Comments Add Comment

मनमोहन अस्पताललाई अढाइ लाख जरीवाना, नर्भिकसँग लिखित जवाफ माग

३० वैशाख, काठमाडौं । सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै वाणिज्य विभागले मनोमोहन मेमोरियल अस्पताल ठमेललाई जरिवाना गराएको छ । यस्तै बढी शुल्क असुलेको उजुरीपछि नर्भिक अन्तराष्ट्रिय अस्पतालसँग विभागले लिखित स्पष्टीकरण माग गरेको छ ।

मंगलबार गरिएको अनुगमनमा अल्ट्रा साउण्ड (यूएसजी) सेवा दिँदा धेरै नाफा लिएको पाइएपछि दुई लाख पचास हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

अस्पतालले ९ सय रुपैयाँमा शुल्कमा सेवा दिनु पर्नेमा १६ सय रुपैयाँ लिएको पाइएको थियो । यस्तै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई अतिरिक्त शुल्क लिएको आरोपमा तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन विभागले निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएको थियो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपीडी सेवामा ७ सय ५० रुपैयाँ लिएको भेटिएपछि जवाफ माग गरिएको हो ।

लकडाउनअघि हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २ सय ५० रुपैयाँ र बहिरंग सेवाका लागि पाँच सय रुपैयाँ लिँदै आएको थियो ।

लकडाउनका कारण सरकारले नै बहिरंग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरंग सेवा सञ्चालन गरेर ७ सय ५० रुपैयाँ लिएको अनुगमनका क्रममा भेटिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment