+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

फेसबुक बहिष्कार गर्नेमा कोकाकोला थपियो, जुकरबर्गले एक दिनमै गुमाए ७ अर्ब डलर

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १४:२५

कोकाकोला कम्पनीले सबैखाले सोसल मिडिया प्लाटर्फमहरुमा विज्ञापन बन्द गरेको छ । सोसल मिडियाहरुमा घृणाजन्य अभिव्यक्ति तथा सामग्रीहरु फैलिरहेको भन्दै कोकाकोलाले तत्कालका लागि ३० दिनसम्म विज्ञापन रोकेको हो ।

कोकाकोला कम्पनीका सीईओ जेम्स क्विन्सीले भनेका छन्, ‘अहिले जातीय विभेदका लागि विश्वका कुनै ठाउँ छैन र सोसल मिडियामा पनि यसले ठाउँ पाउनु हुँदैन ।’

साथै उनले अत्यधिक उत्तरदायित्व तथा पारदर्शिता कायम गर्नसमेत सोसल मिडियाहरुसँग माग गरेका छन् ।

स्मरण रहोस् हालैमात्र टिम्बरल्याण्ड तथा नर्थफेसलगायतका ब्राण्डहरुले फेसबुकमा विज्ञापन बन्द गरेको घोषणा गरेका थिए । त्यो सँगै फेसबुकले आफ्नो प्लाटर्फममा आउने हानिकारक तथा गलत पोष्ट तथा समाचारहरुलाई छुट्टाइदिने घोषणा गरेको थियो ।

साथै कुनै निश्चित जाति, उत्पत्ति, राष्ट्रियता, धर्म तथा लैंगिकता भएका वा आप्रवासीहरुको हैसियतमा रहेका मानिसहरु अरु कोही मानिसका लागि खतराको रुपमा रहेको भन्ने सामाग्री तथा दाबीहरु राखिएका कुनैपनि विज्ञापनलाई फेसबुकमा बन्देज लगाइने समेत सीईओ मार्क जुकरबर्गले बताएका छन् ।

तर घृणाजन्य अभिव्यक्ति तथा गलत सूचना फैलाउनका लागि फेसबुकले प्रभावकारी कदम नचालेको #StopHateforProfit नामक अभियानको आरोप छ । उक्त अभियानका आयोजकका अनुसार फेसबुकले सानो संख्यामा गरिने सानो खाले परिवर्तनले समस्या समाधानका लागि कुनै पनि भूमिका खेल्नेछैन । अभियानमा अहिलेसम्म ९० भन्दा धेरै कम्पनीहरुले एक्येबद्धता जनाउँदै फेसबुकमा विज्ञापन बन्द गरिसकेका छन् ।

कम्पनीहरुको बहिष्कारसँगै फेसबुकको शेयर मूल्यमा शुक्रबार ८.३ प्रतिशतको गिरावट आएकेा थियो । जसका कारण कम्पनीले एकै दिनमा ५६ अर्ब डलर गुमाएको थियो । संस्थापक तथा सीईओ मार्क जुकरबर्गले मात्रै एकदिनमा ७ अर्ब २० करोड डलर गुमाएका थिए ।

फेसबुकको शेयर मूल्यमा आएको उक्त गिरावट सँगै विश्वका अर्वपतिहरुको सूचिमा समेत जुकरबर्ग एक स्थान तल झर्नुपरेकेा छ । यसअघि तेश्रो स्थानमा रहेका जुकरबर्गलाई लुईस वटन कम्पनीका मालिक बर्नार्ड आर्नोल्टले पछि पारेका छन् ।

तर कोकाकोलाले भने सोसल मिडियाहरुमा विज्ञापन रोक्ने आफ्नो निर्णय #StopHateforProfit नामक अभियान अन्तरर्गत नभई आफ्नो स्वतन्त्र निर्णय भएको जनाएको छ ।

तत्कालका लागि सोसल मिडिया प्लाटर्फममा दिँदै आएको विज्ञापन स्थगत गरी भविष्यमा कस्तो खाले सुधार आवश्यक छ भन्ने कुराका लागि विज्ञापन नीतिमा समीक्षा गरिने कोकाकोला कम्पनीका सिइओको भनाइ छ ।

उता विश्वको सर्वाधिक लोकप्रिय कफी ब्राण्ड स्टारबक्ससँगै युनिलिभर तथा डियाजियोलगायतका कम्पनीहरुले समेत सोसल मिडिमा विज्ञापन बहिष्कारको घोषणा गरिसकेका छन् । स्टारबक्सका अनुसार सोसल मिडियामा गरिएको यस्तो बन्देज युट्युबको हकमा भने लागु हुनेछैन ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?