Comments Add Comment

विराटनगरबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, १७ जनाको उपचार हुँदै

२६ वैशाख, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका हुन् । दुई जना भने विराटनगर महानगरपालिका- १७ का बासिन्दा हुन । एक जना भारतको दिल्लीबाट आएका जमाती हुन् ।

उनीहरूको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् ।

डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो ।

निको भएकाहरूको बिदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए। संक्रमण मुक्त भएकाहरूबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।

बुधबार कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरूलाई विराटनगर-१५ मा रहेको रानी मर्कजमा राखिएको छ ।

यो सँगै नेपालभर कोरोना संक्रमणपछि निको हुनेको संख्या २७ पुगेको छ । कुल ३० मध्ये तीनजनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण पुन: अस्पताल भर्ना गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १०१ रहेको छ । विराटनगरको कोरोना अस्पतालमा एक समय ३१ जना कोरोना संक्रमित भर्ना भएका थिए । अब १७ जना उपचाररत छन ।

उपचारमा रहेका सबैको अवस्था सामान्य रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्राले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment