरा लकडाउन अघि भारतस्थित ससुराली गएका थिए र, लकडाउनका कारण उतै छन् । लकडाउन शुरु भएपछि परिवारका सदस्य बाहिर गएका पनि छैनन् । उनीहरुमा कोभिड-१९ को लक्षण देखिएको पनि छैन ।

तर परिवारका सबै सदस्यमा कोरोना संक्रमण भयो भन्दा आफूलाई विश्वास नलागेको उनी बताउँछन् । ‘परिवारका हामी न जमातमा रहन्छौं, न जमातीमा गएका छौं । कसरी संक्रमण देखियो ?’ उनले प्रश्न गरे ।

संक्रमणको स्रोत नखुल्दा थप चुनौती

संक्रमित परिवारका सदस्यहरुले कसरी सबैलाई संक्रमण देखियो भनेर प्रश्न गर्दा सरकारी अधिकारीहरुसँग जवाफ छैन । किनकी आइतबार संक्रमण पुष्टि भएका त्यही परिवारका एक सदस्यको संक्रमणको स्रोत पत्ता लागेको छैन । झन परिवारका सबैमा संक्रमण देखिएपछि उनी कसैबाट संक्रमित भएर परिवारमा सरेको हो कि अर्को कुनै सदस्यलाई पहिले संक्रमण भएको थियो भन्ने प्रश्न उठेको छ ।

‘यसअघिका संक्रमितलाई कहाँबाट संक्रमण भयो भनेर खोजी गर्दै थियौं, परिवार पुरै संक्रमित भएको पुष्टि भएको छ’ वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणा भन्छन्, ‘परिवारका सदस्यले उनलाई सारे वा उनले परिवारका सदस्यलाई सारे भन्ने अन्योल देखिएको छ ।’

अब सबैको कट्याक ट्रेसिङ गरेर सम्पर्कमा आएकाहरुको परीक्षण नगरी केही भन्न नसकिने अधिकारीहरु बताउँछन् ।

अस्पताललाई पनि चुनौती तर …

वीरगञ्जमा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि नारायणी अस्पताललाई कोभिड अस्पताल तोकिएको छ । बुधबार थपिएका १७ संक्रमितलाई पनि यही अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । यो सँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या २८ पुगेको छ ।

थपिएका संक्रमितमा २ महिने शिशु पनि भएकाले चुनौती थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. मदन उपाध्यायले बताउँछन् । ‘बच्चा र महिलालाई पहिलोपटक आईसोलेट गर्नुपर्ने भएको छ । यो हाम्रा लागि नयाँ चुनौती हो, तर यसका लागि अस्पताल तयार छ’ उनले भने ।

आमा र बच्चा दुवै संक्रमित भएकाले केहि सहज हुने उनले सुनाए । ‘बच्चालाई मात्रै पोजेटिभ भएको भए ठूलो चुनौती हुने थियो, तर आमा पनि संक्रमित भएकाले केही सजिलो हुन्छ होला’ उनले भने ।

नारायणी अस्पतालले शुरुमा ५ बेडको आइसोलेसन वार्ड बनाएर कोभिड-१९ का शंकास्पद विरामी राख्न शुरु गरेको थियो । पछि २० बेडको आइसोलेसन वार्ड बनाए पनि हावाहुरीले भत्काइदियो । यसले थप संक्रमित आउँदा राख्ने ठाउँ नहुने हो कि भन्ने चिन्ता थियो । तर अहिले महिलाका लागि छुट्टै आइसोलेसन वार्डकै व्यवस्था गरिएको अस्पताल प्रशासनले बताएको छ ।

‘२५ बेडको आइसोलेसन तयारी अवस्थामा छ, सम्भावित संक्रमित वा संक्रमित थपिए भने राख्न २ वटा फ्लोर तयार पारेका छौं’ मेसु उपाध्यायले भने, ‘प्रदेश नं २ मा नारायणीबाहेक अन्य अस्पताल कोभिड संक्रमित राख्न तयारी हालतमा छैनन् । बाध्यकारी अवस्था देखिएकाले हामीले पूर्वतयारी गरेका छौं । हामी थप संक्रमित वा शंकास्पद संक्रमितलाई राख्न सक्छौं ।’

तथ्यांकमा काेराेना - नेपाल

संक्रमित ९९
निको भएको१९
मृत्यु
अपडेटः २०७७ वैशाख २४ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment