Comments Add Comment

मिलेमतो गर्न खरिदका प्रक्रिया स्थगित नगरिएको महासंघको आरोप

७ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लकडाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरू यथावत रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरोकारवाला निकाय समक्ष पटकपटक ताकेता गर्दा समेत त्यसको विपरीत अतिआवश्यक र कोभिड-१९ सँग सम्बन्धितबाहेकका केही खरिद प्रक्रियाहरू संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सार्वजनिक निकायहरूले अझै स्थगित नगरेको महासंघले जनाएको छ।

“अहिलेको विषम परिस्थितिमा आफुखुसी आफ्ना नजिकका व्यवसायीहरूलाई हुनेगरी मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरिद प्रक्रियाहरू यथावत राखेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,” महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनका कारण निर्माण व्यवसायी सदस्यहरू एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै महासंघले यसअघि जारी भएका पासहरू रद्द गरी स्थानीय तहहरूले समेत आफ्ना क्षेत्रभित्र आवतजावतमा कडाइ गरेको स्मरण गराएको छ ।

बैङ्क ग्यारेण्टीलगायतका कागजात तयार गर्न समेत व्यवसायीहरूलाई समस्या रहेको भन्दै महासंघले पूर्ण क्षमतासहित बैङ्क सञ्चालनमा नभएकोले ती बोलपत्रहरूमा निर्माण व्यवसायीहरू सहभागी हुनबाट बञ्चित हुने हुँदा त्यस्ता खरिद प्रक्रियामा स्वच्छ प्रतिष्पर्धा नहुने ठहर गरेको छ ।

लकडाउनको समयमा समेत अतिआवश्यक सेवा र कोभिड-१९ सँग सम्बन्धितबाहेकका खरिद प्रक्रियाहरूमध्ये आह्वान भइसकेका बोलपत्रहरूको लकडाउन खुलेको मितिले ७ दिनपछिसम्म अनिवार्य म्याद थप गर्ने व्यवस्था गरिदिन महासंघले आग्रह गरेको छ ।

अब उप्रान्त आह्वान हुने सम्पूर्ण बोलपत्र, आशयपत्र, सिलबन्दी दरभाउपत्रलगायतका खरिद प्रक्रियाहरू हाललाई स्थगित गर्न पनि महासंघले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरू समक्ष अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment