
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज भक्तपुरको गुण्डू पुगेका छन् ।
जेनजी विद्रोहपछि ओलीसँग पोखरेलको यो पहिलो भेट हो । ओलीले कुराकानी गर्न भनेर बोलाएपछि पोखरेल गुण्डू पुगेका हुन् ।
भेटमा ओली र पोखरेलबीच जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनायो । ‘पार्टीका अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच अब कसरी अगाडि बढ्ने, के के गर्ने भन्ने कुरा भयो’, स्रोतले भन्यो ।
उनका अनुसार पोखरेलसँग ओलीले राजनीतिक परिस्थितिबारे बुझ्न खोजेका थिए । जवाफमा पोखरेलले भने बाह्य र आन्तरिक परिस्थिति राम्रो नरहेको तर्क गरे ।
‘सबैसँग कुराकानी गर्नुस् । तलतिर (एमाले पंक्तिमा) राम्रो छैन भन्ने आइरहेको छ,’ पोखरेलको सुझाव थियो, ‘चाँडै सचिवलयको बैठक राखौं ।’ पोखरेलको प्रस्तावमा ओलीले कुनै ठोस् प्रतिक्रिया जनाएनन् ।
गत २ असोजमा गुण्डू फर्किएका ओलीले त्यही नेताहरुसँग भेटवार्ता बाक्लो बनाएका छन् । आफू निकटका नेताहरुसँग लगातार छलफल गरिरहेका ओलीले उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई आज र हिजो उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गुण्डूमै बोलाएका थिए ।
प्रतिक्रिया 4