Comments Add Comment

३ प्रतिशतले घट्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो ७७४ अर्ब

१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे ११ महिनाको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स ३ प्रतिशतले कमी आएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार  गत आर्थिक वर्षको जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने १२.४ प्रतिशतले कमी आएको राष्ट्र बैंकले बताएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३५.७ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment