+
+
Shares

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी

विनोद घिमिरे विनोद घिमिरे
२०७७ असार २९ गते १९:१०

२९ असार, काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ ।

लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो ।

हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो ।

आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’

यसरी पास गराउन खोजियो

अधिकृत शाहीले छोरीलाई (अब्जेक्टिभ) वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तर ‘क्यापिटल’ नभई ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए । उनकी छोरीले त्यसै गरिन् । उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘स्मल’ ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ पनि बनाएर सच्याए ।

नतिजा प्रकाशन हुँदा उनकी छोरीको वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिल्यो । अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम एक नम्बरमा थियो । उनको प्राप्ताङ्क अस्वाभाविक लागेर सचिव आनन्दराज ढकालले पुनः छानबिन गर्न निर्देशन दिए । छानबिन गर्दा बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको खुलेको हो । विधि विज्ञान प्रयोगशालाले पनि उत्तरपुस्तिका सच्याएको प्रमाणित गरेको छ।

लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले अनलाइनखबरसँग भने, ‘हाम्रो सिस्टम नै यस्तो छ कि हरेक गतिविधि कहीँ न कहीँ ट्र्याक भइहाल्छ ।’

स्रोतका अनुसार अधिकृत शाहीले उत्तीर्ण परीक्षार्थीहरुको सूचीमा आफ्नी छोरीको नाम एक नम्बरमा राखेर अन्तिम नतिजा प्रकाशनको निर्णयको प्रस्ताव सचिव ढकालसमक्ष लगेका थिए । तर, ढकालले त्यसमा हस्ताक्षर गर्न मानेनन् । अधिकृत शाहीले भने तत्कालै  निर्णय गरेर नतिजा सार्वजनिक गर्न जोडबल गरे । तर नतिजा रोकेर कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । छानविन समितिले, अधिकृत शाहीले अनियमितता गरेको निष्कर्ष निकाल्यो ।

शाहीको स्पष्टीकरण

आफ्नो परिवारको कुनै सदस्यले लोक सेवाको परीक्षा दिँदै छ भने आयोगको कर्मचारी परीक्षा सन्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी लगायतका कुनै पनि गतिविधमा संलग्न नहुने प्रचलन छ । परीक्षा सुरु हुनुअघि नै आयोगका कर्मचारीले आफ्नो परिवारको सदस्य परीक्षामा सहभागी हुन लागेको पूर्वसूचना सचिवलाई लिखित जानकारी दिने र बाँकी प्रक्रियाबाट आफैं अलग हुने प्रचलन छ ।

सोहीअनुसार अधिकृत शाहीले आफ्नी छोरीले वायु सेवा निगमको परीक्षा दिन लागेको पूर्व जानकारी दिएका थिए । तर पनि उनी उत्तरपुस्तिका परीक्षण, नतिजा तयारीलगायतका काममा संलग्न भएको खुलेको छ ।

अनियमितता गरेको खुलेपछि लोक सेवा आयोगले शाहीसँग सुरुमा स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही गरेको हो ।

पहिलो घटना होइन

लोक सेवा आयोगमा यस्ता छिटपुट घटना यसअघि पनि भएका छन् । तर, अन्तिम नतिजा प्रकाशित हुनुअघि नै अनियमितता सार्वजनिक भएपछि त्यस्ता परीक्षा रद्द हुने गरेको छ ।

यसअघि शैक्षिक जनशक्ति विकास केन्द्रका तत्कालीन कार्यकारी निर्देशक (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव) सूर्य प्रसाद गौतमले लोक सेवा परीक्षा दिएकी आफ्नै श्रीमती इन्दिरा ढकाल गौतमको उत्तर पुस्तिका जाँचेर विद्यालय निरीक्षक पदको लिखित परीक्षा पास गराएका थिए ।

यसैगरी अर्का पूर्व शिक्षा सचिव रामस्वरुप सिन्हाले आफ्नी छोरी अन्तिमा कुमारी सिन्हाको उत्तरपुस्तिका आफैं जाँचेर पास गराएका थिए । लोक सेवा आयोगको प्रश्नपत्र पनि उनीहरुले नै बनाएका थिए ।

यो कुरा सार्वजनिक भएपछि दुवै परीक्षार्थीहरुको परीक्षा आयोगले रद्द गरेको थियो । तर सूर्य प्रसाद गौतम भने सर्वोच्च अदालतबाट सफाइ पाएर चोखिए । गौतमको पक्षमा अधिवक्तासमेत रहेका नेकपा नेता सुवास नेम्वाङ, हरिहर दाहाललगायतले वकालत गरेका थिए ।

लाजमर्दो कुरा त के भने तिनै सूर्यप्रसाद गौतम उत्कृष्ट निजामती सेवा पुरस्कार पाएर नेपाल सरकारबाट सम्मानित भएका थिए ।

यसैगरी लोक सेवा आयोग पोखरा कार्यालयबाट २०७५ मंसिर ९ गते लिइएको अहेब पदको अन्तरर्वार्ता परीक्षामा पास गराइदिने भन्दै एक परीक्षार्थीबाट एक लाख रुपैयाँ घुस लिएका स्वास्थ्य मन्त्रालयका ११ औं तहका डा. तारानाथ पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

आयोगले सो अन्तर्वार्ता रद्ध गरेको थियो । त्यसपछि छुट्टै अन्तर्वार्ता समिति बनाएर पुनः अन्तर्वार्ता लिएर नतिजा प्रकाशित गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?