Comments Add Comment

क्वारेन्टिनमै बिहे, वडाध्यक्ष बने पुरोहित

२ असार, काठमाडौं । क्वारेन्टिन बसाइलाई कतिपयले परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको रुपमा लिएका छन् । तर त्यही क्वारेन्टिनलाई कसैले वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरको रुपमा पनि उपयोग गरेका छन् ।

यस्तै भएको छ दाङमा । दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । घोराही १८ नवलपुरका २३ वर्षीय कृष्ण वली र घोराही उपमहानगरपालिका ५ जवरपुरकी २१ वर्षीया सीता चौधरीले वर पीपललाई साक्षी राखी बिहे गरेका हुन् । वडाअध्यक्ष भरतमणि अर्यालले वैदिक मन्त्रोच्चारण गरे भने बेहुलाले बेहुलीको खाली सिउँदो भरे । अनि बिहे सम्पन्न भयो ।

वडाअध्यक्ष अर्यालले भने, ‘परिवारका सबै सदस्य भेला हुने स्थिति पनि भएन, मन्दिरसम्म पुगेर बिहे गर्ने अवस्था पनि रहेन । त्यही भएर वरपीपललाई साक्षी राखेर भौतिक दुरी कायम राखेर क्वारेन्टिनमै बिहे गराइदिएँ ।’ बिहेमा केटी पक्षका कोही नरहे पनि केटा पक्षका परिवारका सदस्य भने सहभागी थिए ।

कृष्ण र सीताबीच फेसबुकमार्फत् चिनजान भएको थियो । कृष्ण भारतको नयाँदिल्लीस्थित एक होटलमा काम गर्दथे भने सीता दाङै थिइन् । उनीहरुबीच मायाप्रेम बढेपछि कृष्ण दाङ आएको बेला सीतालाई भारत लिएर गए । भारतबाट फर्किएपछि घर नगई एउटै क्वारेन्टिनमा बसे ।

‘उनीहरु घर छोडेर गएको असारमा ९ महिना पुग्ने रहेछ । घर छोडेको ९ महिनामा बिहे गर्नु हुँदैन भन्ने सामाजिक मान्यताको आधारमा जेठ ३२ गते राति हतार हतारमा बिहे सकाइयो,’ वडाअध्यक्ष अर्यालले भने । उनीहरु क्वारेन्टिनमा बसेको २२ दिन पुगेको र कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि बिहे गराइएको उनले बताए ।

बिहे गराइदिएर वडा कार्यालयले अझै एक सातासम्म छुट्टै बस्न भनेर उनीहरुलाई घर पठाएको छ । कृष्णले आठ कक्षासम्म र सीताले कक्षा १२सम्म औपचारिक शिक्षा आर्जन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment