
३१ जेठ, वीरगञ्ज । पर्सामा आइसोलेसनमा बसेको १४ दिन पुगेपछि पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको छ । तीमध्ये चार जनाको कोरोना नै परीक्षण गरिएको छैन । एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
शुक्रबार बेलुका पोखरिया नगरपालिका वडा नं. ९ का २१, ३९, ४२ र ३७ वर्षीय पुरुष तथा जगरनाथपुरका ३७ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।
पीसीआर परीक्षण नै नगरी डिस्चार्ज गरिएको पर्सामा पहिलोपटक हो । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा राखेपछि परीक्षण नै नगरी उनीहरुलाई घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
‘पाँच जनालाई डिस्चार्ज गरेका हौं, जसमध्ये १ जनाको पुरानो क्राइटेरिया मिट भएको छ । बाँकी ४ जनालाई नयाँ गाइडलाइन अनुसार घर पठाएका छौं,’ उनले भने, ‘१४ दिन आइसोलेसनमा बसेपछि संक्रमित संक्रमणमुक्त भइसकेको हुन्छ । उनीहरुले अरुमा संक्रमण सार्ने जोखिम हुँदैन, त्यसैले घर पठाएका हौं ।’
थोरै केसमा बाहेक यसअघि अधिकांश संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि संक्रमणमुक्त भएको अनुभव उनले सुनाए । अस्पतालबाट डिस्चार्ज भएपछि १४ दिन परिवारका सदस्यभन्दा बेग्लै होम क्वारेन्टिनमा बस्न उनीहरुलाई भनिएको छ ।
प्रतिक्रिया 4