Comments Add Comment

गृहको प्रतिवेदन : रुकुम घटनाको योजनाकार वडाध्यक्ष !

१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनिएको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले बताएको छ ।

उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू छिरेभन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पाइएको छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर स्थान भने उल्टो बताइदिए । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरूलाई छेक्ने योजना बनाएका रहेछन् ।’

वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी सो समयमा घटनास्थलमा पुग्न नसकेको पाइएको छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘गाउँलेलाई भेला गरेर धेरै टाढा पुगिसकेको पीडितलाई पिछा गरेर ढुंगा, मुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।’

वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐनअनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

मल्लको दाबी – मैले कसैलाई कुटेको छैन

हाल प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष मल्लले भने आफूले नै गलत सूचना पाएको प्रहरी समक्ष दाबी गरेका छन् । उनले घटना भएको दिन आफू क्वारेन्टिनको अवलोकनमा रहेको बताउँदै भनेका छन्, ‘नगरपालिकाका स्वयंसेवकहरू पनि क्वारेन्टिन अवलोकन गर्न आएकाले उनीहरूलाई पनि केटाहरू आएको जानकारी गराई नियन्त्रणमा लिनुपर्छ भनी म गाउँतिर गएको हो ।’

आफू गाउँमा पुग्दा केटाहरूलाई नदेखेको बताएका छन् । तर खोज्दै जाँदा घटनास्थल भएको स्थानमा एक जना कार्की थरका केटालाई प्रेमबहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको बताएका छन् । ‘अन्य प्रतिवादीहरू पछाडिबाट दौडिँदै आउँदै थिए, अन्य केटाहरू मभन्दा अगाडि नदी बगरतिर गइसकेका रहेछन्’, उनको दाबी छ, ‘मैले कसैलाई कुटपिट गरेको होइन ।’

रुकुम घटनाबारे गृह मन्त्रालयले प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment