Comments Add Comment

सीमा क्षेत्रको भारतीय बाँधबारे नेपालले भारतसँग वार्ता गर्ने

२ साउन, काठमाडौं । नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी उक्त निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल डाँक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिए ।

दुवै देशका सह-सचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् ।

‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआईएफएमको बैठक डाक्नुस् ।’

मन्त्री पुनले वर्षातको समयमा बाढी पहिरोको उच्च जोखिम भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।

‘बाढी, पहिरो र डुबानका कारण मानवीय र अरु क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्’, उनले भने, ‘यदि अकल्पनीय अवस्था आएमा जनशक्ति र साधन श्रोतको कमी नहोओस् ।’

उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधान श्रोतको कुनै कमी हुनन दिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भएपनि उद्धार तथा प्रकोप रोकथाममा लाग्ने गरी तयारी गर्न कर्मचारीलाई आग्रह गरे ।

यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालयअन्तर्गतका निकायहरुबाट सूचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि नको निर्देशन छ ।

नियमित कार्यतालिकाअनुसार जेसीआईएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए ।

‘नियमित बैठक नोभेम्बरमा बस्ने हो’, श्रेष्ठले भने, ‘मन्त्रीज्यूबाट निर्देशन भए अनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्छौं ।’

सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताए ।

छलफलमा सचिवश्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप-महानिर्देशक प्रदीप थापा लगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे मन्त्री पुनलाई अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment