Comments Add Comment
नीति–बहस :

‘ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई कानूनले चिन्दैन’

‘कोभिड आओस् कि जेसुकै आओस्, हामीले संरचना बनाइसकेका छौं’

जतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउँदै थियौं, त्यतिखेरै हामीलाई पाठ सिकाउने गरी २०७२ बैशाख १२ गते भूकम्प गयो । त्यो भूकम्प नगएको भए राजनीतिक दलहरु एक ठाउँमा आउँदैनथे र संविधान लेख्ने वातावरण पनि बन्दैनथ्यो ।

मेरा लागि यो एउटा संयोगै भन्नुपर्छ, बैशाख १२ गतेको भूकम्प अगाडि विपद व्यवस्थापनको विद्यार्थी हुनुका नाताले मैले आफ्नो पीएचडी थेसिसका लागि करिब १३३ जना सभासदहरुसँग विपद सम्बन्धी अन्तरवार्ताहरु गरें ।

त्यसक्रममा म के निश्कर्षमा पुगेँ भने विपद जोखिम न्यूनीकरणका बारेमा उहाँहरुसँग मिलेर संसदमा केही गर्न जरुरी छ । त्यसपछि १३३ मध्ये १२÷१३ जना सांसदहरु मिलेर हामीले विपद जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियान नेपाल भनेर एउटा लुज फोरम बनायौं ।

हामीले यो फोरम २०७२ बैशाख ५ गते बनाएका थियौं, बैशाख १२ गते भूकम्प आइदियो । हामीले जुन अभियान चलाइरहेका थियौं, भूकम्पले त्यसको औचित्य साबित गरिदियो । त्यसपछि हामी खोज, उद्धार र राहतमा जुट्यौं । आफ्नो क्षेत्र, आफ्नो गाउँमा पुनर्निर्माणमा लाग्दै गयौं ।

सँगसँगै हामीले अब विपद व्यवस्थापन भन्ने विषय संवैधानिक विषय हुनुपर्छ भनेर पार्टीका शीर्षनेताहरुसँग लबिइङ गर्‍यौं । विपदको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने विचारबाट निर्देशित भएर हामीले संविधानमा पनि यो कुरा राखौं भन्यौं । नेतृत्वलाई हामीले यसमा सहमत गरायौं ।

संविधानको भाग ४, धारा ५१ मा स्पष्टरुपमा प्राकृतिक विपदका बारेमा व्यवस्था गर्‍यौं । जसमा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, उद्धार, राहत एवं पुनर्स्थापना गर्ने राज्यको दायित्व स्पष्ट पारिएको छ ।

विपदसम्बन्धी कानूनका लागि लबिइङ

मैले देशमा विपद जोखिम न्यूनीकरण सम्बन्धी राम्रो कानून बन्नुपर्छ भन्ने अठोट लिएको थिएँ । यसका लागि दर्जनौं वर्कशपहरु गरें । दर्जनौं अन्तरक्रियाहरु चलाएँ ।

प्रधानमन्त्री नेतृत्वको परिषदलाई नै सक्रिय बनाउने गरी ईश्वर पोखरेललाई जिम्मा दिन सकिन्थ्यो । तर, पोखरेललाई नै अध्यक्ष बनाएर बेग्लै उच्चस्तरीय समिति बनाइयो ।

राजनीतिक–प्रशासनिक अधिकारहरुको बाँडफाँडको हिसाबले हेर्दा हामीले संघीयतामै रहेर यसको निकास खोज्नुपर्ने हुन्छ । संविधानमा स्पष्ट व्यवस्था गरिसकेपछि हामीले विपदसम्बन्धी कानूनका लागि लबिइङ गर्‍यौं । मन्त्रीहरु तयार भए । प्रधानमन्त्री सुशील कोइराला र वामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो, उहाँहरु तयार हुनुभयो । तर, उहाँहरुको पालामा कानून आउन सकेन ।

यो कानून गृहमन्त्रालयबाट उत्पति हुनुपर्थ्यो । गृहमन्त्री शक्ति बस्नेत र विमलेन्द्र निधी भएका बेलामा यसले खासै गति लिएन । पछि जनार्दन शर्मा गृहमन्त्री भएका बेलामा हामीले संविधानको मर्मअनुसार यो ऐन बनायौं ।

संविधानका आधारमा बनेको विपद जोखिम न्यूनीकरण ऐन २०७४ ले विपदलाई प्राकृतिक र गैरप्राकृतिक दुबै रुपमा परिभाषित गरेको छ ।

विपद केहो भन्ने बुझाइमा हामीमा परिपक्वता आएको कुरा यो विपद जोखिम न्यूनीकरण ऐनमा अभिव्यक्त भएको छ । कसरी भने, हामीले पूर्वतयारीको पनि कुरा गरेका छौं । प्रकोपका बेलामा प्रतिकार्यको कुरा गरेका छौं । प्रकोपपछिको पोस्ट डिजास्टर रिकोभरीको पनि कुरा गरेका छौं । यसरी पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ तीनवटै विषयमा हामीले संवैधानिक तथा कानूनी व्यवस्था गरेका छौं । अब यही कानुनमा अडिएर अगाडि जान सक्ने आधार हामीसँग छ ।

यसअघि दैवी प्रकोप उद्धार ऐन २०३९ थियो । त्यसको मूल दोष के थियो भने त्यसले प्रकोपका बेलामा खोज उद्धार र राहतको काममात्रै गथ्र्यो । सबै कामहरु पञ्चायती सरकारको भरपर्दो र स्थापित दूत सिडियोमार्फत गरिन्थ्यो । त्यसबेलाको ऐन नै जिल्लामा सिडियो शक्तिशाली हुने गरी बनाइएको थियो ।

पञ्चायतकालीन कानूनले प्राकृतिक प्रकोपलाई दैवी प्रकोपका रुपमा परिभाषित गरेको थियो । यो त दैवको लीला हो भनेर परिभाषित गरिएको थियो । हामीले चिन्ता गरेर केही हुनेवाला छैन, बचाए पनि दैवले बचाउलान्, मारे पनि मार्लान् भनेर ऐनले जोखिम न्यूनीकरणको पूर्वतयारीका लागि पैसा छुट्याउने विषयमा सोचेकै थिएन । बच्चा पाउनु कहिले कहिले, पहिल्यै भोटो सिउने ? भन्ने हाम्रो गलत स्कुलिङ थियो ।

तर, अहिले हामी रोग लागिसकेपछि उपचार गर्नुभन्दा पहिल्यै रोकथाम गर्नु जाति भन्ने मान्यतामा आइसकेका छौं । पहिल्यै पूर्वतयारी गर्नुपर्छ भन्ने ठाउँमा आएका छौं । हामी नयाँ ऐनका हरेक दफामा छलफल गर्दाखेरि यी कुराहरुमा विचार गरेका छौं । एकजना विपद व्यवस्थापन सम्बन्धी विद्यार्थी र तत्कालीन सभासदको हैसियतले यो ऐन निर्माणमा मेरो सक्रिय भूमिका रहेको थियो ।

पञ्चायतकालीन दैवीप्रकोप ऐनमा भएका पश्चगामी कुराहरुलाई हामीले विपद जोखिम न्यूनीकरण ऐनमार्फत विस्थापित गरेका छौं । हामीले बतनाएाके ऐन सिद्धान्ततः एक कदम अग्रगामी छ । एक कदम प्रगतिशील छ । ‘दैवी’ नामलाई खारेज गर्‍यौं । विपदलाई साइन्सले पूर्वानुमान गर्न सक्छ भनेर हामीले स्पष्ट पार्‍यौं र प्राकृतिक तथा गैरप्राकृतिक गरी दुई किसिमका करीब ४४ प्रकारका विपतहरुलाई सूचीकृत गर्‍यौं ।

पुरानो कानून तत्काल राहतको मात्र कुरा गर्नेखालको एकांगी थियो, हामीले पूर्वतयारी र पुनर्लाभलाई पनि नयाँ कानूनमा समेट्यौं । र, एउटा समग्र ऐन बन्यो ।

ऐनसँगै संरचनाहरु पनि बने

विपद जोखिम न्यूनीकरणको जिम्मेवारी कसलाई दिने त ? हिजो आदेश पालक सिडियोमा मात्रै यसको अधिकार थियो । अहिले संघीयतामा गइसकेपछि एउटा स्वायत्त अधिकार राख्ने संस्थालाई नै यसको अधिकार दिनुपर्छ भन्ने कोणबाट यो ऐन बनेको छ ।

संविधानमा साझा र एकल सूची भन्ने छ । संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा पनि विपद व्यवस्थापन परेको छ । र, एकल अधिकारका रुपमा स्थानीयले मात्रै गर्ने गरी पनि अनुसूचीमा विपद व्यवस्थापन छ ।

विपद जोखिम न्यूनीकरण ऐनलाई संघीयताको मर्मअनुसार लिएर जान खोजिएको छ । किनभने, विपद न्यूनीकरण भन्ने कुरा कुनै एकजनाले मात्रै गरेर सम्भव हुँदैन । एउटा तहको सरकार मात्रै यसमा क्रियाशील भएर सम्भव हुँदैन । संघले मात्रै पनि सम्भव हुँदैन र स्थानीय तहले मात्र पनि सम्भव हुँदैन । त्यसो हुनाले मूलतः यो तीनवटै सरकारको कर्तव्य र अधिकारभित्र पर्छ ।

यसो भन्दा पनि प्रत्यक्ष, पहिलो सरोकारवाला को त भन्दा स्थानीय जनप्रतिनिधिहरु नै हुन् । ०७२ सालको भूकम्पले पनि हामीलाई यही शिक्षा दिएको छ । हाम्रो पावर भनेको स्थानीय कम्युनिटी नै हो । त्यसकारण यो विपद व्यवस्थापनको पनि एकल अधिकार स्थानीय तहमा राख्नुको तात्पर्य त्यो हो । वडाध्यक्षहरु भनेको मुद्दा मिलाउने नेतामात्रै होइनन्, विपदका बेलाका पनि नेता हुन् ।

यसरी ऐनले संघमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद, प्रदेशमा मुख्यमन्त्रीहरुको अध्यक्षतामा प्रदेश परिषद, स्थानीय तहमा ७५३ प्रमुखहरुको अध्यक्षमा स्थानीय विपद व्यवस्थापन समिति, अनि ६ हजार ७४३ वडाहरुमा वडाध्यक्षहरुको अध्यक्षतामा पनि विपद व्यवस्थापन समिति बनाउने भनेको छ । जिल्लामा पनि जिल्ला विपद व्यवस्थापन समिति सिडियोको अध्यक्षतामा बनायौं ।

कोभिडका बेलामा सरकारले बदमासी गर्‍यो

यसरी २०७४ सालमा विपद जोखिम न्यूनीकरण ऐन बन्यो । त्यसपछि यसले सबैभन्दा ठूलो महामारी र विपदको सामना गर्ने बेला भनेको कोभिड १९ नै हो । हामीले बनाएको ऐन र संरचनाको टेस्ट यहीबेला गरिनुपथ्र्यो । तर, कोभिडका बेलामा सरकारले बदमासी गर्‍यो ।

कोभिडमा संविधान र विपद जोखिम न्यूनीकरण ऐनले नचिनेको समिति खडा गरियो । संविधानले चिनेको, ऐनले नै बनाएको संरचनालाई ठूलो सफलताका रुपमा लिनुपर्ने थियो । त्यो चिज भनेको प्रधानमन्त्रीको सचिवालय हो ।

अर्थात, विपद व्यवस्थापन राष्ट्रिय परिषद छ । त्यो परिषदको सचिवालय भनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो । त्यो प्राधिकरणको प्रमुख प्रधानमन्त्री र गृहमन्त्री दुबैजना अध्यक्ष रहने दुबै समितिको सदस्य–सचिव हुन्छ । प्राधिकरणको प्रमुख नै परिषद र कार्यकारी समिति दुबैको सदस्य–सचिव हुन्छ । र, ऊ नै प्रधानमन्त्रीको विपद हेर्ने सचिवालय हो ।

तर, कोरोनामा यो सचिवालयलाई भूमिका नै नदिएर रक्षामन्त्रीको नेतृत्वमा समिति बनाइयो । नत्रभने कोभिडको विपदलाई गृहमन्त्रालयले नै नेतृत्व गर्नुपर्ने हो । तर, कोभिड १९ मा हामी विपद जोखिम न्यूनीकरण ऐनबाट ‘डेभिएसन’ भयौं । भोलि कोभिडजस्तै अर्को महामारी पनि आउन सक्छ । त्योबेलामा पनि प्राधिकरणलाई यसैगरी ‘अन्डरमाइन्ड’ गर्न सक्ने सम्भावना हुन्छ ।

यो पनि पढ्नुहोस ‘कोरोनाको कमाण्डर’ बादल हुनुपर्ने, ईश्वर पोखरेल किन ?

मेरो विचारमा प्रधानमन्त्रीले यस्तो कार्य जानेर गर्नुभयो कि नजानिकन गर्नुभयो, मलाई थाहा भएन । अहिले भएको विपद जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय परिषदको अध्यक्ष स्वयं प्रधानमन्त्री नै हुनुहुन्छ । त्यो परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता पनि हुनुुहन्छ । यो एकदमै महत्वपूर्ण ठाउँ हो । यहाँ प्रधानमन्त्रीको मत नै निर्णायक हुन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा भएको राष्ट्रिय परिषदलाई काम गर्न नदिएर अथवा त्यसले नगरेर अर्को संरचना खडा गर्नुपथ्र्यो कि पर्दैनथ्यो भन्ने प्रश्नमा म शतप्रतिशत पर्दैनथ्यो भन्छु ।

कोरोनाका बेला प्रधानमन्त्रीले परिषदको बैठक किन नबोलाउनुभएको ? नजानेर ? यस्तोबेलामा बैठक बोलाएर अगाडि बढ्न प्रधानमन्त्री आफैं सक्रिय हुनुपर्ने थियो । स्वास्थ्यले साथ नदिने भए कुनै पनि मन्त्रीलाई बैठकको अध्यक्षता गर्न उहाँले भन्न सक्नुहुन्थ्यो । ईश्वर पोखरेललाई नै त्यसो गर्न सकिन्थ्यो । प्रधानमन्त्री नेतृत्वको परिषदलाई नै सक्रिय बनाउने गरी ईश्वर पोखरेललाई जिम्मा दिन सकिन्थ्यो । तर, पोखरेललाई नै अध्यक्ष बनाएर बेग्लै उच्चस्तरीय समिति बनाइयो । त्यसैले औषधि किन्ने निर्णय गर्‍यो र त्यसको जिम्मा स्वास्थ्यमन्त्रीलाई दिने भन्यो । यसमा उहाँहरु विवादमा जानुभयो ।

ठूलो विपदका बेलामा अर्ब, खर्ब रुपैयाँ खर्च हुन्छ । तर, परिषदमार्फत विपक्षी दलको नेतासमेत रहेको बैठकबाट निर्णय गरिएको भए त्यसलाई विधिसम्मत मान्न सकिन्थ्यो र विवाद हुने थिएन । किनभने, हामीसँग विपदमा काम गर्नका लागि ऐन छ, ऐनले तोकेबमोजिम काम गर्न सकिन्छ ।

यो ऐनले विपद व्यवस्थापन कोष पनि बनाएको छ । त्यो कोष संघमा पनि छ, प्रदेशमा ७ वटा, जिल्ला ७७ वटा र स्थानीय तहमा ७५३ वटा यस्ता कोषहरु छन् । तर, सरकारले कोभिड रोकथाममा प्रधानमन्त्री अध्यक्ष रहेको परिषदलाई सक्रिय गराएन । कोष पनि अर्कै बनायो ।

कोरोना र बाढीपहिरोलाई भिन्नखालको विपद हो भन्न खोजियो । विपद जोखिम न्यूनीकरण ऐन, परिषद, प्राधिकरण र कोषचाहिँ बाढी पहिरोका लागि मात्र बनाइएको हो भन्नेजस्तो तर्क कतिपयले मन्त्रीले गरेको सुनियो । तर, त्यो गलत हो ।

कोभिड १९ सँग जुध्नका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा यसरी समिति बनाउनुहुँदैनथ्यो भनेर मैले विभिन्न अन्तरवार्ताहरुमा बोल्दै आएको छु ।

सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा भएको राष्ट्रिय परिषदलाई काम गर्न नदिएर अथवा त्यसले नगरेर अर्को संरचना खडा गर्नुपथ्र्यो कि पर्दैनथ्यो भन्ने प्रश्नमा म शतप्रतिशत पर्दैनथ्यो भन्छु ।

सबै तहमा विपद कोष हुँदाहुँदै बेग्लै कोरोना उपचार कोष पनि बनाउनुपर्दैनथ्यो । कोरोना कोषको पैसा कोरोनामा मात्रै खर्च भनिएको छ । अब उहाँहरुलाई त्यो पैसा खर्च गर्न अप्ठ्यारो परिसक्यो । कोरोनामा मात्रै खर्च गर्ने भनेर पैसा उठाउनुभएको छ, यसलाई अरु विपदमा खर्च गर्ने हो भने त विपद व्यवस्थापन कोषमै त्यो पैसा जम्मा हुनुपथ्र्यो ।

यो पैसा विपद जोखिम न्यूनीकरण ऐनबमोजिम विपद कोषमै जम्मा गरिएको भए प्राकृतिक र गैरप्राकृतिकसमेत ४४ प्रकृतिका विपदमा खर्च गर्न सकिन्थ्यो । अहिले स्थानीय तहहरुले विपद कोषमा भएको पैसा कोरानामा सके । अहिले बाढी पहिरो आउँदा स्थानीय तहसँग पैसा छैन ।

निश्कर्षमा भन्नुपर्दा हामीले विपद जोखिम न्यूनीकरणका लागि कानून बनाएका छौं । संरचना पनि बनाएका छौं । संरचना चल्नका लागि सबै तहमा कोष खडा गर्‍यौं । हामीले सबै स्थानीय तहहरुमा इमर्जेन्सी अपरेसन सेन्टरहरु पनि बनायौं । त्यसैले हामीसँग विपदमा काम गर्ने संरचनाको कुनै समस्या थिएन ।

कोभिड महामारी आउँदा जुन तरिकाले रक्षामन्त्रीको संयोजकत्वमा समिति बनाएर काम गरियो, यो ठीक होइन । कोभिड आओस् कि जेसुकै आओस्, हामीले विपदमा काम गर्नका लागि संरचनाहरु बनाइसकेका छौं ।

(नेकपा नेता एवं पूर्वशिक्षामन्त्री तुलाधरसँग अनलाइनखबरले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment