+
+
Shares

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

यो सङ्क्रमणकालीन अवस्थाले इजरायलमा एक अनौठो राजनीतिक परिदृश्य सिर्जना गरेको छ, जहाँ बहालवाला प्रधानमन्त्रीसँग जनमत छैन, तर राज्यका सबैभन्दा शक्तिशाली संस्थाहरूको साँचो भने उनकै हातमा छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलमा राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठनको अवसर दिएका छन्, तर कुनै पनि गठबन्धनले ६१ सिटको बहुमत जुटाएको छैन।
  • कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नयाँ नियुक्ति, सुरक्षा निर्णय र राज्य सञ्चालनका अधिकार राखे पनि नयाँ युद्ध सुरु गर्न मन्त्रिपरिषद्को बहुमत चाहिन्छ।
  • विश्लेषकहरूले नेतान्याहुले सङ्क्रमणकाललाई विपक्षी गठबन्धन तोड्न र आन्तरिक अशान्ति बढाउन प्रयोग गर्न सक्ने चेतावनी दिएका छन्।

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्।

तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा बहुमतका लागि आवश्यक ६१ सिट सुरक्षित गर्न नसकेकाले कसले सरकार बनाउँछ भन्ने अझै स्पष्ट छैन।

आइजेनकोट आफ्नो गठबन्धनका सदस्यहरूसँग छलफल गरिरहेका छन् र अरब पार्टीहरूलगायत सम्भावित बाह्य साझेदारहरूसँग सरकार गठनका लागि वार्ता गरिरहेका छन्।

यता, नेतान्याहु भने कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमै आसिन छन्। यदि आइजेनकोट सरकार बनाउन असफल भएमा, राष्ट्रपति हर्जोगले नेतान्याहुलाई नै सरकार गठनको प्रयास गर्न आमन्त्रण गर्न सक्छन्।

यो सङ्क्रमणकालीन अवस्थाले इजरायलमा एक अनौठो राजनीतिक परिदृश्य सिर्जना गरेको छ, जहाँ बहालवाला प्रधानमन्त्रीसँग जनमत छैन, तर राज्यका सबैभन्दा शक्तिशाली संस्थाहरूको साँचो भने उनकै हातमा छ।

‘नेतान्याहुले सरकार बनाउने प्राथमिकता गुमाएका छन्, तर वर्तमान प्रधानमन्त्रीको पद गुमाएका छैनन्,’ राजनीतिक विश्लेषक तथा इजरायलका प्यालेस्टाइनी नागरिक इहाब जबारिनले भने, ‘उनको शक्ति अब यस कुरामा निहित छ कि उनका विरोधीहरूलाई उनलाई हटाउन कुनै सम्झौताको आवश्यकता छ र उनीहरूबीचको मतभेद नै नेतान्याहुको वर्तमान (राजनीतिक) बचाउको कारण हो।’

यस बीचमा इजरायल एउटा संवैधानिक विरोधाभासमा फसेको जबारिनले बताए। अर्थात्, प्रधानमन्त्रीसँग जनमत छैन, तर उनी सत्तामा छन्। त्यसोभए इजरायलका लागि यसको अर्थ के हो र कामचलाउ प्रधानमन्त्रीका रूपमा नेतान्याहुले कस्ता अधिकारहरू प्रयोग गरिरहेका छन् ?

अवस्था कस्तो छ ?

इजरायलको कुनै एउटै लिखित संविधान छैन, बरु यसले आधारभूत कानुनी सिद्धान्तका रूपमा आधारभूत कानुनहरूको शृङ्खलामा निर्भर रहन्छ।

इजरायलको आधारभूत कानुन: सरकारको धारा ३० अन्तर्गत, नयाँ सरकारले शपथ नलिएसम्म निवर्तमान प्रशासनले बिना कुनै बाधा काम गरिरहन्छ।

‘परिणामस्वरूप, सरकारको निरन्तरताको सिद्धान्त अन्तर्गत नेसेटमा नयाँ सरकारले विश्वासको मत प्राप्त नगरेसम्म नेतान्याहु र उनको सरकारले काम गरिरहनेछन्,’ जबारिनले भने, ‘र यस अवधिमा, सरकारसँग राज्य सञ्चालन, सुरक्षा र विदेश सम्बन्ध व्यवस्थापनका अधिकारहरू रहन्छन्, तर यसको प्रयोग संयमता र सीमितताको दायराभित्र रहनुपर्छ।’

सुरक्षा र युद्धसम्बन्धी अधिकार

नेतान्याहुको कामचलाउ स्थितिलाई लिएर सबैभन्दा ठूलो चिन्ता सेनामाथिको उनको अधिकारलाई लिएर छ।

उनीसँग नयाँ नियुक्ति गर्ने र सुरक्षासम्बन्धी निर्णय लिने अधिकार छ। तर, उनका कुनै पनि कदममाथि अब विशेष निगरानी हुनेछ। जबारिनका अनुसार उनीसँग कानुनी अधिकार त छ, तर उनीसँग आवश्यक वैधानिकता भने बाँकी छैन।

नेतान्याहुले कार्यकारी शाखाको नेतृत्व गरे तापनि, आधारभूत कानुन: सरकारको धारा ४० ले मन्त्रिपरिषद्ले मतदान गरेर बहुमतले पारित गरेमा मात्र नयाँ युद्ध सुरु गर्ने अधिकार दिन्छ। नेतान्याहुले एक्लै नयाँ द्वन्द्व सुरु गर्न सक्दैनन्।

तर, नेतान्याहुले रणनीतिक रूपमा वर्तमान द्वन्द्वहरूलाई प्रभावित पार्न वा म्यानुपुलेट गर्न भने सक्छन्। ‘सबैभन्दा सम्भावित परिदृश्य पक्कै पनि शून्यबाट युद्ध सुरु गर्नु होइन। हामी भइरहेको खतरालाई भड्काउने र प्रयोग गर्ने कुरा गरिरहेका छौँ। हामी इरान र लेबनानको कुरा गरिरहेका छौँ,’ जबारिनले भने।

आइजेनकोट र उनका सहयोगीहरू हालको सुरक्षा क्याबिनेटका सदस्य नभएकाले, नेतान्याहुको गुप्तचर सूचनाहरू कसरी प्रस्तुत गरिन्छ भन्ने कुरामा असीमित प्रभाव छ।

‘मन्त्रीहरूसामु कुन कुरालाई नियन्त्रण गर्न सकिने खतराका रूपमा प्रस्तुत गरिन्छ ? र कुन कुरालाई ढिलाइ गर्न नहुने (सम्भावित आक्रमणका लागि) अन्तिम अवसरका रूपमा प्रस्तुत गरिन्छ ? क्याबिनेटमा पुग्ने सूचनालाई लिएर प्रधानमन्त्रीको यो अतिरिक्त जिम्मेवारीले विकल्पहरूको प्रस्तुतिलाई अत्यन्तै महत्त्वपूर्ण बनाउँछ,’ जबारिनले प्रस्ट्याए।

इजरायलको आन्तरिक गुप्तचर एजेन्सी शिन बेटले सिधै प्रधानमन्त्रीलाई रिपोर्ट गर्छ। नेतान्याहु कामचलाउ प्रधानमन्त्री हुँदा पनि यो व्यवस्थामा कुनै परिवर्तन हुँदैन।

विधायिकी सीमितता

नेतान्याहुले सुरक्षा बलहरूको नेतृत्व गरे पनि, उनको घरेलु र विधायिकी शक्तिहरूमा भने कार्यात्मक सीमाहरू छन्।

इजरायली मामिलाका जानकार तथा लेखक मायसरा बहरका अनुसार, नेतान्याहुले गर्ने आर्थिक निर्णयहरूले आगामी सरकार जसले बनाए पनि असर पार्न सक्छ।

‘नेतान्याहुले आगामी सरकारको काममा बाधा पुर्‍याउने गरी केही कदमहरू चाल्न सक्छन्,’ बहरले भने। जसले गर्दा नयाँ सरकारले ठूलो ऋणभार विरासतमा पाउन सक्छ।

यद्यपि, नेतान्याहुले लामो समयदेखि चलिरहेको भ्रष्टाचारको मुद्दाबाट आफूलाई बचाउन कुनै नयाँ कानुन पास गराउन भने सक्दैनन्।

राजनीतिक चलखेल

जबारिनका अनुसार नेतान्याहुले आफ्नो निरन्तरको प्रधानमन्त्री पदलाई विपक्षी गठबन्धनलाई तोड्नका लागि प्रयोग गरिरहेका छन्।

उदाहरणका लागि, नेतान्याहुले आइजेनकोटको गठबन्धन अरब पार्टीहरूमा निर्भर हुन सक्ने भन्दै यहुदी मतदाता र उनीहरूको प्रतिनिधित्व गर्ने पार्टीहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

बहरले नेतान्याहुले सत्तामा टिकिरहन जे पनि गर्न सक्ने भएकाले यो सङ्क्रमणकाललाई भत्काउन आन्तरिक अशान्तिलाई प्रोत्साहन दिन सक्ने भन्दै चेतावनीसमेत दिएका छन्।

इजरायलको सङ्क्रमणकाल अन्य देशसँग कति मिल्दोजुल्दो ?

इजरायलको सङ्क्रमण प्रक्रिया अन्य संसदीय लोकतन्त्रहरू भन्दा धेरै फरक छैन।

उदाहरणका लागि बेलायत र भारतमा पनि कामचलाउ प्रधानमन्त्रीहरूसँग निर्वाचित जनादेश प्राप्त प्रधानमन्त्रीहरू सरह नै कानुनी अधिकार हुन्छ।

यद्यपि, संवैधानिक परम्परा र मान्यताहरूले कामचलाउ सरकारलाई युद्धसम्बन्धी प्रश्नहरूसहित प्रमुख नीतिगत निर्णयहरू लिनबाट भने बञ्चित गर्छन्।

अर्कोतर्फ, अमेरिकामा निवर्तमान राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको शपथग्रहणसम्म साढे दुई महिनाको कडा समयसीमाभित्र रहेर काम गर्छन्। यस अन्तरिम अवधिमा सङ्क्रमण, बजेट र नियुक्तिहरूलाई लिएर अमेरिकी संसद्को कडा निगरानी रहन्छ। (अल जजिराबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?