Comments Add Comment

ठोरीको सीता गुफामा विशेष पूजा, रामको मूर्ति स्थापना गर्ने घोषणा

४ साउन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि ठोरीमा पर्छ भन्ने अभिव्यक्ति दिएपछि चर्चामा आएको ठोरीस्थित सीता गुफामा विशेष पूजा गरिएको छ । स्थानीयवासीले शनिबार सीता गुफा, वनशक्ति मन्दिर लगायतका शक्तिपिठहरुमा कलशयात्रा सहित विषेश पूजा गरेका हुन् ।

ठोरीकै अमृत धारामा जल भरेर स्थानीयले वन शक्ति मन्दिर प्रदक्षिणा गर्दै सीतागुफासम्म जलयात्रा गरेका थिए । कलश यात्रामा सहभागीहरुले राम र सीताको जयजयकार गरे । उनीहरुले सीता गुफामा पूजा गरेपछि भजनकीर्तन पनि गरे ।

गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठसहितका श्रद्धालुहरुले भगवान राम र सीता, हनुमान लगायतको वैदिक मन्त्रोच्चारण सहित पूजा अर्चना गरेको स्थानीय गोकुली रेग्मीले बताइन् । गाउँपालिकाले नै आयोजना गरेको पूजाअर्चनामा ब्राम्हणहरुले वैदिक विधिबाट स्वस्तीवाचन गर्दै सीता गुफा परिसरमा पूजापाठ गरेका उनको भनाइ छ ।

‘वर्षौंदेखि हामीले रामनवमीमा पूजापाठ गर्दै आइरहेको क्षेत्र हो । प्रधानमन्त्रीको अभिव्यक्तिमा राम जन्मभूमिको प्रसंग आयो,’ उनले भनिन्, ‘त्यसैको खुसीयालीमा विशेष पूजा गरेका हौं ।’

गाउँपालिका अध्यक्ष श्रेष्ठले सीता गुफा क्षेत्रको विकासका लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्नुको साथै र गुफा अगाडि धनुष सहितको भगवान रामको आकर्षक मूर्ति स्थापना गर्ने घोषणा गरे ।

‘सीता गुफा भएको ठाउँकै वरपर भगवान रामको पनि बसोबास हुनसक्ने सम्भावना बढी छ । ठोरीमा सीता गुफा, अमृत धारा, सीता कुण्ड जस्ता ठाउँहरु छन् । यी ठाउँहरुले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई आधार प्रदान गर्छ । बाँकी त पुरातत्वविदहरुबाट अनुसन्धान गरिनुपर्छ,’ उनले भने । सीता गुफा वरपरका क्षेत्रको विकासका लागि गाउँपालिका स्तरबाट सम्भव भएसम्मका सबै काम गर्ने र  वृहत् विकासका लागि संघ तथा प्रदेशमा अनुरोध गर्ने उनले बताए ।

स्थानीय प्रकाश खनालले ठोरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment