Comments Add Comment

कुवेतबाट स्वदेश फर्किन पाउँदा …   

२९ जेठ, कुवेतमा आममाफी पाएर बिहीबार स्वदेश फर्किएका १०२ नेपालीलाई भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको छ ।

नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश २ का नागरिकलाई मध्यपुर थिमी नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो ।

कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफी पाएका नेपालीलाई कोरोना परीक्षणसमेत गरेर नेपाल ल्याइदिएको छ । लकडाउनपछि पहिलो पटक कुवेतबाट पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा ३०० नेपाली महिला स्वदेश फर्किएका छन् ।

तीमध्ये त्रिभुवन विमानस्थलबाट प्रदेश नं १ मा पहिलो उडानबाट ३८ र दोस्रो उडानबाट ५४ महिला तथा प्रदेश नं २ मा पहिलो उडानबाट छ र दोस्रो उडानबाट चार महिला भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको हो ।

उनीहरुलाई होल्डिङ सेन्टरमा केही घण्टा आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्ला पठाइएको वीर दल गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए । यहाँबाट गएकाहरु आ–आफनो घर पुगेपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सेन्टरमा वीरदल गण सूर्यविनायकले व्यक्तिगत विवरण सङ्कलन गरी शरीरको तापक्रम मापन गरेको थियो । उनीहरुलाई सेन्टरमा केही समय आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्लामा पठाइएको छ ।

कुवेतले भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गत अप्रिल २६ देखि ३० सम्म नेपालीलाई आममाफीमा सहभागी गराएको थियो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेर खानाको समेत व्यवस्था गर्दै आएका दुई हजार ९९१ जनाको सूची नेपाल फर्काउन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको बताइएको छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment