Comments Add Comment

प्रदेश २ मा संक्रमण तीब्र, स्वाब संकलन सुस्त

संक्रमितकाे संख्या ४ सय पुग्याे

फाइल फोटो

१५ जेठ, वीरगञ्ज । प्रदेश २ मा कोरोना भाइरस संक्रमितिहरुको संख्या ४ सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएपछि सक्रमितको संख्या ४ सय पुगेको हो ।

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या बढी रहे पनि संक्रमितकाे कन्ट्याट ट्रेसिङ र परीक्षणकाे दायरा भने बढ्न सकेको छैन ।

रौतहटको परोहा नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, बृन्दाबन नगरपालिकामा १३५ जनाको स्वाव संकलन गरिएको मन्त्रालयले जनाएको छ । रौतहटकै माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका र गौर नगरपालिकामा स्वाव संकलन कार्य भइरहेको जनाइएको छ ।

त्यसैगरी पर्साको पर्सागढी नगरपालिका, पटेर्वा सुगौली गाउँपालिका र वीरगञ्ज महानगरपालिका स्थित त्रिजुद्ध माध्यमिक विद्यालय स्थित क्वारेन्टिनमा स्वाव संकलनको कार्य भइरहेको छ ।

पछिल्लो २४ घण्टामा बिहीबार बिहान सप्तरीमा १४, सिराहा ६, धनुषामा २८ र महोत्तरीमा १८ र रौतहटमा ३ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै संक्रमितकाे संख्या ४ सय पुगेकाे हाे ।

सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित चन्द्रा नमुना माध्यमिक विद्यालय स्थित क्वारेन्टिनमा गत जेठ ६ गते स्वाव संकलन गरिएको थियो । जसमध्ये बोदेबर्साइन नगरपालिकाका वर्ष, १८, १९, २१, २७, २९ तथा ३० वर्षका २ जना र ३३, ३६, ३७, ४२, ४७ गरी कुल १२ जना स्थानीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी सप्तरीको बिष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुष र पर्सा जिल्ला घर भई हाल सप्तरीमा पेशागत कामको सिलसिलामा बस्दै आएका ३२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबै जना भारतबाट आएको र उनीहरुलाई आए लगत्तै स्थानीय क्वारेन्टिनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सिराहाको बरियारपट्टी गाउँपालिकाको जय माध्यमिक विद्यालयमा गत जेठ ६ गते गरिएको स्वाव संकलनको रिपोर्टको आधारमा वर्ष १८ का ३ जना, वर्ष ३५ का २ जना र वर्ष ४० का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सिराहामा कोरोना संक्रमण पुष्टि भएका ६ जना पुरुषहरु छिमेकी मुलुक भारतबाट आएका व्यक्ति हुन् ।

धनुषाको जनक नन्दिनी गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १० दिन अगाडि धनुषा घर भई काठमाण्डौ बस्दै आएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । परिवार धनुषामा नै बस्दै आएकोले परिवारलाई होम क्वारेन्टिन राखेर स्वाव संकलन गरिएको थियो । लक्ष्मीनीया गाउँपालिकामा होम क्वारेन्टिनमा बस्दै आएका वर्ष ४, १४, २७ र २८ बर्षका महिला तथा अन्य ३ पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी लक्ष्मीनिया गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ र उनीहरु पनि छिमेकी मुलुक भारतबाट आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनुषाकै २२ बर्ष की एक महिला, २१, २५, २८, तथा ३१ बर्षका २ जना र ७० वर्षका एक जना पुरुषगरी थप ७ समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरी जिल्ला स्थित जलेश्वर नगरपालिकामा रहेको क्वारेन्टिनमा गत ९ गते ३४ जनाको स्वाव संकलन गरिएको थियो । स्वा संकलन गरिएका मध्ये ४५ वर्षीया महिला, २० वर्षमा २ जना, २१ वर्षका ३ जना तथा १५, १९, २२, २६, २३, ४५, १८, २१, १९, ३७ र उमेर खुल्न नसेकेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका स्थित पब्लिक माध्यमिक विद्यालयको कर्भड हलमा निर्माण गरिएको क्वारेन्टिनमा बस्दै आएका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका उनीहरुको गत जेठ ९ गते स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका मध्ये बर्ष १७, १८, २१, २६ तथा ३० बर्षका २ जना र ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले थप सावधानी अपनाउन आवश्यक देखिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । ‘पछिल्लो समय खुल्ला सिमाना हुँदै भारतबाट आएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सीमापारिबाट आएकाहरु स्वयं क्वारेन्टिनमा बसेर सहयोग गर्नु आवश्यक छ,’ उनले भने ।
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ६ को मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका २१, २४ र ३० बर्षिय ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

९७ जना संक्रममित निको भएर घर फर्किए

प्रदेश नं २ मा ९७ जना कोरोना संक्रममित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा वैशाख १४ गते ४ जना कोराना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका थिए । उनीहरु मध्ये २ जनामा पुनः संक्रमण देखिएपछि अस्पताल फिर्ता ल्याइएको थियो । जेठ १० गते ९ जना, ११ गते १८ जना र १२ गते ४३ जना संक्रमित नारायणी अस्पातालबाट नै डिस्चार्ज भए । नारायणी अस्पतालमा हाल संक्रमित राखिएको छैन ।

जेठ १३ पर्साकै नारायणी अस्पताल माहततको गण्डक अस्पतालबाट २१ जना र जेठ १४ गते ४ जना संक्रमितहरु उपचार पछि निको भएर घर फर्किएका छन् ।

त्यसैगरी पीसीआर परीक्षणमार्फत संक्रमण प्रमाणित भएका सप्तरीकोस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १६ पुरुष र १ महिलागरी कुल १७ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहाको महेन्द्र गेनाई अस्पतालको आइसेलसनमा कोरोना संक्रमित ८ जना पुरुषहरुको उपचार भइरहेको छ ।

त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना, महोत्तरीको लेश्वर अस्पताल स्थित आइसोलसन कक्षमा ३ जना पुरुष, सर्लाहीको मंलगवामास्थित अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा १३ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

त्यसैगरी रौतहटको चपुर अस्पतालमा ७ जना पुरुष, गौर नर्सिङ्ग इन्टिच्युटको आइसोलेसनमा ४ महिला र २५ पुरुषगरी कुल २९ जना, राजपुर फरहदवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्युट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । बाराको कलैया अस्पताल स्थित आइसोलेसनमा ४४ जना पुरुष र २ जना महिलागरी ४६ जना संक्रमितहरुलाई राखिएको छ । वीरगञ्ज स्थित गण्डक अस्पतालको आईसोलेसनमा ५ जना कोरोना संक्रमित पुरुषहरु उपचाररत रहेको डा उदय नारायण सिंहले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment