Comments Add Comment

हवाई-पर्यटन खोल्ने योजना नल्याए आन्दोलनमा जाने व्यवसायीको चेतावनी

१ साउन, काठमाडौं । हवाई, होटेल तथा पर्यटन उद्योग सञ्चालनको योजना नल्याए आन्दोलनमा जाने चेतावानी व्यवसायीले दिएका छन् । बिहीबार पर्यटनसँग सम्बन्धित करिब २ दर्जन संघसंस्थाले पत्रकार सम्मेलन गर्दै सरकारलाई सेवा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

व्यवसायीले १ अगष्टबाट आन्तरिक उडान नियमित तालिका अनुसार सुरु गर्नुपर्ने माग गरेका छन् । १५ अगष्टबाट अन्तर्राष्ट्रिय उडान तालिका अनुसार सूचारु गर्नुपर्ने र अहिले भइरहेको महंगो शूल्कको चार्टर्ड उडान समेत बन्द गर्न व्यवसायीले माग गरेका छन् ।

अहिले नियमित उडान नभएको समयमा नेपालीले मँहगो शूल्कमा यात्रा गर्नुपरेको भन्दै व्यवसायीले अब नियमित उडान सुरु गरी यात्रा सहज बनाउन माग गरेका छन् ।

यसबीचमा स्वास्थ्य मन्त्रालय र नेपाल सरकारका अन्य निकायले जारी गरेको सुरक्षा निर्देशका भने पूर्ण पालना गर्न तयार रहेको व्यवसायीले जनाएका छन् ।

‘अब के हुन्छ, सरकारले त्यसको ग्यारेन्टी दिनुपर्छ, हामी कहिलेसम्म बन्दाबन्दीमा बस्ने हो ?,’ होटेल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, व्यवसायीलाई निकास चाहियो ।’

बैंक, कर्मचारी, घरबेटी, आफ्नो घर परिवारको दायित्वले थिचिएका व्यवयायीको समस्या कसले बुझ्ने भन्दै उनले अब सरकारले निकास दिनुपर्ने उल्लेख गरे । नेपाल एशोसिएशन अफ ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँले सरकारले एक साताभित्र व्यवसाय सञ्चालनको उचित योजना नल्याए व्यवसायीले चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

पर्यटन क्षेत्रको दिगो विकासको परिकल्पना साथ नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको सन्दर्भमा व्यवसायीले ठूलो लगानी संकटमा रहेको समेत बताएका छन् । सरकारले चैत ११ मा घोषणा गरेको पूर्णबन्दाबन्दी पछि व्यवसाय ठप्प रहेको गुनासो व्यवसायीले गरेका छन् ।

वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिएर हवाई सेवा संचालन गर्न प्रतिवद्ध रहेको भन्दै सरकारले वातावरण बनाउनुपर्ने माग गरे ।

व्यवसायीले होटल, रिसोर्ट, होमस्टे, हवाई तथा सार्वजनिक, पर्यटक सवारी यातायात लगायत समग्र पर्यटकीय क्षेत्रहरु पूर्णतः बन्द गर्दा लाखौंको रोजगारी धरापमा परेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

व्यवसायीले पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशील तथा चलायमान बनाउनेतर्फ तत्काल पहल गर्नुपर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment