Comments Add Comment

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै सोमबार भेटिएका संक्रमितको संख्या २४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कपिलवस्तुमा एकैदिन १६ संक्रमित भेटिए

सोमबार विहान मात्र कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सक्रमितहरु यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुष हुन् र, उनीहरु लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आएका थिए ।

सोमबार साँझ आएको रिपोर्टमा यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा मात्र संक्रमितको संख्या २१ पुगेको छ ।

संक्रमितको संख्या बढेसँगै कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ ।

रुपन्देहीमा ६ जना संक्रमित

रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये चार जना सम्मरीमाई र दुई जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् । उनीहरू लकडाउनको समयमा लुकिछिपी भारतबाट आएको पाइएको छ । ‘अहिले हामीले भारत र तेस्रो मुलुकबाट आएकाहरुको बढी परिक्षण गरिरहेका छौं’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘सोमबार थपिएका संक्रमितहरु केही दिन अगाडि सुरक्षाकर्मीलाई छलेर भारतबाट आएको पाइएको छ ।’

उनीहरुलाई थप उपचारका लागि बुटवलमा रहेको कोरोना बिशेष अस्पताल ल्याइदै छ ।

यस्तै सोमबारै नै बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिका र सप्तरीको डाक्नेश्वरी नगरपालिका – ३ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीका संक्रमित युवकसहित १३ जना चितवनबाट हिँडेर वैशाख ९ गते सप्तरी पुगेका थिए । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको २५ गते स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै आइतबार उनीहरुलाई घर पठाइएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment