Comments Add Comment

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो

दूतावासका कर्मचारीको रुखो जवाफ- उद्धार गर्ने काम हाम्रो होइन, तपाईं आफैँको हो !

२ असार, यूएई । यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ। नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

असार २ र ४ गते नेपाल एयरलाइन्समार्फत यूएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्द गरिएकोबारे सूचना आइतबारै दूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि दूतावासले अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

स्वदेश फर्काइदिन माग गर्दै दूतावास पुगे पीडित

तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरू थप अन्यौलमा परेका छन् । उनीहरू स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

हेर्नुहोस् भिडियो

सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरू श्रम गर्न आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ थियो ।

दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरूलाई सम्झाउँदै थिए । आफूहरू पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

तर कर्मचारीहरूले उद्धार गर्ने काम आफूहरूको नरहेको भन्दै रुखो जवाफ फर्काएका थिए । दूतावासका कर्मचारीहरूको व्यवहारले पीडित झनै आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment