Comments Add Comment

कोरोनाबाट नेपालमा ‘३९ औं मृत्यु’ अन्य भन्दा ‘फरक’

३१ असार, काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत विद्यालयको क्वारेन्टिनमा बसे  । २४  गतेदेखि क्वारेण्टिन बसेका उनको २८ गते स्वाब संकलन गरेर हेटौंडा प्रयोगशालामा पठाइयो । २९ गते वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल पुगेका उनको ३१ गते मृत्यु भयो ।

अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार उनी अस्पताल पुग्दा सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्यमा समस्या थिएन् । न सुगर थियो, न मुटु तथा किड्नीको समस्या । उमेर पनि ३६ वर्ष मात्र थियो । पिसाबमा पनि कुनै ‘इन्फेक्सन’ थिएन ।

पटकपटक स्वास्थ्य जाँच गर्दा पनि शरीरका सबै अंगले राम्रोसँग काम गरिरहेको थियो भने अक्सिजनदेखि मुटुको चालमा कुनै गडबढी थिएन । अर्थात उनको स्वास्थ्य जटिल अवस्थामा गुज्रिएको या गुज्रिँदै गएको कुनै पनि मेडिकल संकेत चिकित्सकहरूले पाएनन् ।

‘रातिसम्म खाना खाएर बोल्दै हिड्ने गरेको बिरामीलाई बिहान एकाएक स्वास्थ्यमा समस्या आयो’  डाक्टर सिहले भने, ‘यसरी छोटो समयमा स्वास्थ्य अवस्था अकस्मात परिवर्तन भएर मृत्यु भएको पहिलो केस हो ।’

डा सिंहका अनुसार युवा राति ९ बजे खाना खाएर सुत्नु अघि सामान्य थिए ।  अक्सिजनको मात्र ९२ देखि ९५ प्रतिशत थियो । मुटुको चाल एकदम ठिक थियो । तर, भोलिपल्ट बिहान सात बजे स्वास्थ्यमा एकाएक समस्या आयो । शरीरमा अक्सिजनको मात्रा ५५ प्रतिशतमा झर्यो । उनले छिटोछिटो सास फेर्न थाले । बोली लरबरिँदै गयो । उनी एकाएक अचेत अवस्थामा पुगे । लगत्तै अक्सिजन दिइयो । अन्य उपचार विधि अपनाइयो, तर अवस्था सुध्रिने छाटकाट देखिएन ।

‘बिहान ८ बजे हामीले भेण्टिलेटरमा हालिसकेका थियौं’ डाक्टर सिंहले अनलाइनखबरसँग भने, ‘तर, भेण्टिलेटरमा राख्दा समेत बचाउन सकिएन ।’

दिउँसो साढे २ बजेतिर उनको निधन भयो ।

नेपालमा कोभिड संक्रमित भएर मृत्यु भएका ३९ मध्ये यो फरक केस भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्याय बताउँछन् । ‘यो भन्दा अगाडि मृत्यु हुने मानिसहरु कुनै न कुनै रोगले ग्रसित थिए, उमेर पनि बढी थियो र अन्य दीर्घरोग भएरै अस्पतालमा भर्ना भएका थिए’ डाक्टर उपाध्याय भन्छन्, ‘तर यो केसमा मृतकको ट्राभल हिस्ट्री थियो र छिट्टै समस्या देखिएर निधन भयो ।’

यो केसले नेपालमा कडा कोभिड देखिएको संकेत गरेको डाक्टर उपाध्याय बताउँछन् । हुन पनि यसअघि कोरोना संक्रमणका कारण भएका मृत्यहहरु हेर्ने हो भने संक्रमित हुनु अघि पनि स्वास्थ्यमा कुनै न कुनै समस्या थियो । अस्पतालमा पुर्याउनुअघि मृत्यु भएको घटनाहरु पनि छन् । ।

यो केस धेरै कारणले फरक छ । किनकि, यो क्वारेण्टिन स्थलको मृत्यु होइन । यो अस्पताल लाँदालाँदै बाटोमा भएको मृत्यु पनि होइन । कुनै दीर्घरोगीलाई कोरोना संक्रमण भएर भएको मृत्यु पनि होइन ।  यो त  भेण्टिलेटरमा राखेको ५ घण्टापछि मृत्यु भएको केस हो ।

यस्ता केसहरुको स्वास्थ्य मन्त्रालयले छुट्टै अध्यन गर्नुपर्ने संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा ज्यान गुमाउनु नपर्ने धेरै कोभिड संक्रमितको मृत्यु भएको छ । त्यसको कारण खोज्न स्वास्थ्य मन्त्रालयले ढिलो गरेको उनको आरोप छ ।

चिकित्सकहरूका अनुसार कोभिड-१९ भाइरसले मुटुमा रगत पुर्याउने नलीलाई क्षति गर्छ । त्यसो हुदाँ मुटुमा रगत पुग्दैन भने फोक्सोमा रगत जम्न सक्छ । सोही कारण  मानिसको अकस्मात मृत्यु हुने गर्छ । कोरोना संक्रमण भएका विरामी यसरी मृत्यु हुनु नौलो होइन ।

‘भाइरसले मानिसको मुटु तथा फोक्सोमा अकस्मात एट्याक गर्ने भएकाले संक्रमण भएको केही क्षणमा मानिसको मृत्यु हुन सक्छ’ डाक्टर सुवेदी भन्छन्, ‘तर यो केसमा यस्तै भएको हो भन्ने कुरा अध्यन बिना बोल्न मिल्दैन, यो त सम्भावना मात्रै हो ।’

विज्ञ फरेन्सिक एक्सपर्टहरुलाई यस्ता केसहरुको अध्यन गर्न स्वास्थ्य मन्त्रालयले समन्वय गर्नु पर्ने डाक्टर सुवेदीको तर्क छ । उनका अनुसार यस्ता बिरामीको मृत्यु भएपछि मुटु तथा फोक्सोका विज्ञ चिकित्सकले सुरक्षा सतर्कता अपनाएर कोरोना भाइरसले मृत्यु भएका व्यक्तिको मुटु र फोक्सोमा कस्तो असर गरेको थियो भनेर निष्कर्ष निकाल्नुपर्छ ।

‘फरेन्सिक एक्सपर्ट र सम्बन्धित विज्ञहरुको निष्कर्षलाई आधार मानेर अटोप्सी गरे सत्य तथ्य पत्ता लाग्छ’ डा सुवेदीले भने, ‘अकस्मात मानिस मरेकै आधारमा कडा कोभिडको संक्रमण भयो भन्न मिल्दैन ।’

तर मन्त्रालयले बेवास्ता गर्दा पछि झन ठुलो समस्या निम्तन सक्ने उनको तर्क छ । उनी भन्छन्, ‘ नेपालको पछिल्लो मृत्यु अरु केसको मृत्यु भन्दा फरक देखिन्छ , तर अध्ययन बिना यही हो भनिहाल्नु उचित हुन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment