Comments Add Comment

भारतबाट आएका थिए स्याङ्जाका सबै संक्रमित

२० जेठ, पोखरा । स्याङ्जा जिल्लामा संक्रमण पुष्टि भएका पाँचै जना व्यक्तिहरु भारतबाट आएको खुलेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना र विरुवा गाउँपालिकाका एक जनालाई कोरोना पुष्टि भएको छ ।

स्याङ्जाको विरुवा गाउँपालिकामा कोरोना संक्रमित २० वर्षीय युवक भारतको मुम्बईबाट १५ गते स्याङ्जा आएका अर्का एकजना साथीसँगै गृह जिल्ला आएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए ।

‘स्याङ्जाका स्थानीय तहले उद्धार गर्ने बेला आएका हुन् । हामीले वालिङबाट रिसिभ गरेका हौं,’ गाउँपालिका अध्यक्ष शर्माले अनलाइनखबरसँग भने, ‘बसमा कति जना थिए । कहाँ गए थाहा भएन, त्यही बुझ्दै छौं ।’

ती युवक विरुवा आएर स्थानीय नवज्योति माविको क्वारेन्टिनमा बसेका थिए । ‘कोरोना संक्रमण पुष्टि भएका ती युवकसँग २० जनाको स्वाब परीक्षणका लागि पठाएका थियौं । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।

गाउँपालिकाले नवज्योति मावि र जामुने डाँडामा गरी २ क्वारेन्टिन सञ्चालन गरेको छ । जसमा २६ जना बाहिरबाट आएकाहरु छन् ।

संक्रमित युवकलाई जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए ।

मंगलबार कोरोना पुष्टि भएका स्याङ्जाकै चापाकोट नगरपालिकाका ४ जना पनि १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका थिए । उनीहरु पनि जिल्लाका स्थानीय तहले उद्धार गरेको टोलीमा ९ जना सहित आएको नगरपालिकाले जानकारी दिएको छ । ‘हामीले टोलीका २५ जनाको स्वाब परीक्षण गर्न पठाएका थियौं । बाँकीको नेगेटिभ आयो,’ नगरपालिकाका स्वास्थ्य संयोजक विन्दु कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment