Comments Add Comment

भारतबाट आएकाहरु भन्छन् : क्वारेन्टिनमा झन् असुरक्षित भयौं

१५ जेठ, कैलाली । भारतबाट स्वदेश फर्किएका सम्भावित कोरोना संक्रमित नेपालीलाई राख्न कैलालीको घोडाघोेडी नगरपालिका ३ स्थित सरस्वती आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा ५३ जना छन् ।

अनेकौँ समस्या झेल्दै घर नजिकै आइपुगेका उनीहरुको क्वारेन्टिन बसाइ पनि कष्टपूर्ण छ ।

१२ जनाको समूहमा पञ्जाबबाट आएका गणेश बोहरा क्वारेन्टिन आइपुगेपछि झन् समस्यामा परेको बताउँछन् ।

‘गौरिफन्टासम्म आउँदा हामी सुरक्षित थियौँ । त्यसपछि यता आउँदा समस्या भयो’ उनले भने, ‘सुत्ने सानो ठाउँ छ । एकातर्फ फर्किएर सुत्यो भने अर्काेतिर फर्किन मिल्दैन । एउटाको खुट्टा अर्काको टाउकोमा हुन्छ ।’

खानेपानीकै व्यवस्था नहुँदा झन् समस्या परेको उनी बताउँछन् ।

‘घरबाट खाना लिएर आऊ भन्छन्’ बोहराले भने, ‘हामी भारतबाट आएका हौं । खाना पुर्‍याउन आउने–जाने गर्दा उनीहरु पनि जोखिममा पर्न सक्छन् ।’

भारतको सबैभन्दा बढी संक्रमण फैलिएको क्षेत्र हो महाराष्ट्र । महाराष्ट्रको पुनाबाट आएका योगेन्द्रबहादुर शाही पनि आफू बसेको क्वारेन्टिन व्यवस्थित नभएको बताउँछन् ।

‘हामी जोखिमयुक्त क्षेत्रबाट आएको हौँ’ उनले भने, ‘क्वारेन्टिनमा पनि सही व्यवस्थापन नहुँदा ठूलो जोखिम आउँछ कि भन्ने चिन्ता छ ।’

शाही जेठ १० गते गौरिफन्टा नामाबाट नेपाल भित्रिएका थिए । शाहीसँगै नेपाल आएका समशेर चन्द पनि क्वारेन्टिनको व्यवस्थापन राम्रो नहुँदा डर लागेको बताउँछन् ।

‘समस्या नै समस्या छ । सबै समस्याको समाधान नहोला तर, सामान्य विषयमा पनि चासो दिएका छैनन्’ उनले गुनासो पोख्दै भने ‘७०/८० जना छौं । सबैले एउटै शौचालय र खानेपानी प्रयोग गरेका छौँ । यहाँ त सबैबाट सबैलाई डर भयो ।’

मुम्बईबाट आएका शंकर उपाध्यायले रातभरि लामुखुट्टेको शिकार हुनुपरेको गुनासो गरे ।

‘झुल पनि दिएका छैनन् सुत्न पनि समस्या छ । खानाको पनि समस्या छ’ उनले भने, ‘दिनभरि चिन्ता लाग्छ रातभरि लामुखुट्टे लाग्छ ।’

मुम्बईबाट आएका शंकरबहादुर बिक क्वारेन्टिनको नाममा केही पनि नभएको ठाउँमा राखिएको गुनासो गर्छन् ।

‘भुइँमा बिच्छ्याउने छैन, ओढ्ने छैन, झुल पनि छैन । एकै पटक व्यवस्था गर्न समस्या होला । तर, व्यवस्था त गर्नुपर्‍यो नि ’ उनी भन्छन्, ‘अहिलसम्म त कसैले चासो पनि दिएका छैन । ’

स्वच्छ पिउने पानी र शौचालयमा चुकुल पनि नभएको यसै क्वारेन्टिनमा रहेका लालबहादुर बिकको गुनासो छ ।

‘हामीलाई पहिले खानेपानीको व्यवस्था हुनुपर्‍यो । मास्क, सेनिटाइजर पनि छैन । हामी नै असुरक्षित भएका छौं’ उनले भने, ‘म बसेको कोठामा बत्ति पनि छैन ।’

घोडाघोडी नगरपालिका– ३ का वडाअध्यक्ष कमल थारु क्वारेन्टिनमा केही समस्या रहेको स्वीकार गर्छन् । ‘एक्कासी वडामा क्वारेन्टिन बनाउने निर्णय गरियो । पर्याप्त समय नहुँदा राम्रोसँग व्यवस्थापन गर्न पाइएको छैन’ उनले भने, ‘कुनै ठाउँमा पानीको व्यवस्थापन गर्न सकिएको छैन । कुनै ठाउँमा ओढ्ने, ओछ्याउने समस्या छ ।’

नगरप्रमुख ममता प्रसाद चौधरी भारतबाट हजारौं नागरिक आउँदा हामीलाई व्यवस्थापनमा समस्या परेको बताउँछन् । ‘हामी व्यवस्थापनलाई राम्रो बनाउने प्रयासमा छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment