Comments Add Comment

गण्डकी प्रदेशमा थपिए १५ कोरोना संक्रमित

२८ असार, पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना छन् । उनीहरुमध्ये ब्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ३० र ५६ वर्षीय ३ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय एकजना पुरुष छन् ।

त्यस्तै, पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष छन् । साथै, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एकजना पुरुष र गोरखाको सिचारनचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरु षमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

आधाभन्दा धेरै डिस्चार्ज

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आइतबारसम्म ११९२ पुगेको छ । तर आधाभन्दा धेरै अर्थात ७३६ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ । उपचारका क्रममा स्याङजाका २ जना संक्रमितको पोखरामा मृत्युको थियो । त्यस्तै, गोरखाको एक संक्रमितको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

बागलुङमा एकजना पुरुषको क्वारेन्टिनमै मृत्यु भएपश्चात कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पहिलेदेखि नै बिरामी थिए । उपचारका लागि भारत गएका उनी त्यहाँ उपचार सम्भव नभएपछि नेपाल फर्किएर क्वारेन्टिनमा बसेकैबेलामा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment