Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

ट्रम्पले भने– हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको छु

६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या ९० हजार तीन सय नौ पुगेको छ ।

कोरोनाबाट संक्रमितको संख्या १५ लाख छ हजार आठ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो ।

ट्रम्पले भने – हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको छु

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि हाइड्रोक्लोरोक्विन औषधि खाइरहेको बताएका छन् । जबकि यसअघि मलेरियाका बिरामीलाई दिइने यो औषधिको ट्रम्पले खिल्ली उडाएका थिए ।

सोमबार पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले भने, ‘मैले करिब डेढ हप्तादेखि यो औषधि खाइरहेको छु, त्यसैले म यहाँ उपस्थित हुन सकेको छु । तपाईंले देखिरहनु भएको छ । मेरो तर्फबाट यही नै प्रमाण हो । यसबारे धेरै सकारात्मक फोन आइरहेको छ ।’

केही वैज्ञानिकहरूले हाइड्रोक्लोरोक्विनबाट कोरोनाविरुद्ध लड्न मद्दत मिल्छ भनेपछि अमेरिकाले यो औषधि भारतबाट समेत किनेको थियो ।

वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसविरुद्धको औषधि अझै पत्ता लागेको छैन । तर, हाइड्रोक्लोरोक्विन औषधिले रोगप्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment