Comments Add Comment

बिक्री नभएपछि चितवनका किसानले तरकारीबारीमै लगाए ट्याक्टर

१५ जेठ, चितवन । तरकारीले बजार नपाएपछि पूर्वी चितवनका तरकारी किसानले तरकारीसहित खेत जोत्न सुरु गरेका छन् । खैरहनी नगरपालिका १ वहेराका किसान बासुदेव सापकोटाले १२ वर्षपछि तरकारी खेतीमा ट्याक्टर लगाएर जोताउन बाध्य भएको बताए ।

यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि किसान सापकोटाले भिण्डीबारीमा ट्याक्टर लगाएका छन् । उनले सात कठ्ठा जग्गामा भिण्डी लगाएका थिए । वैशाख महिनामा उनले १२ हजार रुपैयाँको मात्र भिण्डी बिक्री गरे । त्यसपछि उनले भिण्डी बिक्री गर्न सकेका थिएनन् ।

सापकोटाले आफ्नो परिश्रमबाहेक ७ कठ्ठामा ६५ हजार रुपैया खर्च गरेर भिण्डी लगाएको बताए । ‘सुरु सुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजान समेत मान्दैनन्’ किसान सापकोटाले भने ‘बोटमा छिप्याएर राख्नु भन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठाने ।’

१२ वर्षअघि प्रतिकिलो २ रुपैयाँमा झरेपछि उनले यसरी नै ट्याक्टर लगाएर तरकारी बारी जोतेका थिए । खैरहनीकै अर्का स्थानीय किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् ।

त्यसमध्ये ६ कठ्ठामा भिण्डी लगाएका छन् । अन्य तरकारीले वजार पाए पनि भिण्डीले भने मुल्य नपाउँदा उनी निराश बनेका छन् । भिण्डीसँगै जोडिएको जग्गामा मकै खेती गरेकाले एकै पटक जोत्ने तयारीमा उनी छन् ।

विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती सुरु गरेका उनले यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गरेको बताए । तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उनको भनाइ छ ।
यहाँका स्थानीयले ग्रामीण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् । तर लकडाउनका कारणले तरकारी संकलन बन्द गरिएको सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले बताए ।

यहाँ उत्पादन भएको तरकारीको मुख्य वजार नारायणगढ, काठमाडौं र पोखरा हो । ‘अन्य जिल्ला लैजान अहिले समस्या छ’ सहकारीका अध्यक्ष जैसीले भने ‘विचौलिया हाबी हुँदा तरकारीले उचित मुल्य पाउन सकेन ।’

उनका अनुसार वजारमा उपभोक्ताले खरिद गर्दा प्रतिकिलो भिन्डीको एक सय रुपैयाँसम्म पर्ने गरेको छ । खैरहनी–१ मा अहिले ३ सय किसान व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् ।

तीन सिजन यहाँ तरकारी उत्पादन हुन्छ । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नम्वर १ बाट मात्रै वार्षिक ९ करोडको तरकारी उत्पादन हुदै आएको छ ।

यहाँ भिण्डी, बोडी, वन्दा, काउली, गोलभेडालगायतको तरकारी खेती हुदै आएको छ । खैरहनी नगरपालिकामा गत वर्ष पनि तरकारीले मुल्य नपाएपछि यहाँका किसानले डोजर चलाएका तरकारी जोतेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment