Comments Add Comment
रूकुम हत्याकाण्डको नालीबेली :

नवराजकी प्रेमिकाको वयान : ‘भोलिपल्ट उनको मृत्यु भएको सुनेँ’

प्रहरी अनुसन्धानको निश्कर्ष : युवतीको परिवार र वडाध्यक्षको योजनामा हत्या

रुकुम घटनामा बेपत्ता भएका व्यक्तिको शव खोज्दै सशस्त्र प्रहरी । अनलाइनखबर अर्काइभ

१ असार, काठमाडौं । रुकुम पश्चिममा जातीय विभेदकै कारण नवराज विकसहित ६ जनाको क्रुर एवं अमानवीय तवरले हत्या भएको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा घटनाको मुख्य कारण जातीय विभेद मानिएको छ भने योजनाकार परिवारका सदस्यलाई मानिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानका आधारमा तयार पारिएको यो अभियोग पत्रसँग मेल खाने प्रतिवेदन गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेत नेतृत्वको छानविन टोलीले पनि सरकारलाई बुझाएको छ ।

आइतबार वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ । र, सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको छ ।

‘परिवारकै योजनामा हत्या’

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर १० जेठमा चौरजहारी वडा नं. ८ मा पुगेका थिए । फेसबुकमा चिनजान भएर प्रेमिका बनेकी मल्ल थरकी युवतीसँग विवाह गर्ने उद्देश्यसहित उनी चौरजहारी पुगेका थिए ।

घटना हुनुअघि दुईपटक प्रेमिका भनिएकी युवती नवराजको घरमा गएर समेत बसेको पाइएको छ । यद्यपि, पछिल्लो समय उनीहरुबीच सुमधुर सम्बन्ध थिएन ।

‘खलंगामा १४ पुसमा रमाइलो मेला लागेका वेला जाँदा नवराजसँग भेट भएकाले उनकै घरमा बास बसेको थिएँ’, युवतीले वयानमा भनेकी छन्, ‘पछि साथी पूजाको भाइको जन्म दिनमा गएको मौकामा पनि भेट भएकाले नवराजकैमा सुतेर भोलिपल्ट घर गएको थिएँ, त्यतिवेला परिवारले मलाई विवाह भएर आएको सोच्नुभएको रहेछ ।’

तर, आफूले विवाह नगरेको बरु नवराजले चाहिँ फोनमा विवाहका लागि प्रस्ताव राख्ने गरेको उनको भनाइ छ ।

‘मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, पछि साथी चरी समेतलाई साथमा ल्याएर म र बज्यै सुतिरहेका बेला झ्यालबाट ढुंगा र मकैको खोया समेतले हानेको थियो’, उनले वयानमा भनेकी छन्, ‘भोलिपल्ट पनि मेरो घर छेऊमा देखेपछि बुबाले सम्झाएर पठाउनुभएको थियो । फेरि बैशाखमा गाउँमा आएका बेला बुबाआमाले थाहा पाएपछि वडाध्यक्षलाई पनि भनेर प्रहरीकहाँ बुझाइदिनुभएको थियो ।’

त्यसपछि नै दुई जनाबीचको सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ । युवतीले वयानका क्रममा फेसबुकमा समेत नवराजलाई ब्लक गरेको बताएकी छन् ।

तर, नवराज गाउँमा आउन नछाडेपछि युवतीका दाइले फेरि घरमा आए मारिदिने योजना बनाएको वयान दिएका छन् । उनले भनेका छन्, ‘निज नवराज विक दलित केटा भएकाले म समेतको घर परिवारको चित्त बुझेको थिएन, निज पटक–पटक आउने गरेकाले पुनः आएमा मारिदिने योजना बनाएका थियौं ।’

आमाले गाली गरेपछि फर्किएका थिए नवराज

घटना भएको दिन दाजु र बुबा घर नजिकै रहेको ढुंगाखानीमा काम गरिरहेका थिए । उनीहरुले नवराजसहितको समूह आउँदै गरेको देखिपछि घरमा रहेकी आमालाई फोन गरेका थिए ।

नवराज युवतीको घरमा पुग्ने वित्तिकै आमाले डुम भनेर नवराजहरुलाई गाली गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । केटीकी आमाले प्रहरीलाई वयानमा भनेकी छन्, ‘मैले जातीय विभेद हुने डुमसमेत भनी गाली गरेपछि निजहरु फर्केर गए ।’ बुबा र दाजु घरमा पुग्दा भने नवराजहरु फर्किसकेका थिए ।

केटीका बुबाले वयानमा भनेका छन्, ‘तलतिर लागेका छन् भन्ने वित्तिकै मैले श्रीमतीलाई तिनीहरु कता जान्छन् पिछा पर्दै गर भनेको थिएँ र त्यही मौकामा मैले प्रतिवादी (वडाध्यक्ष) डम्बरबहादुर मल्ललाई फोन गरेको थिएँ ।’

वडाध्यक्षलाई नवराजसहितको समूह घरमा आएको र के गर्ने भनेर प्रश्न सोधेको उनले वयानमा भनेका छन् । ‘जतिपटक सम्झाउँदा पनि लागेन छ, आज तह लगाउनुपर्छ’, वडाध्यक्षले त्यसबेला भनेको कुरा सम्झिँदै केटीका बुबाले वयानमा भनेका छन्, ‘म अरु सबैलाई खबर गर्छु, पिछा गर्दै गर्नु नियन्त्रणमा लिनुपर्छ भनेकाले मैले उनीहरुको पिछा गरेको हुँ ।’

यो संवादपछि वडाध्यक्ष मल्लले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८ र नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरेर पनि घटनास्थलबारे गलत सूचना दिएर प्रहरीलाई गुमराहमा राखेको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस रुकुम घटनाः आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं

नदीमा हाम नफाल्नेलाई पनि नियन्त्रणमा लिएर हत्या

युवतीका बुबाको वयान अनुसार पिछा गर्दै गरेको अवस्थामा वडाध्यक्ष डम्बरबहादुरहरुसँग उनको भेट हुन्छ । त्यहीँ युवतीका दाइ, प्रेमबहादुर ठकुरी, डिल्ली मल्ल लगायतका प्रतिवादी भेला भएर नवराजहरु भएतिर गएको पाइएको छ ।

त्यसपछि मध्यपहाडी लोकमार्गमा पुग्नै लाग्दा नवराजहरुलाई तलतिर झरेको देखेपछि चारैतिरबाट ढुंगा, लाठी हान्दै लखेट्न थालेको केटीका बुबाको वयान छ । गृहको प्रतिवेदन अनुसार परिवार र गाउँले घरबाट चार किलोमिटरसम्म नवराजहरुलाई लखेटेका थिए ।

औल जिउला भन्ने ठाउँमा पुगेपछि नवराजहरू बाध्य भएर भेरी नगदीको बगरतिर दौडिँदै हाम फालेको पाइएको छ ।

युवतीका बुबाले दिएको बयान अनुसार नवराजको समूहका एक जनालाई प्रेमबहादुर ठकुरी लगायतले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । नवराजसहित अन्यलाई सन्तोष मल्ल, मोहन पुन मगर, विनोद मल्ल, विष्णु मल्ल, टोपबहादुर मल्ल, युवतीका दाइ, डम्बर मल्ल लगायतले पछाडिबाट ढुंगाले हानेर भेरी नदीमा मारेको बुबाले बताएका छन् ।

आफू पनि त्यहाँ गएको बताउँदै उनले प्रहरीसँग बयान दिएका छन्, ‘निजहरुले नदीको बीच भंगालोमा समेत कुटपिट गरिरहेका थिए ।’ नदीमा हाम फाल्न नसक्ने ५ जनालाई नियन्त्रणमा लिएर पनि कुटेको उनले उल्लेख गरेका छन् । नदी तरेका केटाहरुलाई पनि अन्यले कुटपिट गरेको देखेको उनले बयान दिएका छन् ।

युवतीका दाइले पनि नवराजसहितका व्यक्तिको हत्या गरेको बयानमा स्वीकारेका छन् । उनले नदीमा सानो पानी भएको भंगालोबाट पारि बीच बगरमा पुर्‍याएर पनि नवराजलाई लाठी र ढुंगाले टाउकोमा प्रहार गरेको बताएका छन् ।

नवराजसहितको मृत्यु भएपछि भेरी नदीमा बगाइदिएको उनको भनाइ छ । ‘पाँच जना केटाहरुलाई कुटपिट गरी घाइते बनाई नियन्त्रणमा लिएका हौं, भेरी नदीमा मारेर गएर ५ जना केटाहरुलाई समेत केही प्रतिवादीले पौडी खेलेर पारी गएर कुटपिट गरेर नियन्त्रणमा लिएका हुन् ।’

युवतीको वयान : बुबा र दाइले हत्या गरेको पूर्ण विश्वास छ

नवराज लिन गएको भनिएकी युवतीले भने आफू घरको कोठामा टीभी हेरेर बसेकाले नवराज आएको थाहा नपाएको बताएकी छन् ।

‘बहिनी नाता पर्ने सुस्मा मल्लसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ’, उनले भनेकी छन्, ‘बहिनीले त्यो कुरा आमालाई भनेकी रहेछ तर, आमाले मलाई पछि भनेपछि मात्र थाहा भयो ।’

आफू घरबाट बाहिर निस्किँदा गाउँका महिलाहरु जम्मा भए पनि नवराजहरुलाई नदेखेको उनले बताएकी छन् । आफू घटनास्थल पनि नगएको उनको भनाइ छ ।

‘साँझ डिल्ली मल्ल घरमा आएर दुईजना केटाहरु भेरी नदीमा बगेको कुरा आमासँग गरेपछि मात्र घटनाबारे थाहा पाएको हुँ’, उनले भनेकी छन्, ‘भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनेँ ।’

उनले बुबा, दाइ समेतले नवराजलाई लखेट्दै घेरा हालेर कुटपिट गरेर मारेको पूर्ण विश्वास लाग्ने पनि वयानमा बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment