Comments Add Comment

नगरपालिकाले घर पठाएकाहरु आफैं क्वारेन्टिनमा बसे

२४ जेठ, डोटी । डोटी दिपायल सिलगढी नगरपालिका–८ दाङका शेरबहादुर साउँद भारतको लुधियानामा काम गर्थे । कोरोनाको महामारीले उनलाई घर फर्कन बाध्य बनायो । उनी जेठ १० गते डोटी पुगे । उनलाई स्थानीय सुनादेवी माविको क्वारेन्टिनमा राखियो ।

बिहीबार आरडीटी टेष्ट गर्दा नतिजा ‘नेगेटिभ’ आएपछि उनलाई नगरपालिकाले एक सातासम्म होम क्वारेन्टिनमा बस्नू भन्दै घर पठायो । तर उनी घर गएनन् । उनी गाउँकै चौखान माविमा क्वारेन्टिनमा बसे । उनले घरबाटै ओढ्ने ओछ्याउने मगाए । घरबाटै खाना आउँछ ।

सोहीगाउँकी ममता विक पनि श्रीमान् भरसँगै भारतको लुधियानाबाट आएकी हुन् । उनलाई पनि आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएको थियो । उनी पनि घर गइनन् । एक बच्चा र श्रीमानँगगै ममता पनि चौखान माविमा सेल्फ क्वारेन्टिनमा छिन् ।

शेरबहादुर र ममतामात्रै होइन उक्त विद्यालयमा दुई बालबालिकासहित १९ जना सेल्फ क्वारेन्टिनमा बसेका छन् । ‘घर सानो छ, छोराछोरीहरु छन्, जति जोगिन चाहे पनि छोराछोरीहरु आइहाल्छन्,’ शेरबहादुरले भने, ‘त्यसैले आफू र समाजलाई सुरक्षित राख्नका लागि हामी आफैं क्वारेन्टिनमा बसेका हौं ।’

उनी छोराछोरीको मायाले आफूहरु भावनामा बग्न सक्ने डरले छुट्टै बसेको बताउँछन् ।१० दिनसम्म क्वारेन्टिनमा बस्ने उनी बताउँछन् । उनले थपे, ‘खाना घरबाटै झिल्लीमा प्याक भएर आउँछ, गेटमा राखेर ल्याउने मान्छे अलि टाढा गएपछि हामी लिन जान्छौं ।’

आफ्ना कारण घर परिवार र छिमेकीलाई समस्या नहोस् भनेर आफूहरु यसरी क्वारेन्टिनमा बसेको बताउँछिन् ममता । उनले भनिन् ‘बाटोभरी यति धेरै दुःख खेपियो भने अझ दुई–चार दिन दुःख खेप्छौं ।’ उनी बाटोमा खेपेको दुःख अब कहिल्लै खेप्नु नपरोस् भन्ने प्रार्थना गर्छिन् ।

घरमा सुरक्षित हुन नसकिने भएका कारण आफूहरुले पनि उनीहरुलाई विद्यालयमै क्वारेन्टिनमा बस्न सुझाव दिएको बताउँछन् स्थानीय शिक्षक केदार साउँद । ‘घरमा गइसकेपछि सुरक्षित बस्न सजिलो हुँदैन,’ शिक्षक साउँदले भने, ‘त्यसैले उहाँहरु अलग्गै बस्नुभएको छ ।’ यसले कोरोना संक्रमण फैलिने जोखिम कम हुने उनको भनाइ छ ।

सेल्फ क्वारेन्टिनमा रहेकाहरुमध्ये दुई बालबालिका सहित १६ जना भारतको लुधियानाबाट आई स्थानीय सुनादेवी माविमा १३ दिन क्वारेन्टिनमा बसेका थिए । दुई जना भारतको मुम्बईबाट आई जिल्ला सदरमुकामको पद्म पव्लिक माविमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । एक जना ती दुई जनासँग सिलगढीबाट सँगै घर गएका व्यक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment