Comments Add Comment

कोरोना संक्रमितको उपचार गर्न सक्षम छ बागलुङ

संक्रमितसँगै बसमा थिए ३८ जना

१४ जेठ, पोखरा । चैतको दोस्रो सातातिर बागलुङमा २ जना कोरोना संक्रमित भेटिए । ती दुवै बेल्जियमबाट फर्किएका थिए । नेपालमा कोरोना संक्रमण देखिन थालेको सुरुआती समयमा भेटिएका ती संक्रमितलाई कहाँ राखेर उपचार गर्नेबारे अन्यौलता थियो ।

संक्रमणको सुरुआती समयमा कोरोनाबारे सही जानकारी र सूचनाभन्दा अपवाहले जनस्तरमात्रै नभई उपचारमा संलग्न हुने चिकित्सक नै त्रसित थिए । ती २ कोरोना संक्रमितलाई जिल्लामै उपचार गर्ने वा पोखरा पठाउने भन्ने प्रश्नका बीच धवलागिरि अञ्चल अस्पताल बागलुङमै राखेर उपचार गर्ने सहमति भयो ।

धवलागिरि अस्पताल निमित्त मेडिकल सुपरिडेन्ट डा शैलेन्द्र पोखरेल र स्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौंको टिमले उपचारको जिम्मा लिनेमात्रै गरेन, कोरोना संक्रमितलाई लिन एम्बुलेन्सले लिन जान नमानेको अवस्थामा आफैं लिन गएका पनि थिए ।

पछि वैशाखको दोस्रो हप्तातिर दुवै संक्रमित निको भएर घर फर्किइसकेका छन् । कोरोना संक्रमितको उपचारका लागि धवलागिरि स्पतालले उदाहरणीय काम गरेको भन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले प्रशंसासमेत गरेका थिए । उनले भनेका थिए, ‘त्यतिबेला डा. गुरौं र पोखरेलको टिमले बहादुरी नदेखाएको भए गण्डकी प्रदेशमा कोरोना सामान्य रुपमा पार लाग्ने थिएन ।’

तर, अहिले फेरि बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिएका छन् । बागलुङको पश्चिमी भेग तमनखोला गाउँपालिका ४ र बडिगार्ड गाउँपालिका २ जना पुरुष भेटिए । संक्रमित सबै भारतबाट केही दिनअघिमात्रै उद्धार गरिएका हुन् ।

कोरोना जितेर ‘कोरोनामुक्तक’ भएको जिल्लाले फेरि अब फेरि जित्ला त ? धवलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा शैलेन्द्र पोखरेल भन्छन्, ‘पहिलेको २ केसको अनुभव हामीसँग छ । पहिले नयाँ भएकाले केही अत्तालिएका थियौं । तर, अहिले सेवासुविधा सबै उपलब्ध भएको अवस्थामा कोरोनालाई फेरि जित्छौं ।’

अघिल्लो पटक देखिएका कोरोना संक्रमितको उपचारमा आफूहरुले धेरै कुराको अनुभव लिने मौका पाएको पोखरेलले बताएका छन् । ‘यस अवधिमा आशंका गरिएका व्यक्तिको उपचार पनि गर्‍यौं । तर, पछि रिपोर्ट नेगेटिभ आयो,’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘आईसीयूदेखि आइसोलेसनसम्मको अनुभव त्यति बेलैको छ ।’

पोखरेलले अघिल्लो पटक आइसोलेसन, आईसीयू वार्डको कमी महसुस भएकाले आफूहरुले प्रदेशसँग माग गरेको र तत्काल उपलब्ध भइसकेको जानकारी दिए । ‘पहिले जम्मा ४ वटा आइसोलेसन वार्ड थियो । तर, अहिले बढाएर १२ बेड क्षमताको बनाएका छौं,’ उनले भने, ‘अवस्था हेरेर अझै सुधार गर्न सकिन्छ ।’

६ जना संक्रमितसँग बसमा थिए ३८ जना

बागलुङमा बुधबार कोरोना पोजेटिभ देखिएका ६ जनासँग एउटै बसमा ३८ जना आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले अनलाइनखबरलाई जानकारी दिए । उनले सबै सम्पर्कमा आइसकेको र उनीहरुको पनि पीसीआर टेस्ट गर्ने तयारीमा रहेको सुनाए ।

‘अघिल्लो पटकको कन्ट्याक ट्रेसिङकै विधि अपनाउँछौं । यस पटक सजिलोका लागि हामीले स्थानीय तहमै विभिन्न टिम परिचालन पनि गरिसकेका छौं,’ डा गुरौंले भने, ‘भारत कहाँबाट आएदेखि नेपालमा आएर केके गरे कहाँ गएसम्मका विवरणहरु जम्मा गर्छौं ।’

स्थानीय तहले नेपालभारत सीमा नाकामा अलपत्र परेकालाई उद्धार गरिरहेकाले कोरोना संक्रमितको संख्या अझै बढ्ने देखिएको गुरौंले दाबी गरे । ‘नागरिकलाई अलपत्र पारिनु हुँदैन । कम्तीमा उद्धार भइसकेपछि कोरोना भएपछि राम्रो उपचार पाउँछन्,’ उनले भने, ‘कोरोना संक्रमित बढ्न सक्छन् । तर, फेरि हामी जितेर बागलुङलाई कोरोनामुक्त बनाउनेछौं ।’

बागलुङ पश्चिमी भेगका ४ स्थानीय तहमा अहिले २ सय ३० भन्दा बढी क्वारेन्टिनमा छन् । ‘पश्चिमी भेगका धेरैजना भारतमा श्रम गर्नु हुनेरहेछ । उहाँहरुलाई उद्धार गरेर स्थानीय तहकै क्वारेन्टाइनमा राखेका छौं । क्वारेन्टिनमा बस्नेको संख्या पनि दिनदिनै बढिरहेको छ,’ उनले भने ।

बागलुङबाट १ सय ६ जनाको ‘शंकास्पद’को स्वाब गरीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका उनीहरुका बुधबार साँझसम्म धवलागिर अस्पताल ल्याइसकिएको भने छैन । ‘उहाँहरु बाटैमा हुनुहुन्छ । केही समयपछि अस्पतालले रिसिभ गर्छ,’ स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment