News Summary
Generated by OK AI. Editorially reviewed.- मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोपमा भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँ दिल्लीमा आन्दोलन चर्किएको छ।
- अल इन्डिया स्टुडेन्ट्स युनियनकी राष्ट्रिय अध्यक्ष नेहा बोरा ‘फ्ल्याश प्रोटेस्ट’ र ‘असली र हमशक्ल’ रणनीतिबाट दिल्ली पुलिसलाई चुनौती दिँदै पुनः प्रदर्शनमा उत्रिएकी छन्।
- सीजेपीले जन्तर मन्तरमा प्रदर्शनको नयाँ मिति माग गर्दै शान्तिपूर्ण रहन समर्थकलाई आग्रह गरेको छ, तर नेहा बोरासँग रणनीतिक दूरी बढेको छ।
२७ असोज, काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै नयाँ दिल्लीमा जारी आन्दोलन चर्किएको छ। मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नागरिकको नाम हटाइएको आरोप लगाउँदै सडकमा उत्रिएका प्रदर्शनकारीहरू र दिल्ली पुलिसबिच कडा तानातान भइरहेको छ।
यसै क्रममा कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी-लेनिनवादी) लिबरेसनको विद्यार्थी सङ्गठन ‘अल इन्डिया स्टुडेन्ट्स युनियन’ (आइसा) की २९ वर्षीया राष्ट्रिय अध्यक्ष नेहा बोरा आफ्नो ‘फ्ल्याश प्रोटेस्ट’ र रणनीतिबाट दिल्ली पुलिसका लागि मुख्य चुनौती बनेकी छन्।
ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सौरव दास र आशुतोष राङ्काले अक्टोबर १० देखि दिल्लीको जन्तर मन्तरमा प्रदर्शनको आह्वान गरेका थिए। तर, दीपकेसहितका मुख्य नेताहरूलाई दिल्ली विमानस्थलबाटै पुलिसले नियन्त्रणमा लियो।
जन्तर मन्तर जाने बाटो बन्द गरिएपछि नेहा बोराले १० किलोमिटर टाढा रहेको ‘दिल्ली हाट’ मा मानिसहरूलाई भेला हुन अपिल गरिन्। सामाजिक सञ्जाल एक्समा ‘आज दिल्ली हाट नै जन्तर मन्तर बन्नेछ’ भन्दै उनले सुरु गरेको प्रदर्शनपछि पुलिसले उनलाई हिरासतमा लिएको थियो।
हिरासतमा रहेकै अवस्थामा पनि बोराले भिडियो सन्देश जारी गर्दै जहाँ हुनुहुन्छ त्यहीँबाट विरोध जारी राख्न आह्वान गरिन्।
बसभित्रैबाट उनले भनिन्,’यो बसमा चारवटा ‘सेल’ बनाइएका छन् र सास फेर्नसम्म ठाउँ छैन। के हिरासतमा लैजाने बसहरूलाई जेलमा परिणत गरिँदैछ? सिर्फ ज्ञानेश कुमारलाई जोगाउनका लागि सर्वसाधारणमाथि किन यति धेरै हिंसा र दमन?’
‘असली र हमशक्ल’ मार्फत पुलिसलाई चकमा
शनिबार रिहा भएपछि आइतबार पुनः प्रदर्शनमा उत्रिएकी नेहा बोराले ‘असली र हमशक्ल’ को प्रयोग गरेर दिल्ली पुलिसलाई छक्याइन्।
कनट प्लेसको भिडमा असली नेहा पुलिसलाई झुक्याउँदै भागिरहँदा आरके आश्रममा उनको हमशक्ल पुलिससँग अल्झिरहेकी थिइन्। कडा पछ्याउने र घम्साघम्सीपछि उनलाई पुनः नियन्त्रणमा लिई प्रहरी बसमा हालिएको थियो।
उता, सीजेपीका सह-संयोजक आशुतोष राङ्काले हिरासतबाट रिहा भएपछि भनेका थिए, ‘यो लडाइँ भर्खर सुरु भएको छ, अब यसलाई देशभर फैलाइनेछ।’
सोसल मिडियामा नेहाको सक्रियता र ऊर्जालाई लिएर व्यापक प्रशंसा भइरहेको छ। प्रयोगकर्ताहरूले उनको साहसिक रणनीति र गिरफ्तार भएर पनि पुनः मैदानमा फर्किने शैलीको सराहना गरेका छन्। सन् २०१९ र २०२० को नागरिकता कानुन (सीएए) विरुद्धको आन्दोलन र रङ्गमञ्चबाट राजनीतिमा प्रवेश गरेकी बोरा सडक सङ्घर्षमा सीजेपी नेतृत्वभन्दा बढी प्रभावशाली देखिएकी छन्।
सीजेपी र आइसाबिच भिन्न रणनीति र कूटनीतिक दूरी
यसअघि अक्टोबर ७ मा नेहा बोरा र सीजेपी नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। तर, अक्टोबर १० पछि दुई पक्षबिच रणनीतिमा स्पष्ट भिन्नता देखिएको छ।
नेहा बोराले गोप्य र अचानक गरिने ‘फ्ल्याश प्रोटेस्ट’ को रणनीति अपनाउँदा सीजेपी नेताहरूले आफ्ना योजनाहरू सार्वजनिक रूपमा सोसल मिडियामा पोस्ट गर्दै आएका छन् । जसका कारण उनीहरूलाई पुलिसले सहजै नियन्त्रणमा लिने गरेको छ।
यसैबिच, सीजेपीले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण रहन र पुलिस स्टेशन गएर जन्तर मन्तरमा प्रदर्शनको नयाँ मिति तोक्न माग गर्ने जनाएको छ।
तर, वरिष्ठ पत्रकार निखिल वाग्ले जस्ता विश्लेषकहरूले सीजेपीको रणनीतिमाथि प्रश्न उठाउँदै उनीहरूलाई राहुल गान्धीले सर्वोच्च अदालतसम्म निकाल्न लागेको मार्चमा सहभागी हुन र नेहा बोराझैँ वास्तविक सङ्घर्ष गर्न सुझाव दिएका छन्।
सीजेपी र कंग्रेसबिच पनि दूरी स्पष्ट देखिएको छन् । जसले मुख्य निर्वाचन आयुक्तविरुद्धको आन्दोलनलाई कुन दिशातर्फ लैजान्छ भन्नेमा अन्योलता कायम छ।
प्रतिक्रिया 4