Comments Add Comment

देउवाले गरेको मनोनयनविरुद्ध तीन पदाधिकारीले दिए उजुरी

१ साउन, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित गर्ने उद्देश्यका साथ विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको नेताहरुको आरोप छ ।

‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं’ उजुरीमा भनिएको छ ।

विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवले बताएका छन् । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

पौडेल समूहको बहिस्कारका बीच गत पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरु बढाउने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिकाबारे संस्थापन र पौडेल समूहबीच सहमति भएपनि विभागबारे विवाद कायमै थियो ।

तर देउवाले आफू निकटका नेताहरुलाई विभाग प्रमुख र सदस्यहरु मनोनित गर्दै आएका छन् ।

हेर्नुहोस् उजुरीपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment